खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गर्ने क्रममा समुदायहरुमा सही ढंगबाट हात धुनुको फाईदाको वारेमा जानकारी गराउनु र हात धुने विधिको प्रदर्शन गर्नु पनि पर्थ्यो । हात धुनलाई पनि सिकाउनु पर्छ र ? भन्दै खानेपानी, सरसफाइ तथा स्वच्छतामा काम गर्ने कर्मचारीहरुलाई धेरै जसो स्थानमा समुदायको विभिन्न तप्कामा वस्नेहरुले खिसिट्युरी गरेका धेरै उदाहरणहरु भेटिन्थे । निरन्तरको प्रयास पश्चात पनि आम मानिसहरुमा सफा हातको महत्वको वारेमा जानकारी गराउन सकिएको थिएन । तर सन् २०१९ मा आएको कोरोना महामारीले गर्दा धेरैलाई हात धुनुको महत्वको वारेमा जानकारी साथै धेरैले अभ्यास पनि गर्ने गरेको पाईयो ।
कुरा सहि ढंगबाट हात धुनको मात्र होईन यसले पार्ने स्वास्थ्य र आर्थिक क्षेत्रमा पार्ने सकरात्मक प्रभावको पनि हो ।
खानेपानी तथा सरसफाइका संरचना निर्माण, सुरक्षित खानेपानीको घरसम्म पहुँच हुँदा पनि सहि ढंगबाट हात धुने अभ्यास आम मानिसहरुले गरेन भने स्वास्थ्यमा सुधारको अपेक्षा गर्न सकिदैन । यसको लागि सहि ढंगबाट हात धुनु अपरिहार्य छ । हात धुने जस्तो सामान्य कुराको वारेमा पनि किन चर्चा गर्नु पर्यो भन्ने पनि धेरैलाई लाग्न सक्छ । तर संसारभर अहिले पनि २ अर्ब जनसंख्यालाई सावुन र पानी सहितको हात धुने व्यवस्था छैन । ८० करोड वाल वालिकाहरुलाई विद्यालयमा सावुन र पानी सहितको हात धुने व्यवस्था छैन भने करिब ४६ करोड २० लाख विद्यार्थीहरु हात धुने स्थान नभएका विद्यालयहरुमा अध्ययन गर्न वाध्य छन् जसको कारणले गर्दा उनीहरुको मानसिक, शारीरिक र विद्यालय जाने दरमा समेत असर परेको छ । सावुन र पानी सहितको हात धुने स्थानको अभावले गर्दा किशोरी र महिला स्वास्थ्यमा समेत गम्भीर असर परेको अध्ययनहरुले देखाएका छन् ।
सामान्य हात धुने कुराको यति धेरै चर्चा किन भनेर आम मानिसलाई पनि लाग्न सक्छ । तर कुरा सहि ढंगबाट हात धुनको मात्र होईन यसले पार्ने स्वास्थ्य र आर्थिक क्षेत्रमा पार्ने सकरात्मक प्रभावको पनि हो । अध्ययनहरुले के देखाएको छ भने सावुन पानीले मिचि मिचि सही ढंगबाट हात धुँदा झाडापखलाको दरलाई ३० प्रतिशत, श्वास प्रश्वास सम्वन्धि रोगको संक्रमणलाई २० प्रतिशत कमी ल्याउनुका साथै हैजा, ईवोला, कोरोना, सार्स, हेपटाईटिस ई, मन्कीपक्स जस्ता विभिन्न सरुवा रोगहरुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट वचाउन सकिन्छ । अर्को तर्फ सरकारले यी माथि उल्लेखित रोगहरुको उपचारको लागि गर्ने लगानी र औषधी उपचारको खर्चमा कमी आउँछ । यसले स्वभाविक रुपमा सरकारलाई आर्थिक भार कम गराउँछ ।
संसारभरमा दिगो विकास लक्ष्य सन् २०३० सम्म पुरा गर्न सकिने हो वा होईन चर्चा परिचर्चा चलिरहेको छ । धेरैले दिगो विकास लक्ष्यका धेरै लक्ष्यहरु पुरा गर्न नसकिने आँकलन पनि गरेका छन् । तर हामिले वुझ्नुपर्ने कुरा के पनि छ भने सही ढंगबाट हात धुने अभ्यास आम मानिसहरुले गर्ने हो भने दिगो विकास लक्ष्यहरु जस्तै पानी र सरसफाइ, पोषण, शिक्षा, स्वास्थ्य, आर्थिक उन्नतिका उपलब्धीहरुमा ठुलो टेवा पुग्ने देखिएको छ ।
नेपालमा अहिले पनि शहरी क्षेत्रमा ३३ प्रतिशत जनसंख्यालाई सावुन र पानी सहितको हात धुने व्यवस्था छैन भनिएको छ । नेपालमा मात्र होईन ४६ वटा अल्पविकसित देशहरुमा नै यो समस्या छ । यसले स्वास्थ्य क्षेत्रमा गरेको असर र सरकार माथि परेको आर्थिक भारको वारेमा जति वहस हुनुपर्ने हो त्यो भएको पाईएको छैन । सरुवा रोग लागे पछि मात्र सरकारको ध्यान आर्कषण हुने तर सावुन र पानी सहितको हात धुने स्थानहरु निर्माण गर्न कम ध्यान गएको छ ।
सन् २०३० सम्ममा सर्वव्यापी रुपमा सावुन र पानीले हात धुने व्यवस्था गर्नको लागि अल्पविकसित राष्ट्रहरुमा प्रत्येक वर्ष एक व्यक्ति बरावर एक डलर लगानी गर्दा प्राप्त गर्न सकिन्छ । जुन सरकारी क्षेत्रको प्रतिवद्धता हुँदा प्राप्त गर्न सकिने देखिन्छ । अझ यो क्षेत्रमा काम गर्ने अभियानकर्ताहरुले के वुझ्नु पर्दछ भने साबुन र पानी सहितको हात धुने स्थानको व्यवस्था गर्दा यसको प्रतिफल ३५ देखि ९२ गुणा सम्म हुने वताईएको छ ।
सावुन र पानी सहितको हात धुने व्यवस्था भएर पनि आम मानिसहरुले सही ढंगबाट हात धुने अभ्यास गरेन भने सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिदैन भन्ने हेतुले संसारभर सन् २००८ देखि प्रत्येक वर्ष अक्टोर १५ को दिनलाई विश्व हात धुने दिवसको रुपमा मनाउन शुरु गरियो । प्रत्येक वर्ष भिन्न भिन्न नारामा मनाईने विश्व हात धुने दिवस यो वर्ष why are clean hands still important? (सफा हात अझै किन महत्वपूर्ण) भन्ने नारा सहित संसारभरमा यो दिवस मनाईएको छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईएको छ । यो दिवस मनाउँदा सहि ढंगबाट हात धुँदा हुने फाईदाको वारेमा जनचेतना जगाउन र हात धुने तरिका प्रदर्शन गर्नु नै यो दिवसले दिन खोजेको मुख्य सन्देश हो ।
सहि ढंगबाट हात धुँदा यति धेरै फाईदा हुने हुँदा यसको वारेमा आम सर्वसाधरणलाई वुझाउन जरुरी छ । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार ४० देखि ६० सेकेण्ड सम्म सावुन र पानीले मिचिमिची विभिन्न चरण पार गरी हात धुन सकिन्छ । सामान्य अर्थमा हात फोहोर भएको महशुस भएमा हात धुनु पर्दछ तर जोखिमपूर्ण अवस्थाहरु जस्तै शौचालयको प्रयोग पश्चात, खाना खानु अघि, खाना पकाउनु अघि, खाना वनाईसके पश्चात, कोही विरामीलाई भेट्न जाँदा वा भेटे पश्चात, घरपालुवा जनावरलाई छोए पश्चात, खेत तथा वारीमा काम गरेर फर्के पश्चात यस्ता धेरै जोखिमपूर्ण अवस्थाहरु हुन्छन् जहाँ हामीले मिचिमिची सावुन र पानीले हात धुनु पर्ने हुन्छ । हात धोए पश्चात अझ गम्भिर कुरा भनेको हात पुछ्ने रुमाल कस्तो छ भन्नेमा पनि हो । यो सफा र एक जनाले मात्र प्रयोग गरेको हुँदा राम्रो मानिन्छ ।
सावुन र पानीले मिचिमिची हात धुँदा मात्र व्यक्तिगत स्वास्थ्य, समुदायको स्वास्थ्य र समग्र राष्ट्रको आर्थिक भारलाई पनि यति धेरै टेवा पुग्ने देखिए पश्चात सहि ढंगबाट हात धुनुको पैरवी अझ धेरै गर्दै जानुपर्ने देखिन्छ । यसको लागि सरकार, दाताहरु, सेवा प्रदायक र सरसफाइका सामान वितरण गर्नेहरु, व्यापारी, संस्थागतकर्ता र आमसर्वसाधमरणहरुको समन्वय हुन जरुरी छ ।
आनन्द गौतम
(Facebook, Anand Gautam | LinkedIn)
लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।