फोहोरबाट मोहोर निकाल्दै मध्यविन्दु नगरपालिका

  वास खबर सम्बाददाता  131 पटक हेरिएको

कावासोती : नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट मोहर निकाल्न सुरु गरेको छ । दिगो रूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन गर्न थालिएको हो।

सरसफाइ प्रवर्द्वन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालन गरी घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन गरेर प्रतिकिलो २२ मा विक्री गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय रासायनिक मलको प्रयोगले माटोमा अम्लीयपन बढी हुने र उर्वराशक्तिमा कमी भइरहेको अवस्थामा जैविक मलले धेरै फाइदा पुग्ने विश्वास लिएको उहाँले बताउनु भयो । फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको रूपमा जैविक मल उत्पादन सही विकल्प देखिएकाले फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन गरेर विक्री सुरु गरिएको नगरपालिकाका इन्जिनियर विवेक पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यविन्दु नगरपालिकाभित्र सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।”

उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने साथै उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रहेको उहाँको भनाइ छ ।

जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्ग्यानिक उत्पादनलाई सहयोग गर्ने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनु भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ। गण्डकी प्रदेश सरकारको साझेदारीमा कुल चार करोड ३७ लाख ९८ हजार तीनसय ७४ खर्च भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार