मुहान सुकेपछि डाँडा डाँडामा रिचार्ज पोखरी, रिचार्ज पोखरीका फाइदै फाइदा

  वास खबर सम्वाददाता  622 पटक हेरिएको

दोलखा: चेर्दुङ डाँडाको फेदमा रहेको क्याङ्से पोखरीको आजभोलि रूप फेरिएको छ । वर्षौं पुरानो पोखरी अतिक्रमण हुँदै गएपछि स्थानीयस्तरमै पाइने काठको प्रयोग गरेर घेराबार गरेपछि पोखरीको आकर्षण अझै बढेको हो । क्याङ्से जिरी नगरपालिका–५ र २ को सिमानामा पर्छ ।

चेर्दुङ जानका लागि यही पोखरी छेउसम्म जिरी नगरपालिकाले सडक सुविधा पुर्‍याएपछि पर्यटकहरू यहींबाट चेर्दुङका लागि पैदल यात्रा तय गर्छन् । चेर्दुङ यात्रा तय गर्नु अघि हरेकको नजर क्याङ्सेले तान्छ र यात्रा सुरु हुन्छ पोखरीसँग फोटो खिचेपछि नै । जिरी नगरपालिका–५ का वडाध्यक्ष नरबहादुर जिरेलका अनुसार पोखरी अतिक्रमण हुँदै गएपछि संरक्षणका लागि घेराबार गरिएको हो । घेराबारका लागि काँडेतार लगाउँदा वन्यजन्तु चौरी छिर्न गाह्रो हुने भएपछि स्थानीयस्तरमा उपलब्ध काठ नै प्रयोग गरियो । काठ वातावरणमैत्री पनि भयो, आकर्षण पनि बढायो ।

पानी प्यास मेटाउने छिर्ने जंगली र चौरीहरूका लागि काडेतारेले जस्तो चोटपटकसमेत काठले लाग्दैन । क्याङ्से पोखरीकै पश्चिमतिर अर्को कालो पोखरीलाई पनि संरक्षण गरिएको छ । परम्परागत रूपमा रहेको पोखरी सुकेपछि वर्षात्को पानी जम्मा हुने र अति नै सुक्खा मौसमका लागि अन्यत्रबाट पाइपमा ल्याएको पानी यो पोखरीमा हालिएको छ । यसले पोखरीमा बाह्रै महिना पानी उपलब्ध हुन्छ । जिरी नगरपालिका–५ मा मात्रै यस्ता पोखरी ६ वटा निर्माण गरिएका छन् । जिरी उपत्यकाको वरपर डाँडामा कालोभीर, दुधुले, चिरुपाङमा यस्ता पोखरी निर्माण गरिएका हुन् ।

वरपरका डाँडामा निर्माण गरिएका यस्ता पोखरीले जिरी बजारमा आउने पानीका मुहानमा हिउँदका सिजनमा पनि पानी प्रशस्त आउने वडाध्यक्ष जिरेलले बताउनुभयो। वर्षौंदेखि उपभोग गर्दै आएको पानीको मुहान सुक्न थालेपछि डाँडामा पोखरी निर्माण सुरु भएका छन् । मुहानहरू सुक्न थालेपछि मुहानभन्दा माथिका डाँडामा पोखरी निर्माण थालिएका हुन् । डिभिजन वन कार्यालय दोलखा मार्फत् सञ्चालित पारिस्थितिकीय प्रणालीमा आधारित अनूकलन परियोजना ९ईबीए० मार्फत यस्ता पोखरी निर्माण भएका हुन् । दोलखाका जिरी सहित खाली पाखा, वन क्षेत्रमा आजभोलि संरक्षण पोखरी निर्माण भएका छन् ।

पुराना पोखरी संरक्षण भएको र पोखरीभन्दा मुनिका पानीका मुहानका लागि पनि माथिबाट रसाएर आउने हुँदा यसलाई रिचार्ज पोखरी भनेर पनि भनिन्छ । वन क्षेत्र र डाँडामा पोखरी निर्माणले सुख्खा सिजनमा पनि तल्लो क्षेत्रका पानीका मुहानमा पानी लगातार आउन थालेपछि स्थानीय पनि यसतर्फ अग्रसर हुन थालेका छन् । परम्परागत मुहान सुक्न रोक्ने उपयुक्त विकल्पको रूपमा डाँडामा साना पोखरी निर्माणलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । जलवायु परिवर्तनका कारण पुराना पानीको मुहान सुक्दै गए । अझ यसको असर डाँडाकाँडामा प्रत्यक्ष रूपमा परेको छ ।

पछिल्लो समय सुख्खा मौसम बढ्दै गएपछि पानीका मुहान सुक्दै जान थालेका हुन् । सुख्खा मौसममा पानी नहुँदाको असर झन बढ्दै गएको भीमेश्वर नगरपालिका–९ मा रहेको शंखदेवी सामुदायिक वन उपभोक्ता समितिका सचिव श्याम तामाङको बताउनुभयो। ‘पहिला पहिला माथिल्ला वन क्षेत्रमा पानीका मुहान थिए, स–साना पोखरी पनि थिए,’ उनले भने, ‘वन्यजन्तु र घरपालुवा जनावर चराउन लैजाँदा पनि सजिलो थियो ।’ पानीका स्रोत वरपर ओसिलो र हरियाली पनि हुन्थ्यो ।

रिचार्ज पोखरीका फाइदै फाइदा

डाँडामा सानो खाल्डो बनाएर पानी जमाइन्छ । यहाँ पानी जम्मा गर्नका लागि कुलेसो पनि हुन्छ । एउटा पोखरी निर्माणका लागि ५० हजारसम्ममा नै उपभोक्ताले श्रमदान गर्दा बनाउन सकिएको सामुदायिक वन उपभोक्ता श्याम तामाङको अनुभव छ । थोरै लागत एक पटक बनाएपछि वर्षौंसम्म हुने यस्ता पोखरीका बहुउपयोगी फाइदा रहेका छन् ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका विज्ञ केशव खनालका अनुसार नाङ्गा डाँडा हुँदा आकाशबाट परेको पानी एक्कासि बगेर आउँछ, त्यसले ढुंगा माटो बगाउँदै ल्याउँदा तल्लो क्षेत्रमा आउँदा बाढीको रूप लिन्छ । तर माथिल्ला क्षेत्रमा पोखरी बनाउँदा आकाशको पानी केही समयमाथि नै जम्मा गर्छ र पानीको बेग घटाउन सहयोग गर्छ । पोखरी आसपास सँधै चिस्यान रहन्छ, हरियाली बढाउँछ, वातावरण सितल बनाइ राख्छ । पोखरीका पानी जमिनको छिद्रमार्फत् भित्र जाँदा तल्लो तटीय क्षेत्रका मुहान सुक्नबाट जोगाउने खनालको भनाइ छ ।

डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले रिचार्ज पोखरीले डढेलो नियन्त्रण, वृक्षरोपण गरिएका क्षेत्रमा सिँंचाइ र किसानका लागि पनि नजिकका बारीमा सिँचाइका लागि पनि उपयोगी भएको उहाँको भनाइ छ । जंगली जनावरलाई पानीको तिर्खा मेटाउन यस्ता पोखरी महत्त्वपूर्ण हुन्छ । जंगलमै पानीको स्रोत भएपछि पानी सुकेर जंगली जनावर पानी खोज्दै गाउँ छिर्नबाट पनि रोकिन्छ । यस्तो पोखरी निर्माणले सबैभन्दा ठूलो राहत चौरीपालक किसानका लागि भएको छ । परम्परागत पानीका मुहान र पोखरी सुक्दै जान थालेपछि चौरीलाई पानीको अभाव हुँदै गएको थियो ।

पोखरीका कारण चौरीलाई पानी खोज्न टाढा जानुपर्ने बाध्यता कम भएको छ । डाँडा र खर्कमा रिचार्ज पोखरी निर्माणले चौरीलाई पानी खुवाउन सजिलो भएको २१ वर्षदेखि चौरी पाल्दै आएका किसान गेल्जे शेर्पाले बताउनुभयो। अहिले जुन खर्कमा गए पनि सानो पोखरीमा पानी जमेकाले सजिलो भएको उहाँको भनाइ छ ।

चौरीपालक किसानकै लागि लक्षित गरी जिरीका खर्कमा ठाउँ ठाउँमा गोठ, पानीको व्यवस्थापन र घाँसका बीउ समेत छरिएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। त्यसैले आजभोलि यस्ता पोखरीलाई संरक्षण पोखरीको नामले पनि चिनिन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार