सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउनू : मन्त्री यादव

  वास खबर सम्वाददाता  246 पटक हेरिएको

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिनु भएको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोरपानी आधारित निगरानी प्रयोगशालाको उद्‍घाटन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिनु भएको हो।

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस्’ उहाँले भन्नुभयो। सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभयो।

नेपालमा पहिलो पटक फोहोरपानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशाला सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो ‘यो प्रणालीले प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ। जसको ठूलो महत्त्व छ। हालः यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ। तर यसको थप विकास आवश्यक छ।’

उक्त प्रयोगशाला शुक्रबार देखि सञ्चालनमा आएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिनुभयो। यसैबीच मन्त्री यादवले काठमाडौंको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गर्नुभयो। निरीक्षणका क्रममा उहाँले बाढीले क्षति पुर्‍याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन समेत दिनुभयो। यो खबर अन्नपूर्ण पोष्टले छापेको छ।

सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि अवलोकन गर्नु भयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार