२० बर्ष अघि बनेका खानेपानी संरचना र सेवा अझै उस्तै, तर कसरी ?

  पी.टी.लोप्चन  405 पटक हेरिएको

दैलेख : करिब २० बर्ष अघि बनेका खानेपानीका संरचनाहरु अहिले पनि उस्तै छन् । खानेपानीको सेवास्तर वृद्धि गरी केही समय अघि सबै संरचनामा रंग रोगन गरेपछि झनै नयाँ संरचना जस्तै देखिएका छन् ।

खानेपानीका संरचनाहरु टिकाउ हुनुमा खानेपानीको नियमित मर्मत सम्भार र रेखदेख नै प्रमुख ठान्छन् खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु ।

कुरा दैलेखको नौमुले गाउँपालिकाको वडा नं. ४ मा अवस्थित जाप्ला जोगीधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको हो । २०६५ सालमा बनाएको धारा अहिले पनि उस्तै रहेको जाप्ला जोगीधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व अध्यक्ष जयलाल बस्नेतले बताउनुभयो।

‘गाउँमा सबै दाजुभाइ बसेर पटक पटक बैठक राख्यौं । मर्मत गर्नुपर्ने ठाउँमा मर्मत गरेका थियौं’ पूर्व अध्यक्ष बस्नेतले भन्नुभयो ‘हामीले नियमित सरसफाइ र मर्मत सम्भार गरेका थियौं र त अहिलेसम्म खानेपानी कहीं टुटफुट पनि भएन, धारामा पानी आईरह्यो ।’

खानेपानी योजना निर्माण भएको बेला अब २० बर्षसम्म तपाईहरुलाई खानेपानी आउँदैन भनेर उपल्लो निकायका व्यक्तिहरुले भनेको सम्झिनुहुन्छ बस्नेत। ‘हामीलाई त्यही बेला सरहरुले भन्नुभएको थियो, तपाईहरुको गाउँमा २० बर्षसम्म खानेपानी योजना आउँदैन भनेर, १७ बर्ष त भएछ, हाम्रो खानेपानी केही पनि भएको छैन ।’

‘हामीले त्यसलाई माया गर्‍यौं, सेवा गर्‍यौं र त भयो त । नत्र उही साल बनाएर उही साल बिग्रिएर फालेको मैले कयौं ठाउँ देखें ।’ यत्ति भनिसक्दा उहाँको गह हर्षको आँशुले भरिएको थियो ।

बस्नेत भन्नुहुन्छ ‘९ नम्बरमा त्यस्तै देखे मैले । धेरै ठाउँमा म गएको ठाउँमा धारा त्यस्तै भएको देखे । तर हाम्रो गाउँमा धारा त्यस्तो भएन।’

टुटी फुत्के पनि आफ्नै पैसा हालेर भए पनि जोडेको तर लथालिङ्ग नबनाएको उहाँले बताउनुभयो । सानो तिना मर्मतको काम उपभोक्ता आफैले गरेको र मर्मत कोषको पैसा पनि धारामा खर्च नगरेको उहाँको भनाई छ । एक घर बराबर २० रुपैयाँ संकलन गर्दै आएका उपभोक्ताले हालसम्म ६५ हजार जम्मा गरिसकेका छन् । ती सबै पैसा सानातिना समस्या टार्न खानेपानी उपभोक्ताहरु बीच नै लगानी गरिएको उहाँले बताउनुभयो ।

सामूहिक धाराबाट खानेपानी पिईरहेको गाउँमा अहिले भने हरेक घर घरमा धारा पुर्‍याईएको छ । तत्कालीन समयमा Rural Village Water Resources Management Project (RVWRMP) परियोजना मार्फत निर्माण भएको यो खानेपानी योजनालाई हाल सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (सुस्वा) ले सेवा विस्तार गरी घरघरै धारा पुर्‍याईएको हो ।

उपभोक्ताको आवश्यकता अनुसार हाल पुरानो खानेपानीलाई मर्मत सम्भार र सेवाको स्तर बृद्धि गरी प्रत्येक घरमा धारा पुर्‍याईएको सुस्वाको नौमुले गाउँपालिकाका वास संयोजक लोक बहादुर बोगटीले बताउनुभयो ।

सामूहिक धारा हुँदा प्रति व्यक्ति प्रति दिन ४५ लिटरको दरले डिजाइन गरिएकोमा हाल प्रति व्यक्ति ६५ लिटरको दरले उपभोग गर्दा पनि पुग्ने गरी पानी ल्याईएको उहाँले बताउनुभयो । पानीको परिमाण बढाए पछि पानीको स्रोत समेत थपिएको छ।

गाउँबाट झण्डै साढे २ किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याएको जाप्ला जोगीधारा खानेपानीका अध्यक्ष नन्दराम बस्नेतले बताउनुभयो । ‘पहिले पनि ९० सेन्टिमिटर गहिराईमै पाइप विछ्याएका थियौं, अहिले पनि पर्खाल लगाएरै भए पनि ९० सेन्टिमिटर भन्दा बढी गहिराई खनेर विछ्याएका छौं’ अध्यक्ष बस्नेतले भन्नुभयो।

गुणस्तरीय निर्माण सामग्री र मापदण्ड अनुसारको काम

खानेपानीको संरचना दिगो हुनुमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग र मापदण्ड अनुसारको निर्माण तथा उपभोक्ता समितिको सवल व्यवस्थापन नै मुख्य रहेको सुस्वाका गुणस्तर नियन्त्रण तथा अनुगमन अधिकृत भक्त बहादुर ढाँट बताउनुहुन्छ ।

यसका लागि सम्बन्धित योजनाका प्राविधिकहरु निर्माण स्थलमै उपस्थित भएर सिमेन्ट, बालुवाको रेसियो मिलाउने, कुन संरचनाका लागि कस्तो खालको अनुपात प्रयोग गर्ने ? दक्ष कामदारहरु खटाएर संरचना बनाउन लगाउने र नियमित रुपमा उपभोक्ता र समितिसँग नियमित छलफल भैरहने उहाँले बताउनुभयो ।

उहाँका सिमेन्ट, बालुवा र गिट्टीको अनुपात मात्र होइन, यत्ति दिनपछि पानी राख्ने, यत्ति दिन भैसकेपछि फर्मा निकाल्ने र यत्ति दिनमा प्लष्टर गर्ने जस्ता प्राविधिक कामहरु इन्जिनियरकै उपस्थितिमा गराईछ । ‘हाम्रो डिजाइन स्टिमेटमा भएको गाइडलाइन फलो गरेर मात्र निर्माणको काम गर्न लगाइन्छ ।

पाइपलाइन खन्दा पनि सुरुमा पाइपलाइन खन्दै जान्छ अनि प्राविधिक साथीहरुले फित्ता नै ल्याएर ९० सेन्टिमिटर पुग्यो कि पुगेन भनेर नाप्नुहुन्छ’ गुणस्तर नियन्त्रण तथा अनुगमन अधिकृत ढाँट भन्नुहुन्छ ‘खानेपानी योजनामा काम गर्ने मिस्त्रीहरुलाई भने ९० सेन्टिमिटरको लौरो दिनुहुन्छ । त्यो लौरो डुब्यो भने ठिक छ, छैन भने अझै खन्न लगाउनुहुन्छ । स्टिमेट अनुसार भएको छ कि छैन भनेर सुनिश्चितता गरेर मात्र अर्को चरणको काम गरिन्छ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार