हात स्वच्छतामा नेपाली अझै उदासिन

  डा. महेश्वर प्रसाद यादव  4326 पटक हेरिएको

डा. महेश्वर प्रसाद यादवहात धुनु सामान्य दैनिक क्रिया जस्तो देखिए पनि स्वास्थ्य र स्वच्छताको दृष्टिकोणले यो अत्यन्तै महत्वपूर्ण छ । नियमित रूपमा सही तरिकाले हात धुने बानीले थुप्रै रोगहरूबाट बच्न सकिन्छ । हात हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने अंग हो, जसले विभिन्न सतहहरू, वस्तुहरू र व्यक्तिहरूसँग सम्पर्क गर्छ । यस क्रममा हातमा रोग फैलाउने जीवाणु, भाइरस र फंगस अटेर आउन सक्छन् । खानेकुरासँग प्रत्यक्ष सम्पर्क हुँदा वा मुखमा हात लगाउँदा, ती रोगाणुहरू शरीरमा प्रवेश गर्न सक्छन् र रोग निम्त्याउन सक्छन् । तसर्थ हात स्वच्छतामा नेपालीले के कति ध्यान दिने गरेका छन भन्ने बारे विश्लेषण गर्नु सन्दर्भिक हुने देखिन्छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विकास साझेदारहरु र सरकार समेतको पहलमा  साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना जगाउने कार्य गर्दा गर्दै पनि त्यसमा उल्लेखनीय उपलब्धि हासिल हुन सकेको थिएन । कोरनाभाइरसबाट फैलिने महामारीले गर्दा सबै मानिसले साबुन पानीले हात धुन थालेको पाइयो । तर, कोरनाको प्रभाव तथा असर घट्दै जाँदा सो आनीबानीमा निरन्तरता नहुने देखिन थालेको छ । त्यसले गर्दा नेापलीहरु हात स्वच्छतामा उदासिन नै रहेको हो वा होइन भन्ने बारे केलाउनु उत्तम हुने देखिन्छ ।

हात स्वच्छताको इतिहास

हात धुने कार्य परापूर्वक कालदेखि मानिसले गर्ने गरेको अनुमान छ । तर हात स्वच्छता बारे छलफल शुरु गरेको इतिहास करिब दुई सय वर्ष भएको मानिन्छ । यसै क्रममा भियना जनरल अस्पतालमा काम गर्ने हंगेरीका डाक्टर इग्नाज सेमेलवेइसलाई हात स्वच्छताका पिता भनेर चिनिन्छ ।

सन् १८४६ मा उनले आफ्नो अस्पतालको मेडिकल विद्यार्थी/डाक्टरद्वारा सञ्चालित प्रसूति वार्डमा बच्चा जन्माउने महिलाहरूलाई नजिकैको मिडवाइफद्वारा सञ्चालित प्रसूति वार्डमा बच्चा जन्माउने महिलाहरूको तुलनामा ज्वरो आउने र मृत्यु हुने सम्भावना धेरै रहेको देखे । उनले दुई वार्डबीचको भिन्नता खोज्न छानबिन गर्ने निर्णय गरे । डाक्टर र मेडिकल विद्यार्थीहरू पोस्टमार्टम गरेपछि सिधै प्रसूति वार्डमा जाने गरेको उनले पत्ता लगाए । यस अवलोकनको आधारमा, उनले एउटा सिद्धन्त पतिपादन गरे कि पोस्टमार्टम गर्नेहरूले आफ्नो हातमा पोस्टमार्टम गर्दाका फोहरहरुसंगै प्रसूति वार्डमा लगिरहेका छन् । मिडवाइफहरूले शल्यक्रिया वा पोस्टमार्टम गरेनन्, त्यसैले तिनीहरू त्यस्तो फोहरहरुको सम्पर्कमा आएनन् ।

नतिजाको रूपमा, सेमेलवेइसले डाक्टरहरूको लागि क्लोरिनले हात धुनु अनिवार्य गर्ने नयाँ नियम लगाए । उनको प्रसूति वार्डमा मृत्यु दर नाटकीय रूपमा घट्यो । हात सफा गर्दा संक्रमणबाट बच्न सकिन्छ भन्ने यो पहिलो प्रमाण थियो ।

साबुन पानीले नियमित हात धुनु स्वास्थ्य र सरसफाइको लागि महत्वपूर्ण अभ्यास हो, यसले केही रोगहरूको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ ।  

यद्यपि, नवीन खोज सबैको लागि लोकप्रिय हुदैन । केही डाक्टरहरू असन्तुष्ट थिए कि सेमेलवेइसले उनीहरूलाई मृत्युको लागि दोषी ठहराउनु भएको थियो र उनीहरूले आफ्नो हात धुन छोडे, त्यस समयमा प्रचलित धारणाको समर्थनमा तर्क गरे । सेमेलवेइसले युरोपेली अस्पतालका अन्य डाक्टरहरूलाई हात धुने फाइदाहरूबारे मनाउने प्रयास गरे तर कुनै फाइदा भएन । त्यसपछि हात धुने प्रबर्द्धन एक शताब्दी भन्दा बढीको लागि स्थिर रह्यो । यो क्रम सन् १९८० सम्म जारी रह्यो ।

खाद्यजन्य प्रकोपहरू र स्वास्थ्य सेवा सम्बन्धित संक्रमणले निम्त्याएको प्रकोपहरुले हायलकायल बनाएपछि संयुक्त राज्य रोग नियन्त्रण र रोकथाम केन्द्रले संक्रमण फैलिनबाट रोक्नको लागि हात स्वच्छतालाई महत्त्वपूर्ण तरिकाको रूपमा पहिचान गर्यो । त्यसपछि यससंग सम्बन्धित निर्देशिकाहरु बन्यो र धेरैले चासो समेत दिन थालेको पाइयो । यसै क्रममा सन् २००८ देखि हात धुने दिवस विश्वव्यापी रुप मानउने अभियानले हात स्वच्छता सम्बन्धी निरन्तर छलफल र प्रोत्साहन गर्न कार्यको शुरुवाद भएको पाइन्छ ।

अक्टोबर १५ र विश्व सन्दर्भ

हरेक वर्ष अक्टोबर १५ मा हात धुने दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यो दिवस मनाउने क्रम सन् २००८ देखि शुरु भएको हो । ग्लोबल ह्यान्डवाशिंग पार्टनरशिपद्वारा अगस्त २००८ मा स्टकहोम, स्वीडेनमा वार्षिक विश्व पानी सप्ताहमा यो दिवस मनाउने पहलकदमी लिइएको थियो । तदानुसार संयुक्त राष्ट्र महासभाद्वारा यो मिति तय गरिएको हो । सोही बमोजिम पहिलो ‘विश्व हात धुने दिवस’ अक्टोबर १५, २००८ मा मनाइएको थियो ।

निरन्तर हात धुने दिवस बनाउने क्रममा, यस वर्ष पनि अक्टोबर १५ मा यो दिवस विश्वव्यापी रुपमा मनाउने तय गरिएको छ । हात धुने दिवस २०२४ को विषयवस्तु (Theme) अन्तर्गत ‘हातको सरसफाई लगायत संक्रमण रोकथाम र नियन्त्रणमा नवीन र प्रभावकारी तालिम र शिक्षाको माध्यमबाट स्वास्थ्य र सरसफाइकर्मीहरूको ज्ञान र क्षमता अभिवृद्धिलाई प्रवर्द्धन गर्ने’ समेटिएको छ ।

त्यसैगरी, हात धुने दिवस २०२४ को नारा (Slogan)को रुपमा ‘किनभने यसले स्वास्थ्य सेवामा हानिकारक कीटाणुहरू फैलिनबाट रोक्न मद्दत गर्छ’ समेटिएको छ । यो नाराले पनि हात धुनुको महत्वलाई उजागर गरेको छ ।

हात धुने क्रियाकलापहरु प्रयाःजसो पानी, सरसफाइ र स्वच्छता कार्यक्रमहरूमा समावेश गर्ने गरिन्छ । विश्वव्यापी हात धुने दिवसले हात धुने फाइदाहरूको जागरूकतालाई बढावा दिन भूमिका खेल्छ । विशेष गरी विविध गतिविधिहरू मार्फत बच्चाहरूको लागि यसको महत्त्वलाई विशेष जोड दिने गर्दछ । समग्रमा प्रभावकारी स्वच्छता अभ्यासहरू जागरूकता र निरन्तर हात धुने बानीको विकासमा निर्भर हुन्छ ।

विश्वव्यापी ‘हात धुने दिवस’ एक हात धुने प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय अभियान हो । जसले संसारभरका मानिसहरूलाई आफ्नो हात धुने बानी सुधार्न उत्प्रेरित र परिचालन गर्छ । जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनु निकै महत्त्वपूर्ण हुन्छ । सो बारे जनचेतना जगाउने कार्य गर्न विश्वव्यापी हात धुने दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ ।

सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पहल गर्दा गर्दै पनि विश्वमा चार जना मध्ये एक जनाको पहुँच हात धुने आधारभूत स्तरको सुविधामा नरहेको देखिन्छ । उच्चस्तरको हात धुने सुविधाको बारे त चर्चा समेत हुने गरेको पाइदैन । त्यसैगरी, उच्चस्तरको सुविधा सम्बन्धी तथ्यांक संकलन समेत गर्ने गरिको छैन ।

नेपाल सन्दर्भ

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (Joint Monitoring Program, JMP) को प्रतिवेदन अनुसार नेपालको ६४ प्रतिशत जनसंख्याको परिसरमा साबुन र पानीले हात धुने सुविधाको उपलब्धता सहितको आधारभूत स्वच्छता सेवाहरू रहेको पाइएको छ । बाँकी जनसंख्याको हकमा या त सीमित स्वच्छता सेवाहरू छन् या कुनै पनि सुविधा नरहेको देखिन्छ ।

नेपालकै शहरी र ग्रामीण क्षेत्रमा हात धुने सुविधाको उपलब्धता फरक फरक रहेको छ । शहरी क्षेत्रमा ७५ प्रतिशत जनसंख्याको परिसरमा साबुन र पानीले हात धुने सुविधाको उपलब्धता छ भने ग्रामीण क्षेत्रमा मात्र ६० प्रतिशत जनसंख्याको परिसरमा यो सुविधाको उपलब्धता छ ।

हात धुने सुविधाको उपलब्धताको सन्दर्भमा विश्व औसत भन्दा नेपाल औसत कम रहेको देखिन्छ । यसले पनि नेपालीहरु हात स्वच्छतामा कम ध्यान दिने गरेको देखाउँछ ।

यसको अतिरिक्त, नेपालको शहरी क्षेत्रमा चार मध्ये एक जनाको पहुँच हात धुने आधारभूत स्तरको सुविधा नरहेको देखिन्छ । ग्रामीण क्षेत्रमा पाँच मध्ये दुई जनाको पहुँच हात धुने आधारभूत स्तरको सुविधामा रहेको छैन । उच्चस्तरको सुविधाबारे छलफल गर्ने बेला नै नभएको जस्तो देखिन्छ । समग्रमा नेपालीहरु हात स्वच्छता प्रति उदासिन रहेको प्रष्ट हुन्छ ।

खासगरी वर्षायाममा फैलिने हैजा, झाडापखाला जस्ता पानीजन्य रोगहरुले प्रत्येक वर्ष थप्ने चुनौतीको चाङ पनि ठूलै छ । दुर्गम क्षेत्रहरुमा मात्र पानीजन्य रोगव्याधि फैलिन्छ भन्ने मान्यतालाई गलत साबित गर्दै यस वर्ष संघीय राजधानी समेत हैजाको प्रभावबाट अछुतो रहेन । यहाँको फोहोर व्यवस्थापनमा हुने गरेको कमजोरी, खानेपानीको गुणस्तरमा जनचासो नहुनु, स्वच्छतामा पहुँच नहुनु वा ध्यान नदिनु जस्ता कारणहरुले पानीजन्य रोगहरु फैलिएको तथ्य निर्विवाद छ । यस प्रसंगले समेत नेपालीहरुले हात स्वच्छतामा कम ध्यान दिने गरेको देखिन्छ ।

साबुन पानीले नियमित हात धुनु स्वास्थ्य र सरसफाइको लागि महत्वपूर्ण अभ्यास हो, यसले केही रोगहरूको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । यो रोगको सन्दर्भमा उपचार भन्दा रोकथाममा अधिक प्रभावकारी छ । लिन्डा लार्सनले गरेको अध्ययनले हात स्वच्छताले झाडापखालासंग सम्बन्धित मृत्युलाई लगभग आधा र तीव्र श्वशप्रश्वशसंग सम्बन्धित संक्रमणबाट हुने मृत्युलाई करीब एक चौथाईले घटाउन सकिने निष्कर्ष निकालेको छ ।

साबुन पानीले हात धुने सरल कार्यले जीवन बचाउन र संक्रामक रोगहरूको फैलावट रोक्न मद्दत गरेर रोग कम गर्न सक्छ । हात धुने कार्य जोखिमपूर्ण अवस्थाहरू अनिवार्य रुप गर्नु पर्दछ । हात धुने जोखिमपूर्ण अवस्थाहरू भन्नाले त्यस्ता परिस्थितिहरूलाई जनाउँछन् जहाँ हात सफा नगरेमा विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन् । यी अवस्थाहरूमा मुख् खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, खाना पकाउनु वा पस्कनुअघि, दिसा धोइसकेपछि, बच्चाको दिसा धोइदिएपछि र फोहर छोएपछि पर्दछन् ।

यसै सन्दर्भमा, विगत सात वर्षमा गरिएको आधारभूत सर्वेक्षण तथा अन्तिम सर्वेक्षणबाट पाप्त तथ्यांकलाई केलाउँदा केही मननयोग्य निष्कर्षहरु प्राप्त भएका छन् । यो सर्वेक्षण सिन्धुली, काभ्रे, बागलुङ र म्याग्दी जिल्लाहरुको ग्रामीण क्षेत्रमा गरिएको हो । हरेक वर्ष खानेपानी आयोजना शुरुगर्नु अघि आधारभूत सर्वेक्षण र सम्पन्न भएपछि अन्तिम सर्वेक्षण गर्ने गरिन्छ ।

उक्त सर्वेक्षणका अनुसार जोखिमपूर्ण अवस्थाहरू मध्ये खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, खाना पकाउनु वा पस्कनुअघि र दिसा धोइसकेपछि ९५ प्रतिशत भन्दा बढी मानिसहरुले साबुन पानीले हात धुने गरेको पाइएको छ । यी अवस्थाहरुमा शतप्रतिशत नभएपनि नतिजा केही उत्साहजनक रहेको मान्न सकिन्छ । तर फोहर छोएपछि, बच्चाको दिसा धोइदिएपछि र बच्चालाई दुध चुसाउनुअघि २५ प्रतिशत भन्दा कम मानिसहरुले साबुन पानीले हात धुने गरेको पाइएको छ । यस तथ्यले समेत हात स्वच्छतामा नेपाली अझै उदासिन रहेको पुष्टी हुन्छ ।

हात स्वच्छता जस्तो सामान्य अभ्यासले मानिसहरूको स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्न सक्छ । नेपालमा हात स्वच्छतामा रहेको उदासिनतालाई सम्बोधन गर्न सरकार, गैर-सरकारी संस्थाहरू, विद्यालयहरू र समुदायले सँगै काम गर्न आवश्यक छ । जनचेतना फैलाउने, स्रोत साधन उपलब्ध गराउने र व्यवहारमा परिवर्तन ल्याउने प्रयासले मात्र हात स्वच्छतामा सुधार ल्याउन सकिन्छ ।

यसबाट नेपालमा संक्रामक रोगको फैलावटलाई रोक्न सहयोग पुग्नेछ र जनस्वास्थ्यमा उल्लेखनीय सुधार आउनेछ । प्राकृतिक प्रकोप तथा कोभिड जस्ता महामारीसंग जुध्नका लागि पूर्व तयारी गरेर गर्न सकिन्छ । त्यसैगरी, कोरना कहरले सिकाएको आनीबानीलाई न्यू-नर्मलको रुपमा निरन्तरता दिन सकेमा महामारीबाट जोगिन सजिलो हुनेछ । सफा हात स्वस्थ जीवनको आधार हो, जसले मानिसहरूलाई धेरै रोगहरूबाट सुरक्षित राख्न सक्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार