कर्जा चुक्ता गर्ने सम्भाव्य परियोजनामा बैंकहरुले सरसफाइमा लगानी गर्ने

  वास खबर सम्बाददाता  364 पटक हेरिएको

ललितपुर : नाफा आर्जन गर्न सक्ने प्रत्याभूति दिलाउन सके बैंकहरुले सरसफाइको परियोजनामा लगानी गर्न सक्ने नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष एवम् बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताउनु भएको छ। विश्व शौचालय दिवसको अवसरमा वाटर एड नेपाल र एसएनभीको साझेदारीमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सरसफाइको दिगो विकास लक्ष्य हासिल गर्न सरकारी लगानी पर्याप्त नभएकोले निजी क्षेत्रका बैंकहरुले यो लक्ष्य प्राप्त गर्ने कार्यमा कसरी सहयोग गर्न सक्छन् भनेर सोध्नु भएको थियो ।

जवाफमा बैंकका अध्यक्ष पौडेलले भन्नुभयो ‘हामी कहाँ ढलहरु बगेर नदीमा गएको देखिएको छ । ढलबाट ग्यास निकाल्ने, फोहरमैलाबाट मल र ग्यास निकाल्ने परियोजना बनाउने हो र बैंकबाट लिएको ऋण परियोजनाले नै तिर्न सक्छन् भन्ने देखियो भने लगानी गर्न सकिन्छ।’ उहाँले परम्परागत रुपमा सरसफाइबाट दीर्घकालीन सामाजिक लाभ हुन्छ भनेको भरमा भने बैंकले लगानी गर्न नसक्ने बताउनुभयो।

उहाँले सार्वजनिक निजी साझेदारीका परियोजनामा पनि लगानी गर्न सकिने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेकोले वाणिज्य बैकहरुले कर्जा चुक्ता गर्ने सम्भाव्य परियोजनामा लगानी गर्न बैंकलाई कठिनाई नहुने पनि बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्याञ्जूले अरुदेशमा घरजग्गा र लालपूर्जा धितो नराखीकन परियोजनामा कर्जा पाउन सकिने व्यवस्था भए पनि नेपालमा लालपूर्जा नै बन्धक राख्नुपर्ने सोंचबाट बैंकहरु मुक्त हुने बताउनुभयो। बैंकर पौडेलले अख्तियार जस्ता राज्यका संवैधानिक निकाय, अदालत सबैतिरबाट सुरक्षण खोज्ने परिपाटी रहेकोले बैंकरले चाहदैमा त्यस्तो गर्न नसकिने जानकारी दिनुभयो । बरु उहाँले नगरपालिकाहरुलाई आफूले लगानी गर्न चाहेको र आर्थिक प्रतिफल पनि दिने परियोजनाहरुमा रकम जुटाउन अर्को उपाय सुुझाउनु भयो । “अहिले नगरपालिकाहरुले म्युनिसिपल बण्ड जारी गर्न सक्छन् त्यसो भयो भने नगरपालिकाले वित्तीय संस्थाहरु, संगठित क्षेत्र र आम नागरिकबाट पनि रकम जुटाएर चाहेका परियोजनामा लगानी गर्न सक्छन्’’ उहाँले भन्नुभयो ।

उहाँले परियोजना धितो राखेर र व्यक्तिगत जमानीमा पनि ऋण दिने अभ्यास नेपालमा पनि रहेको उल्लेख गर्दै कतिपय अवस्थामा सम्बन्धित संस्थाहरु सञ्चालनमा पारदर्शिताको अभाव र कानून मुताविक सार्वजनिक गर्नुपर्ने कुराहरु सार्वजनिक नभएका कारणले बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्न हिच्किचाउने पनि बताउनुभयो ।

खानेपानी र सरसफाइका क्षेत्रमा विश्वमा उपलब्ध नविनतम् प्रविधिलाई नेपालमा ल्याएर नागरिकहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापना भएको स्मार्ट वासले विभिन्न संस्थाहरुको सहयोगमा नेपालमा सरसफाईका क्षेत्रमा भएका नीति र प्रविधिमा केन्द्रित रहेर कार्यशालाको आयोजना गरेको थियो । सो कार्यशालाको ‘प्रदेश र स्थानीय सरकारहरुलाई सरसफाईको मूल प्रवाहीकरणमा ल्याउने’ विषयक सामूहिक बहस शत्रमा सहभागी हुनुभएका खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठ, मधेश, बागमती र कोशी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरु क्रमशः डा. सोहनलाल, डा।गंगादत्त नेपाल र डा. प्रमिला गच्छेदारका साथै धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले नेपालले खानेपानीको क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गरे पनि सरसफाइका क्षेत्रको लक्ष्य हासिल गर्न चुनौती रहेको बताउनुभयो।

कार्यशालाको प्राविधिक शत्रमा नेदरल्याण्ड्स सहयोग नियोग एसएनभी नेपालकी वाटर सेक्टर लिडर नादिरा ख्वाजाले प्रदेशस्तरमा वास नीति कार्यान्वयनमा, वाटर एड नेपालकी सुश्रीना मानन्धरले समावेशी सार्वजनिक र सामुदायिक शौचालयः जहाँ शान्तिको बास छ विषयमा,सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकाल र मकवानपुरका राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्लले पालिकाका आवाजका बारेमा र एरोसानकी कार्यक्रम प्रबन्धक अर्चना श्रेष्ठले सरसफाइमा स्मार्ट शौचालय प्रविधिका विषय, चुनौती र आगामी बाटोका विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यशालामा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, रोटरी इन्टरनेशनलका दिनेश मानन्धर, पूर्वमन्त्री गणेश साह, स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले पनि सरसफाईको महत्व र मानिसको मनलाई शान्ति दिने सफा शौचालयको आवश्यकताको बारेमा मन्तव्य व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार