रिचार्ज पोखरीले पानीको मूल बृद्धि, डिप बोरिङमा समेत पानीको स्रोत बढ्यो

  वास खबर सम्बाददाता  323 पटक हेरिएको

धनकुटा : विगतमा पिउने पानीको अभाव भोग्दै आउनु भएकी धनकुटा नगरपालिका(१ सुकेपोखरीकी चित्रकुमारी मगर यति बेला दंग हुनुहुन्छ। उहाँको घर नजिकैको बोजे मुहानमा सुख्यायाममा पनि पर्याप्त पानी उम्रिएपछि उहाँ मात्र होइन, यो गाउँका स्थानीयलाई राहत मिलेको छ ।

विगतको दाँजोमा यसरी पानीको मुहान कयौं गुनाले बढ्नुमा माथिल्लो भागमा खनिएको पोखरी प्रमुख कारण हो । हिले र छथर जोरपाटी क्षेत्रका डाँडाभरि वर्षातको पानी जम्मा गर्ने उद्देश्यले (रिचार्ज) पोखरी खनिएका छन् । यहाँ हालसम्म तीन हजार साना ठूला पोखरी खनिएका छन् ।

तिनै पोखरीमा वर्षात्‌को पानी जम्मा भएपछि यति बेला बस्तीको तल्लो भागमा रहेका पानीको मुहान कयौं गुनाले बढेको स्थानीयले बताए । बोजे मुहानका अध्यक्ष केदारकुमार सिञ्जाली मगरका अनुसार विगतमा ३३ सेकेण्डमा एक लिटर पानी भरिन्थ्यो । तर, अहिले यो मुहानमा प्रति लिटर पानी ७ सेकेण्डमा नै भरिन्छ ।

‘अघिल्लो वर्षसम्म हामीलाई खानेपानीकै अभाव हुन्थ्यो,ु उहाँले भन्नुभयो ‘अहिले गाइवस्तुलाई खुवाउन र बारीमा समेत सिँचाइमा सुविधा भएको छ ।’ स्थानीयले पानीको स्रोत मापन समेत गर्दै आएका छन् ।

जस अनुसार यहाँको प्राकृतिक धारामा विगतमा ३३ सेकेण्डमा एक लिटर पानी भरिन्थ्यो भने हाल ७ सेकेण्डमा एक लिटर पानी भरिन्छ । खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा वर्षातको पानी जम्मा गर्ने रिचार्ज पोखरीहरु बनाउन थालिएका छन् ।

मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को प्राविधिक सहयोग तथा गैरसकारी संस्था हुसाडेक नेपाल धनकुटाको सहकार्यमा रिचार्ज पोखरी निर्माण गरिएको हो । जलाधार र मुलाधार क्षेत्रलाई रिचार्ज गर्न लक्षित गरी धनकुटा नगरपालिकाका १० वडामध्ये आठ र छथर गाउँपालिकाको छ मध्ये दुई वटा वडामा रिचार्ज पोखरी निर्माण भइरहेको पोखरी निर्माणको अगुवाइ गरिरहेको संस्था हुसाडेकका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो।

गत वर्षबाट त्यस्ता पोखरी निर्माण गरिएको थियो । माथिल्लो भागमा वर्षात्‌को पानी जम्मा गर्दा तल्लो भागमा पानीको स्रोत बढ्ने प्राकृतिक नियम अनुसार यो प्रयास गरिएको बताइएको छ । यस क्रममा हालसम्म तीन हजार साना ठूला पोखरी निर्माण गरिसकिएको भुजेलले बताउनुभयो।

आगामी पाँच वर्षमा सक्ने गरी सुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत हालसम्मको नतिजा सफल रहेको उहाँको भनाई छ । ‘नयाँ रिचार्ज पोखरी निर्माण तथा पुराना पोखरी पुनःनिर्माण कार्यक्रमले सुक्दै गएका पानीका मुहानमा पानीको वृद्धि भइहेको छ’, भुजेलले भन्नुभयो। ‘सोचे भन्दा अत्यधिक उपलब्धि हात परेपछि हामीलाई उत्साह थपिएको छ ।’

जीविकोपार्जनका लागि पर्यटन दिगो विकासका विज्ञ डा. अनु लामा लगायतले रिचार्ज पोखरी निर्माणको अनुगमन गर्दै आएका छन् । धनकुटा बजार र हिले बजारलाई ल्याइएको खानेपानी जलाधार तथा मुलाधार रहेको राना टोल क्षेत्रमा रिर्चाज पोखरी निर्माण गरिएको धनकुटा नगरपालिका-१ का वडाध्यक्ष वङ्द तामाङले जानकारी दिनुभयो।

सुरुमा भारतको सिक्किम पुगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानी मुहानहरु जीवित भएको देखाएपछि यो काम गर्न आफू उत्साहित भएको तामाङले बताउनुभयो। खानेपानी तथा मुलपानी संरक्षणका लागि तोकिएका सबै वडामा पनि रिचार्ज पोखरीको कार्यक्रमलाई निरन्तरता दिइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो।

सुकेपोखरीका कृष्णकुमार ठकुरीले मुहान सुक्नेक्रम बढेपछि चिन्तित भएकोमा अहिले आशा जगाएको बताउनुभयो । स्थानीय कृष्ण मल्लले पनि विगतको प्राकृतिक पोखरी सुकेपछि आफ्नो ठाउँको नाम सुकेपोखरी भएको बताउनुभयो । तर फेरि पोखरीमा पानी जमाउन थालिएपछि तल्लो भागमा रहेका पानीको स्रोत अत्यधिक बढेको उहाँको भनाई छ ।

चञ्चलादेवी, केशरी, बोजे लगायतका मुहानमा पानीको स्रोत बढेको छ । सुकेपोखरीमा गत असोजसम्म वर्षात्‌को अढाई लाख लिटर पानी जम्मा भएको थियो । त्यहि पानी रसाएपछि आसपासका मुहानको स्रोत बढेको जनाईएको छ । हिले बजार आसपासका ५ वटा डिप बोरिङमा समेत पानीको स्रोत बढेको धनकुटा नगरपालिका-१ का वडाध्यक्ष वङ्दा तामाङले बताउनुभयो। यो खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। हालसम्म ५ लाख रुपैयाँमा रिचार्ज पोखरी निर्माण भएको छ । अरु ८ लाख रुपैयाँ खर्च लाग्ने हुसाडेकका अध्यक्ष भुजेलले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार