पोखरा : गण्डकी प्रदेशका ३२ वटा पालिकाहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार पार्न त्रिपक्षीय समझदारी (MOU) भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एवं उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री फणीन्द्र देवकोटाको अध्यक्षतामा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको तर्फबाट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, सङघीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी मन्त्रालय र गण्डकी प्रदेशका सम्बन्धित पालिकाहरुले वास प्लान तयारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धमा प्रत्येक खानेपानी प्रणालीको मुहान, पानी टयाङकी, पाइपलाइन, र धारासम्मको भु सुचना प्रविधिबाट सुचना संकलन गरी खानेपानी सुविधा पुगेको, नपुगेको र मर्मत सम्भार गर्नुपर्ने समेतका विवरणहरू सूचना व्यवस्थापन प्रणाली: Management Information System (MIS) मा प्रविष्ट गरी त्यसको आधारमा सम्वन्धित वडा र पालिकाले कार्यान्वयन गर्नुपर्ने योजनाहरूको प्राथमिकीकरण गरी तीनै तहका सरकार तथा विकास साझेदारले सम्वन्वय गरी लगानीको मेडालिटी समेत तय गर्ने सम्मको लक्ष्य राखी पालिकाहरूको वास योजना बनाउनका लागि भएको त्रिपक्षीय समझदारीमा हस्ताक्षर कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा गण्डकी प्रदेशको खासस्व योजना अवस्थाको बारेमा मन्त्रालयका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ई.नविन अर्यालले विषय वस्तुमाथि जानकारी दिनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वास प्लान बनिसकेपछि बजेट व्यवस्थापन गर्न सहज हुने बताउनुभयो। उहाँले समग्र नागरिकलाई खानेपानीको पहुँच पुर्याउन खानेपानीको व्यवस्थापन गर्न प्राथमिकता दिने कुरामा प्रतिवद्वता जनाउनुभयो । साथै पालिकामा सञ्चालन गर्न सकिने ठुला योजनालाई पहिलो प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्न कति वजेट आवश्यक पर्छ सोको विवरण तयार गर्न पनि निर्देशन दिनुभयो ।
उक्त कार्यक्रमका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले तीन तहको समन्वयमा बजेट व्यवस्थापन गर्ने र प्रणाली सञ्चालन, वास प्लान निर्माण गर्ने साथै समग्र बजेटलाई वास प्लान सँग समन्वय गर्न प्राथमिकताका अधारमा बजेट तर्जुमा र कार्यक्रम संचालन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव डा. राजन भट्टराईले प्रणाली सञ्चालनमा निरन्तरता र दृढ विश्वास राखी कार्य गर्ने वास प्लान सञ्चालनमा समन्वय र सहजता प्रदान गर्न सबै तहबाट पहल गर्नुपर्ने वताउनुभयो।
खानेपानी विभागको तर्फबाट योजना तर्जुमा तथा लगानीको मोडलको बारेमा सिनियर डिभिजनल ईन्जिनियर डा. रजित ओझाले जानकारी गराउनुभयो ।
नगरपालिकाको प्रतिनिधिको रुपमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले वास प्लान तयारी कार्यक्रम निरन्तर चल्नुपर्ने र प्लान बनिसकेपछि सोही प्लानबाट छनोटमा परेका आयोजनामा मात्र बजेट विनियोजन हुनुपर्ने कुरामा जोड दिनुभयो।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझाले यो कार्यक्रम रुपा गाउँपालिकामा सञ्चालन हुने चरणमा रहेको हुँदा GPS Mapping बाट कहाँ कहाँ खानेपानीका मूल र संरचनाहरु, धारा छन भन्ने तत्काल हेर्न सकिने र पाईपको म्याप नै तयार हुने हँुदा यो प्लानको महत्व अझ बढी रहेको वताउनुभयो ।
उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माणका लागि अभिमुखीकरण कार्यक्रममा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री फणीन्द्र देवकोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्ण चन्द्र देवकोटाका साथै गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नवराज ओझा, मन्त्रालयका सचिव डा. राजन भट्टराई, खानेपानी तथा ढल व्यवस्थापन विभागका NWASH प्रमुख डा. रजित ओझा, युनिसेफ नेपाल क्षेत्रिय कार्यालय प्रमुख ऋद्दि शर्मा, वास विशेषज्ञ दण्डिराम विश्वकर्मा, वास परामर्शदाता ध्रुव शर्मा र उक्त मन्त्रालयका योजना महाशाखा प्रमुख हरिदत्त पौडेल, प्रशासन महाशाखा प्रमुख नवराज पोखरेल समेतको उपस्थिति थियो।
कार्यक्रममा विकास साझेदार संस्थाहरु युनिसेफ नेपाल, नेवा, जाईका नेपाल, नेपाल रेडक्रस सोसाईटी आदिको पनि सहभागिता रहेको थियो।
वास प्लान तयार पार्न समझदारी भएका पालिकाहरु :
व्यास नगरपालिका भानु नगरपालिका, ऋषिङ्ग गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, आरूघाट गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका, चामे गाउँपालिका, नासोँ गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिका, हरिनास गाउँपालिका, गल्कोट नगरपालिका, बेनी नगरपालिका, तामानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका, धवलागिरी गाउँपालिका, लो(घेकर दामोदरकुण्ड गाउँपालिका,लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ सहभागी भई हस्ताक्षर भएका छन्।
४ पालिकाहरु ढोरपाटन नगरपालिका, जलजला गाउँपालिका, नार्पा भुमि गाउँपालिका, र चुमनुव्री गाउँपालिकाका प्रतिनिधी अनुपस्थित थिए ।
अघिल्लो बर्ष ४० पालिका सँग वास प्लान तयारीका लागी समझदारी पत्रमा हस्ताक्षर भैसकेको छ भने जम्मा १२ पालिकामा वास प्लान तयारी भैसकेको मन्त्रालयले जानकारी दिएको छ । वास प्लान तयारीका लागि युनिसेफ नेपालले प्राविधिक सहयोग गरिरहेको छ।