शहरका गुमनाम नायकहरु

  आनन्द गौतम  799 पटक हेरिएको

आनन्द गौतम

शहरमा सिटी लगाउँदै घर घरमा फोहोर संकलन गर्न आउने, विहान विहान चौडा सडक सफा गर्ने, थोत्रा वोराहरु वोकेर प्लाष्टिक र वोतलहरु टिप्दै हिड्ने, घर घरमा सेप्टिक टंकी सफा गर्ने, शहरका ढलहरु जाम हुँदा सफा गर्ने, नालीहरुमा पसेर सफा गर्नेहरु, फोहोर संकलन केन्द्रमा फोहोर छुुट्टाउनेहरु, फोहोरलाई वोकेर हिड्नेहरु, अस्पताल र कार्यालयहरुका शौचालयहरु सफा राख्नेहरुको जीवन कसरी वितेको छ होला ? उनीहरु कहाँ वस्छन् होला? उनीहरुको दैनिकी कसरी चलेको छ होला? उनीहरुलाई शहरमा वस्ने सभ्य, शिक्षित र संभ्रान्तहरुले कस्तो व्यवहार गरिराखेका छन् ? यी प्रश्नहरुको उत्तर खोज्दै जाँदा निराश हुनुुको विकल्प रहेनछ ।

शहर सुन्दर, स्वच्छ, जीवन्त र दुर्गन्ध रहित सवैको आवश्यकता भएपनि शहरलाई जीवन्त राख्ने वास्तविक नायक सरसफाइकर्मीहरुको अवस्था कहालीलाग्दो रहेको छ । अवसरको खोजीमा शहर छिरेपनि विहान वेलुका छाक टार्न र वालवच्चाहरुलाई सामान्य शिक्षाको अवसर प्रदान गर्नको लागि पनि फोहोर संकलन केन्द्रमा फोहोर छुट्टाउने काम गर्नुपरेको, त्यही काम गर्दा सिसाले हात काटेर औषधी उपचार गर्न नसकेको, घर घर फोहोर संकलन गर्न जाँदा छतवाट फालेको फोहोरले लागेर चोटपटक लागेको, फोहोर संकलन केन्द्रमा काम गर्छ भन्ने थाहा पाएपछि घरभेटीले घरबाट निकालिदिएको, सेप्टिक टंकी सफा गर्न जाँदा कतिपय स्थानमा पिउने पानी सम्म नदिएको, फोहोरको पैसा दिँदा घरको छतवाट फालिदिने गरेको, फोहोरमा काम गर्छु भनेर शहरमा भन्दा छरछिमेकले नै तिरस्कार गर्ने गरेको, सेप्टिक टंकीमा निस्सासिएर आफ्नै मिल्ने साथीलाई गुुमाउनु परेको, यी र यस्तै समस्याहरु शहरलाई जीवन्त राख्ने नायकहरुको छ ।

सामान्यतया वाहिर मानिसहरुसँग खुलेर बोल्न नचाहने सरसफाइकर्मीहरुले उनीहरुको आवाज सुनिदिने कोही पनि छैन र उनीहरुको आवाज कसैले सुुन्दैन भन्ने पूर्ण विश्वासमा वसेको पाईन्छ । कुनै पनि राज्यमा कुनै एक नागरिकलाई मेरो कुरा राज्यले सुन्दै सुन्दैन भन्ने लागेर आफ्नो समस्या भन्नु भन्दा लुकाउनुपर्ने अवस्था सिर्जना हुनु भनेको समग्र राज्यको नै विकासको लागि गम्भीर विषय हो । यस्ता विविध समस्याहरु लिएर सरसफाइकर्मीहरु आफूले दुःख पाएपनि आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि दुःख गरिरहेका छन् जसको परिणाम शहर वस्न लायक वनेको छ ।

काठमाण्डौ उपत्यकामा मात्र करिब २० हजार जति सरसफाइकर्मीहरुले काम गर्दछन् भन्ने अनुुमान गरिएको छ । विशेष गरेर भारतको विभिन्न स्थानबाट पनि विभिन्न समयमा फोहोर संकलन गर्न आउने अनौपचारिक कामदारहरु पनि हुनुहुन्छ । उहाँहरुको संख्यामा फेरवदल भईराख्ने गर्दछ । नेपालमा वा वाहिर यत्ति ठूलो संख्यामा काम गर्ने सरसफाइकर्मीहरुको अधिकार, पेशागत सुरक्षा, स्वास्थ्य, र उनीहरुको परिवारको गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि अभियान संचालन गर्नु र लगातार पैरवी गर्नु हामी सवैको कर्तव्य हो ।

सरसफाइकर्मीहरुको हक र अधिकारको वारेमा कतिपय स्थानीय सरसकारहरु मौन हुनुहुन्छ । सरसफाइकर्मी स्वयं स्थानीय सरकारसँग पुगेर आफ्ना कुरा राख्न सक्ने वातावरण पनि वनेको छैन । शहरलाई जीवन्त राख्नको लागि सरसफाइकर्मीहरुको योगदानको उचित कदर, मुुल्याङ्कन र उहाँहरुको जीवनलाई मर्यादित र सम्मानजनक वनाउने हो भने केही कदमहरु चाल्न सकिन्छ ।

१. औपचारिक र अनौपचारिक रुपमा काम गर्ने सरसफाईकर्मीहरुको विवरण संकलन

नगरपालिकाको मातहतमा काम गर्ने वाहेक अन्य सरसफाइकर्मीहरुको जानकारी धेरै स्थानीय निकायहरुसँग छैन । स्थानीय सरकारले दिसाजन्य लेदो व्यवस्थापन जस्तो कि सेप्टिक टंकी सफा गर्नेहरु, घर घरमा आएर फोहोर संकलन गर्नेहरु, फोहोर संकलन केन्द्रमा काम गर्नेहरु, फोहोरका लागि रकम संकलन गर्न जानेहरु, कुचिकारहरु, अनौपचारिक रुपमा स्थानीय सरकारको सेवा क्षेत्र भित्रमा आएर काम गर्नेहरुको विवरण संकलन गर्नु पर्ने देखिन्छ ।

सरसफाइकर्मीहरुको विवरणले मात्र आगामी कदमहरु कसरी चाल्ने भन्ने सम्वन्धमा स्पष्ट खाका तयार हुन्छ । स्थानीय सरकारको वातावरण तथा फोहोर व्यवस्थापन शाखाले यो कदम अगाडि वढाउन सक्छ । त्यसको लागि अहिले धेरै निशुल्क तथ्याङ संकलन गर्ने प्रविधिहरु पनि आईसकेका छन् । ती प्रविविधिहरुको प्रयोग गर्न सकिन्छ।

२. सवै सरसफाइकर्मीहरुको दुर्घटना, स्वास्थ्य बीमा र औषधी उपचारको सुनिश्चितता

धेरै जसो संकलन केन्द्रमा सरसफाइकर्मीहरुले काम गर्दा उनीहरुले जति फोहोर छुुट्टाउछन् त्यसको आधारमा पैसा वुुझेको देखियो । जसको कारण उनीहरुको जीवन रक्षाको लागि कुनै पनि पहल गरेको देखिदैन । जसको कारण उनीहरु सधै जोखिममा काम गर्नु परेको अवस्था छ । यसमा स्थानीय सरकारले फोहोर संकलन केन्द्र संचालकहरु सँग समन्वय गरी सरसफाइकर्मीहरुको अवस्था सुधार गर्न पहल गर्नु पर्दछ । स्थानीय सरकारको क्षेत्रमा वस्छ वा वस्दैन भन्ने भन्दा पनि मानवीयताको आधारमा काम गर्नुुपर्ने देखिन्छ ।

फोहोर संकलन देखि फोहोरको वर्गीकरण सम्मको मापदण्ड लागु गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने हुन्छ । स्वयं सरसफाइकर्मीहरुलाई यस्ता सेवा सुविधाहरुले कसरी उनीहरुको स्वास्थ्य र जीवन रक्षामा सहयोग पुग्दछ भन्ने वारेमा सचेत गराउनुपर्ने हुन्छ ।

३. यान्त्रिक प्रविधिको प्रयोग

कतिपय फोहोर संकलन केन्द्रहरुमा फोहोरको वर्गीकरण गरी संकलन गर्ने सरसफाइकर्मीहरुले सुरक्षाका सामान्य कुराहरु पनि लागु नगरेको अवस्था छ । यसले गर्दा उनीहरु सधै जोखिममा रहेका छन् । अहिले फोहोरको वर्गीकरण गर्ने देखि लिएर अन्य काममा पनि यान्त्रिक प्रविधिहरुको प्रयोग गर्न सकिन्छ । अहिले भारतमा सेप्टिक टंकी सफा गर्ने काम गर्दा कामदारहरु आफै सेप्टिक टंकी भित्र घुसेर काम गर्नुलाई कानुनी रुपमा नै अवैध मानिन्छ । जव कामदार नै छिरेर सेप्टिक टंकी सफा गर्ने काम कानुनी रुपमा वर्जित गरियो यसले गर्दा धेरै कामदारहरुको ज्यान वचाएको अवस्था छ । भारतको यो अभ्यास नेपालको लागि पनि अनुकरणीय छ ।

फोहोर र दिसाजन्य लेदो व्यवस्थापनमा नयाँ प्रविधिहरुको तीव्र विकास भएको हँुदा यी प्रविधिहरुको प्रयोग गर्दा दिसाजन्य लेदो व्यवस्थापन र ठोस फोहोर व्यस्वस्थापन गर्दा सरसफाइकर्मीहरुको जोखिम अवस्थामा काम गर्नुपर्ने वाध्यतालाई धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ । जति सक्दो छिटो ठोस फोहोर र दिसाजन्य लेदो व्यवस्थापनमा यान्त्रिक प्रविधिहरु अपनाउँदै जानुपर्ने देखिन्छ ।

४. अनुुगमन र जवाफदेहिता

स्थानीय सरकारले नियमित रुपमा अनुगमनको तालिका वनाएर मापदण्ड अनुसार फोहोरका विभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुले काम गरिरहेका छन् वा छैनन् । उनीहरुका समस्याहरु के के हुन् ? समस्या समाधानको लागि कस्ता कदमहरु चालिएका छन् । निजी क्षेत्र जसले फोहोर संकलनमा काम गरिराखेका छन् उनीहरुको मातहतमा काम गर्ने कर्मचारीहरुको पेशागत सुरक्षाको अवस्था के छ ? औपचारिक वा अनौपचारिक रुपमा सरसफाइकर्मीहरुलाई काम लगाउँदा वा स्वयं सरसफाइकर्मीहरुले काम गर्दा पनि व्यक्तिगत सुरक्षा र स्वास्थ्यमा ध्यान दिनुुपर्ने कुराहरुको वारेमा सवै सरसफाइमा संलग्न सरोकारवाला र स्वयं सरसफाइकर्मीहरुलाई थाहा छ वा छैन भन्ने वारेमा स्पष्ट जानकारी स्थानीय सरकारसँग हुन जरुरी छ ।

सरसफाइकर्मीहरुले शहरलाई दुर्गन्ध हुनवाट वचाईराखेका छन् भने उनीहरुले आम मानिसहरुको स्वास्थ्यमा पनि सहयोग गरिराखेका छन् । सरसफाइकर्मीहरु स्वस्थ हुनु भनेको शहर स्वस्थ बन्नु भन्ने वुझाई स्थानीय सरकारमा हुनु अपरिहार्य छ । जुन कुरा नियमित अनुगमन र जवादेहिता विना सम्भव हुने देखिदैन । यसको लागि स्थानीय सरकारको अग्रसरता अनिवार्य देखिन्छ । सरसफाइकर्मीहरुको स्वास्थ्य र सुरक्षाको सुनिश्चितताको लागि को को सँग कसरी जवाफदेही हुने भन्ने स्पष्टता देखिदैन । स्थानीय सरकारले निश्चित मापदण्ड वनाएर अनुगमनलाई तिव्रता दिने हो भने सरसफाइकर्मीहरुको अवस्थामा सुधार हुन सक्छ ।

४. पेशागत सुरक्षाको व्यवस्था 

ठोस र दिशा जन्य लेदो व्यवस्थापनमा काम गर्ने औपचारिक वा अनौपचारिक सरसफाइकर्मीहरुलाई अनिवार्य रुपमा व्यक्तीगत सुरक्षासँग जोडिएको पोशाक वा अन्य उपकरणहरु अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने अवस्था सृजना गर्नुपर्ने हुन्छ । २१औँ शताब्दिमा आईपुग्दा पनि मानिसहरु सेप्टीकं टंकी सफा गर्दा निसासिएर मृत्यु भयो भन्ने जस्ता दुःखत समचार सुन्न नपर्ने अवस्था सृजना गर्नुपर्ने हुन्छ ।

औपचारीक रुपमा काम गर्ने मात्र नभएर अनौपचारीक रुपमा काम गर्ने सरसफाईकर्मीहरुको पनि पैरवी र उनीहरुको स्वास्थ्य पनि उत्तीकै महत्वपूर्ण छ भन्ने वुझन्पर्ने हुन्छ । अनौपचारीक रुपमा सामान्य फोहोर वाटो वाटोमा संकलन गर्ने सरसफाइकर्मीहरुले पनि मास्क, हातमा पंजा र वुट लगाएको छैन भने आम नागरिकले पनि उनीहरुलाई सम्झाउन पर्ने देखिन्छ । यदि मानेन भने स्थानीय नगर प्रहरीको पनि सायता लिनुपर्ने हुन सक्छ । कतिपय अवस्था करकाप गरेर भएपनि व्यक्तीगत सुरक्षाका मापदण्डहरु अनिवार्य गर्नुपर्ने हुन्छ । सवै प्रकारका सरसफाइकर्मीहरुलाई पोषाक अनिवार्य गरिदैन भने तब सम्म जोखीमलाई न्युनिकरण गर्न गाह्रो छ ।

५. समाजको हेर्ने दृष्टिकोेण र व्यवहारमा परिवर्तन गर्नुपर्ने

सरसफाइकर्मीहरुलाई वोलाउँदा प्रयोग गरिने शब्द देखि लिएर, उनीहरुलाई समाजमा हेरिने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने देखिन्छ। जस्तो उनीहरुलाई कुन कुन स्थानमा सुविधा दिन सकिन्छ त्यसको पनि पहिचान गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा घरमा फोहोरलाई वर्गीकरण गर्दा अरुको स्वास्थ्य र व्यक्तिगत सुरक्षामा समेत योगदान गर्छ भन्ने कुरा आम सर्वसाधारणले वुझ्न जरुरी हुन्छ ।

फोहोर घर घरबाट उठेर जव फोहोर संकलन केन्द्रमा पुग्छ । त्यो स्थानमा फोहरलाई वर्गीकरण भनौ फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने सामानहरु छुुट्टाउने महिला तथा पुरुषहरुको फुटेका सिसाहरु, जोखिमपूर्ण रसायनका झोलहरु, अस्पतालजन्य फोहोरहरु वर्गीकरण नगरी सिधै फोहोर संकलन केन्द्रमा पठाउँदा धेरै सरसफाइकर्मीहरुको हात काट्ने देखि विभिन्न घटना घटेको अवस्था छ । यदि घर घरमा फोहोर वर्गीकरण गर्दा यसले वहुचरणमा फाईदा पुग्ने कुुराको जानकारी सवैलाई पु¥याउन जरुरी छ। यसको जनचेतामूलक कार्यक्रम, घरायसीरुपमा अनुगमन, दण्ड र सजाय सम्मको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

शहरलाई जीवन्त राख्ने सरसफाइकर्मीहरुको व्यक्तिगत सुरक्षा, स्वास्थ्यमा रक्षा, उनीहरुको कामको कदर र सम्मान तथा उनीहरुका सन्ततिहरुको गुणस्तरीय शिक्षा र स्वास्थ्य पहुँचलाई सुनिश्चित नगरिकन सुन्दर शहरको परिकल्पना गर्न सकिदैन र त्यो सम्भव पनि छैन ।

आनन्द गौतम
(FacebookAnand Gautam | LinkedIn)

लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार