मुहान संरक्षण बारे खानेपानी मन्त्रालय र इसिमोड बीच छलफल

मुहान संरक्षणमा कार्यदल बनाएर अघि बढ्नुपर्छ : मन्त्री यादव

  वास खबर सम्बाददाता  214 पटक हेरिएको

काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनाएर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आइतबार आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पदाधिकारीसँगको छलफलमा उहाँले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेका छन्, जसले गर्दा पानीको ठूलो समस्या देखिँदैछ । मुहान संरक्षणका लागि इसिमोडले लामो समयदेखि काम गर्दै आएकाले मन्त्रालय यहाँहरूसँग सहकार्य गर्न तयार छ” मन्त्री यादवले भन्नुभयो। उहाँले मन्त्रालयले खानेपानी आयोजनाको अभिन्न अङ्गका रूपमा मुहान संरक्षण कार्य अगाडि बढाउने र यस्ता कार्यलाई एकीकृत रूपमा लैजाने बताउनुभयो ।

छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गर्नु भएको थियो । उक्त अध्ययन सामग्री अनुसार नेपालमा छ लाख पानीका मूल रहेका र कम्तीमा एक करोड मानिस तीनमा आश्रित रहेका छन् । यहाँ भएका मध्ये करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको जलाधार विज्ञ ढकालको भनाइ थियो ।

इसिमोडकै अनुगमन, मूल्याङ्कन र सिकाइ प्रमुख फरिद अहमदले मूल संरक्षण तथा संवर्द्धनमा सहकार्य गरी सिकाइ आदानप्रदान गर्न सकिने बताउनुभयो । उहाँले सुकेका मूलको नक्साङ्कन, जल तथा भौगोलिक अध्ययनमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी, मीना श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार