सार्वजनिक शौचालय सफा राख्दा मिलेको सम्मान

  वास खबर सम्वाददाता  1056 पटक हेरिएको

काठमाडौ : कार्यालय पोशाकमा शौचालयको काउण्टरमा उभिएकी सन्ध्या देउला कुनै सपिङ मलको रिसेप्सनिष्ट भन्दा कम देखिनु हुन्न । उहाँ आफू मात्र होइन शौचालय पनि सफा सुग्घर गरी चिटिक्क पारेर राख्नुहुन्छ ।

शौचालय सफा सुग्घर राखेकै कारण उहाँले कयौं पटक बक्सिस पाईसक्नु भएको छ । दिसापिसाब गरेको शुल्क समेत कर लागेर मात्र तिर्नुपर्ने अवस्थाको काठमाडौंको सार्वजनिक शौचालयहरुको भीडमा बक्सिस समेत पाउने गरी सन्ध्याले कुन स्तरको सरसफाइ गर्नुभएको होला ?

‘एक जनाले ५० रुपैयाँ दिनुभयो, अनि फिर्ता दिँदा यत्ति टलक्क टल्काएर सफा राख्नुभएको छ, बाँकी तपाईको लागि टिप्स भन्नुभयो’ सन्ध्याले खुसी साट्दै भन्नुभयो ‘शौचालयमा गरिएको कामको पनि मूल्याङ्कन हुँदो रहेछ भन्ने त्यसपछि मैले बुझे ।’

एरोसान सस्टेनेबल स्यानिटेसन प्रा.लि.दवारा सञ्चालित शौचालयहरुमा दिसा वा पिसाब गरेको १० रुपैयाँ शुल्क तोकिएको छ । पाटन ढोकामा रहेको सार्वजनिक शौचालयमा विदेशीहरु समेत आउँछन् । कतिपय विदेशीहरु नेपालमा समेत यो स्तरको सार्वजनिक शौचालय देखेर जिब्रो काढ्छन् ।

शौचालय सफा राखे बापत सन्ध्या बेला बखत टिप्स् पाईरहनु हुन्छ । शौचालय सफा राख्ने काम आफ्नो जिम्मेवारी भित्रको काम भएपनि ग्राहकले आफ्नो कामको प्रसंशा गरेर टिप्स दिँदा मनोबल अझ बढ्ने उहाँले भनाई छ । ‘हामीलाई कार्यालयले अन्य कर्मचारी सरह तलब सुविधाको व्यवस्था गर्नुभएको छ, झनै यसरी टिप्स पाउँदा चाहिं आत्म सम्मान मिल्दो रहेछ’ सन्ध्याले भन्नुभयो ।


एरोसानले आफ्ना सफाइ कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । सफाइ कर्मचारीहरुको स्वास्थ्य बीमा गरिएको र उपचार खर्च सोही बीमाबाट बेहोर्दै आएको एरोसानकी प्रोग्राम म्यानेजर अर्चना श्रेष्ठले बताउनुभयो ।

समान तलब, काममा सहजता भएपछि अन्य क्षेत्रमा जागिर खानु र सफाइ कर्मचारीको रुपमा काम गर्नुमा कुनै फरक नहुने सन्ध्याको भनाइ छ । कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभएकी सन्ध्या सरसफाइ कर्मचारी भएर काम गर्दा आफूले सानो बच्चाको लागि समेत समय दिन पाएको बताउनुहुन्छ ।

व्यक्तिगत सरसफाइ, सरसफाइकर्मीको सेवा सुविधाको ग्यारेन्टी तथा अन्य कर्मचारी सरह तलब सुविधाको व्यवस्था लगायतले सामाजिक हेयको दृष्टिले हेरिने सफाइ कर्म सम्मानित पेशाको रुपमा रुपान्तरण हुदै गएको अर्का सरसफाइ कर्मचारी पविता खपाङ्गीको अनुभव छ ।


एरोसानका सबै शौचालय हबहरुमा दुई सिफ्टका लागि दुई जना सफाइ कर्मचारी र एक जना क्याफे सञ्चालक हुन्छन् । शौचालयको सरसफाइ गर्ने र प्रयोगकर्ताबाट शुल्क उठाउने काम सरसफाइ कर्मचारीकै जिम्मेवारी भित्र पर्दछ । ती कर्मचारीले प्रत्येक घण्टाको शौचालय प्रयोगकर्ताको संख्या समेत टिपोट गर्नुपर्छ ।

शौचालय बिहान ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला रहन्छ । उक्त समय अवधि भित्र कुनै न कुनै समयमा हरेक शौचालय हबमा सुपरभाईजर पुगेकै हुन्छन् । ‘शौचालयको सरसफाइ कतिको भैरहेको छ ? कर्मचारीलाई कुनै अफ्ठ्यारो पो परेको छ कि ? शौचालयको कुनै पार्टले काम गरेको छैन कि ?’ म यस्ता कुराहरुको सुपरिवेक्षण गरेर ठाउँका ठाउँ समाधानको प्रयत्न गरिने एरोसानका सुपरभाइजर संसारलाल वैद्यले बताउनुभयो ।

एरोसानका सार्वजनिक शौचालयहरु महिला, पुरुष, बृद्धबृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सबैले प्रयोग गर्न सक्छन् । महिलामैत्री, बालबालिकामैत्री, अपाङ्गतामैत्री र प्रविधिमैत्री यी शौचालयहरु सबैका लागि पहुँचयोग्य छन् । नगरव्यापी समावेशी सरसफाइको उत्कृष्ट उदाहरण यी शौचालयहरुमा देख्न पाइन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार