काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरमा देखिएको खानेपानी समस्या समाधानमा सहयोग गरिदिन दक्षिणकालीका जनप्रतिनिधि र नागरिकलाई आग्रह गरेका छन् ।
१२ असोजको बाढी पहिरोपछि ललितपुर क्षेत्रमा दक्षिणकालीबाट गइरहेको खानेपानी अवरुद्ध भएको भन्दै उनले मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न आग्रह गरेका हुन् । ‘कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नु पर्छ’, उनले भने ।
मन्त्री यादव शनिबार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कामबारे जानकारी लिएका थिए ।मन्त्री यादवले केही पूर्वकर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
‘तपाईंहरूका समस्या के छन् म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु’, उनले भने । मन्त्री यादवसँगको छलफलपछि दक्षिणकालीका बासिन्दा ललितपुरमा खानेपानी पठाउन तयार भएका छन् । दक्षिणकालीबाट ललितपुरमा दैनिक १ करोड २० हजार लिटर पानी आपूर्ति हुँदै आएको छ ।
मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिए । ‘म मन्त्रिपरिषद्को निर्णय मार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु’, उनले दक्षिणकालीका बासिन्दासँग भने । Onlinekhabar बाट साभार।