सुर्खेत : ‘मर्मत र सुचारुपनामा सबैको ध्यान, खानेपानीको दिगो समाधान’ भन्ने नाराका साथ ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा खानेपानीमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा पहिलो पटक ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ भएको हो ।
सहायता केन्द्र शुभारम्भ कार्यक्रममा खानेपानीमन्त्री यादवले सेवा सहायता केन्द्र खानेपानी तथा सरसफाइ क्षेत्रमा नयाँ अभ्यास भएको र यसले निर्माण सम्पन्न भएका आयोजनाहरुको सेवा सञ्चालन तोकिएकै स्तरमा डिजाईन बर्षभन्दा बढी सम्म सेवा दिने र सरकारको लगानीको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । ‘निर्माण सम्पन्न भएको केही बर्षमा नै नयाँ योजना माग गर्नुपर्ने परिपाटीको अन्य हुनेछ भन्ने विस्वास लिएको छु’ उहाँले भन्नुभयो।
खानेपानीमन्त्री यादवले निर्माण सम्पन्न भएका ग्रामीण क्षेत्रका खानेपानी प्रणालीहरुको नियमित मर्मत संभार गरी सेवाको सुचारुपनाको सुनिश्चितताको लागि अहिलेसम्म संघ, प्रदेश तथा स्थानीय तहमा उपयुक्त संयन्त्र नरहेको बताउनुभयो । यही पक्षलाई दृष्टिगत गरी स्पष्ट व्यवस्था सहित खानेपानी सेवा सहायता केन्द्रको स्थापना गरिएको उहाको भनाइ छ । ‘राष्ट्रिय खानेपानी तथा स्वच्छता नीति बमोजिम नेपाल सरकारको यस नीतिलाई लागु गर्नका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको मातहतमा वा संघ तथा स्थानीय तहको समन्वयमा बन्ने संयन्त्र अन्तर्गत रहने गरी एक सेवा सहायता केन्द्रको स्थापना तथा सञ्चालन गर्न वाञ्छनिय ठानिएको हो’ उहाँले भन्नुभयो ।
सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले दगो विकासको लक्ष्य, ऐन र नीति अनुसारको प्रगति हासिल गर्ने जिम्मेवारी तीनै तहको भएको बताउनुभयो । उहाँले ग्रामीण खानेपानी सेवा सहायता केन्द्रले खानेपानी आयोजनाको दिगो सञ्चालनमा सहयोग पुर्याउने विशवास व्यक्त गर्नुभयो।
कार्यक्रममा महानिर्देशक श्रेष्ठले साना साना खानेपानी उपभोक्ता समितिलाई एक आपसमा गाभेर स्तरीय सेवा दिनुपर्ने बताउनुभयो । ‘खानेपानी संचालन व्यवस्थापनको लागि साना उपभोक्ता समितिहरु मर्जर गरेर ठुला उपभोक्ता समिति बनाउनुपर्छ’ उहाँले भन्नुभयो।