ज्वालामुखीको वडा नं. ६ गाउँपालिकाको पहिलो नमुना सफा र स्वच्छ वडा घोषणा

  वास खबर सम्बाददाता  190 पटक हेरिएको

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं. ६ लाई गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्य, वागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, गाउँपालिका उपाध्यक्ष धर्म वहादुर अर्याल र ज्वालामूखी गाउँपालिकाका नि वर्तमान अध्यक्ष विनोदराज तिमल्सिनाको विशेष आतिथ्य एवं वडा नं.६ का वडा अध्यक्ष किशोर सेढाईको अध्यक्षतामा वडा नं. ६ लाई नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको हो।

‘ज्वालामूखीको शान, सफा स्वच्छ गाउँको पहिचान’ भन्ने मुख्य नारा सहित घोषणा गरिएको वडा नं. ६ मा ९५७ घर परिवारको बसोबास छ । सफा र स्वच्छ गाउँको चरणमा ५ वटा व्यवहारका १५ वटा सुचक र ४५ वटा उपसुचकहरु पूरा गरी हर्ष उल्लासका साथ सफा र स्वच्छ वडा घोषणा गरिएको ज्वालामूखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यबस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मी, छत्कुलीले जानकारी दिनुभयो।

पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसारको पहिलो चरणमा सफा र स्वच्छ घरको ५ वटा व्यवहार पुरा गर्नको लागि १५ वटा सुचक र ४५ वटा उपसुचकहरु पूरा भएपछि घोषणा गरिएको उहाँले जानकारी गराउनुभयो ।

५ वटा व्यवहारहरुमा १) चर्पीको समुचित प्रयोग २) व्यक्तिगत सरसफाइ ३) सुरक्षित खानेपानी ४) सुरक्षित र स्वच्छ खाना ५)घर तथा आँगनको सरसफाइ रहेका छन् । प्रबन्धक छत्कुलीका अनुसार यी सवै व्यवहार पूरा गर्नका लागि मापन गरिने सूचकहरु सवै घरधुरीमा शतप्रतिशत पुरा भएका छन् ।

सन् २०३० भित्रमा नेपाललाई पूर्ण सरसफाइ उन्मुख राष्ट्र वनाउने सरकारको लक्ष्य अनुरुप ज्वालामूखी गाउँपालिकाले सरसफाइ रणनीति २०७६ निर्माण गरी सरसफाइको पहिलो चरण सफा स्वच्छ गाउँ घोषणा अभियान सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत २०७६ माघ महिनाको २९ गते धादिङ जिल्लाकै पहिलो ३०७ घरधुरीलाई समेटेर घोषणा गरिएको थियो । जुन टोल वडा नं. ६ कै ५ वटा टोल रहेका छन् ।


यस्तै दोस्रो पटक २०७९ पौष १३ गते वडा नं. ६ कै २ वटा टोल काउलेडाँडा र गैरी गाउँ टोलका १७५ घरधुरीलाई स्वच्छ र सफा टोल घोषणा गरिएको थियो । त्यसपछि निरन्तर अभियानको रुपमा सवै वडाहरुमा पूर्ण सरसफाइ अभियान सञ्चालन भएको हो ।

वडा नं. ६ मा यस अघि ४८२ घरधुरीलाई सफा र स्वच्छ घोषणा थियो भने आईतबार थप ८ वटा टोलका ४७५ घरधुरीलाई घोषणा गरिएको छ ।

२०८२ साल भित्र सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्ने

गाउँपालिकाले पछिल्लो २ वर्ष यता खानेपानी र सरसफाइ क्षेत्र हेर्नका लागि खानेपानी र सरसफाइ व्यवस्थापन बोर्ड स्थापना गरी बोर्ड मोडल मार्फत अभियान प्राथमिकताका साथ अगाडि वढाएको हो । ग्रामीण भेगमा सञ्चालित बोर्ड मोडल मार्फत खानेपानी र सरसफाइलाइ समानान्तर रुपमा संचालन भएको यो पहिलो मोडल र अभियान हो ।

नि वर्तमान पालिका अध्यक्षको पालामा सुरुवात भएको यो मोडललाई वर्तमान अध्यक्षले प्रमुख एजेण्डाको रुपमा कार्यान्वयन गर्दै आउनु भएको छ । पालिकामा हाल सम्म २०२० घोषणा घरधुरी सफा र स्वच्छ घोषणा भैसकेका छन् ।

यस्तै १०४९ घरधुरी घोषाणको तयारीमा छन् । गाउँपालिकामा ६०७९ घरधुरी मध्ये ३२२० घरधुरीमा अभियान सञ्चान गरी २०८२ साल भित्र सफा तथा स्वच्छ गाउँपालिका र एक घर एक मिटर सहितको धारा रहेको गाउँपालिका घोषणा गर्ने लक्ष्य छ । जस अनुरुप गाउँपालिका भित्रका घरधुरीहरु मध्ये ५० प्रतिशतले सुरक्षित खानेपानी प्रयोग गरिरहेका छन् भने झण्डै ८० प्रतिशत घरधुरीमा एक घर एक धारा निर्माण भैसकेका छन् तर निर्मित भएका संरचनाहरुको व्यवस्थापन र दिगो संचालनको लागि थुप्रै कार्यहरु गर्न वाँकी छ ।

समग्रमा यो अभियान सरकारले तय गरेको नीति अवलम्बन गर्ने स्थानीय तह र आम नागरिकको प्रमुख जिम्मेवारी हो भने सरसफाइ र स्वच्छताका व्यवहार पूरा गर्दा आम नागरिकहरुको व्यक्तिगत स्वच्छतामा सकारात्मक सुधार आउनेछ ।

सुरक्षित खानेपानीको प्रयोग र जोखिमपूर्ण अवस्थामा सावुन पानीले हात धुँदा पानीजन्य रोकको संक्रमबाट बच्न सकिन्छ । हालैका दिनमा दुषित पानीकै कारण हैजाको प्रकोप फैलिएको समेत पुष्टी भएको छ । त्यसकारण पनि खानेपानीको उचित व्यवस्थापन संगै गाउँपालिकाबासीलाई सुरक्षित खानेपानी उपलव्धताको लागि घरेलु स्तरमा फिल्टर विधिवाट पानी शुद्धिकरणको व्यवस्थापनको लागि एक घर एक फिल्टर र डस्विनको उपलव्धता गरिएको हो ।

उक्त सामाग्री सहयोगमा समुदाय, गाउँपालिका, खानेपानी बोर्ड र अन्य संघ संस्थाहरुको समन्वय तथा आर्थिक प्राविधिक सहयोगमा उपलव्ध गराइएको हो । सरसफाइले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउँछ जसको कारण व्यक्ति,समाज र सिंगो गाउँपालिकाको आर्थिक, सामाजिक लगायत सर्वपक्षिय सुधार देखिने भएकाले गाउँपालिकाले अभियानको रुपमा ल्याएको हो ।

टोल विकास संस्थाले अनुगमन गर्ने

वडा घोषणा पछिको निरन्तरताको लागि टोल विकास संस्थालाई सक्रिय गराई नियमित रुपमा टोलका घरधुरी अनुगमन तथा पृष्ठपोषण दिने र समुदायमा निरन्तरताको लागि उत्साह दिइने गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताउनुभयो ।

कार्यक्रम समापनको क्रममा वडा अध्यक्ष किशोर सेढाईले वडालाई घोषणाको चरण सम्म ल्याउनका लागि विगत लामो समय देखि सहकार्यमा रहेका टोल विकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयं सेविका, अनुगमन समिति, विद्यालय, स्वास्थ्य संस्था, विकास साझेदार संघ संस्थाहरुले धन्यबाद व्यक्त गर्नुभयो । उहाँले आकाशे पानी संकलनको लागि घैटो निर्माणको कार्य संचालनमा सहयोग गर्ने एक्सन नेपाल, खानेपानी संरचना निर्माण र सरसफाइमा सहयोग गर्ने फोकस नेपाल, अक्सफाम नेपाल र यो अभियानको शुरुवाती चरण देखि नेतृत्वदायी भूमिकामा रहेको शान्ति नेपाल र हाल सि टि एस नेपालको सहयोग प्रति आभार व्यक्त गर्नुभयो।


कार्यक्रममै क्रममा विभिन्न पाटी प्रमुख र प्रतिनिधिहरुले अभियान महत्वपूर्ण रहेकाले सबैले साथ र सहयोग गरी सवै वडामा घोषणाको चरण सम्म पुर्याउनुपर्ने सल्लाह र सुझाव दिएका छन् ।

वडा अध्यक्ष सेढाईले खानेपानीमा टुक्रे योजना संचालन र मर्मत सम्भार गर्दा ठूलो खर्च हुने र लाभान्वित जनसंख्या कम भएकाले व्यवस्थित एकीकृत वृहत खानेपानी र सिंचाइ आयोजना आवश्यक रहेको मन्त्री समक्ष दर्शाउनुभयो । उहाँले ६ नं. वडाको रानागाउँ, पल्लीगाउँ, सालवास, ओख्लेपानी राम्चे लगायतका केही बस्तीमा खानेपानी पुर्याउन समस्या भएकाले सिंचाइ र खानेपानी संचालन मार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने भएकाले कृषि, सिंचाइ र खानेपानी व्यवस्थापनको लागि मन्त्री समक्ष ज्ञापन पत्र वुझाएको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार