√ लहान नगरपालिका वडा नं. -२२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपेकी लुटनीदेवीले घरमा शौचालय नभए पनि नजिकैको बाँस घारीमा दिसापिसाब गर्थे । तर यसबापत जग्गा धनीको धान रोप्ने समयमा रोप्ने, गोड्ने र काट्ने सम्मको काममा सघाउनुपर्थ्यो ।
√ लहान नगरपालिका-११ पडारियाकी भलसरिया सदायाले खुला दिसामुक्त अभियानका बेला खाना पकाउने ठाउँसँगै शौचालय पनि बनाउनु भएको थियो । ठाउँ अभावले चुल्होसँगै शौचालय बनाउन बाध्य भएकी भलसरियाले केही समय पछि नै शौचालयको प्यान माटोले पुरिदिनुभयो । चुलोसँगै बनाएको शौचालयका कारण दुर्गन्ध फैलिएर खाना खान समेत नसक्ने र बालबालिकाले बान्ता गरेपछि शौचालय भत्काएको उहाँले सुनाउनुभयो । शौचालय भत्काए पछि भलसरियाको परिवारको दैनिकी पहिले झै खुला ठाउँमा दिसापिसाब गर्ने अवस्थामा फर्किएको थियो।
जहडी टोलकी लुटनीदेवी सदाया र पडारिया टोलकी भलसरिया सदाकै जस्तो अवस्था कैयौं घरको साझा समस्या थियो । किनकि शौचालय बनाउन चाहेर पनि उनीहरुसँग पर्याप्त जग्गा नहुँदा खुला ठाउँमै दिसापिसाब गर्न बाध्य थिए । जताततै गुचुमुच्च परेको बस्तीका कारण दिसापिसाब गर्न अर्काको खेतमा जानुपर्थ्यो । बाँसघारीमा जानुपर्थ्यो ।
पडारिया टोलीकी लक्ष्मी पासवान भन्नुहुन्छ ‘रातको समयमा पनि बाहिरै जानुपर्थ्यो, तराईको ठाउँमा सर्पको बिगबिगी हुन्थ्यो । अर्काको खेतमा जाँदा मानिसहरुले गाली गर्नुहुन्थ्यो । बाल बच्चा र गर्भवती महिलाहरु पनि सकी नसकी खुला ठाउँ खोज्दै जानुपर्थ्यो ।
जिन्दगीको आधा उमेर दिसापिसाब गर्न खुला ठाउँ खोजेरै बिताएका लुटनीदेवी, भलसरिया र लक्ष्मी जस्ता समुदायको लागि अब यो इतिहास बनेको छ । उनीहरुका छोराछोरी र नाती नातिनाले कुरा गर्नुपर्यो भने भन्नेछन् ‘हाम्रा हजुरबा, हजुर आमा र बुबा आमाको पालामा खुला ठाउँमै दिसापिसाब गर्नु हुन्थ्यो रे, खुला ठाउँमा दिसापिसाब गर्दा कति सामाजिक बेइज्जत हुन्थ्यो रे ।
शौचालय बनाउने जग्गा समेत नभएको समुदायका लागि लक्षित गरी सामुदायिक शौचालय बनाएर समुदायद्धारा नै सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसापिसाब गर्ने चलनको अन्त्य भएको हो । सिरहाको लहानमा वाटर एड नेपालले विकन परियोजना सुरु गरेपछि लहान नगरपालिका र सम्बन्धित वडा कार्यालयको साझेदारीमा सामुदायिक शौचालयको अवधारणा विकास भएको विकन परियोजना प्रमुख ई.कविन्द्र पुडासैनीले बताउनुभयो । लहान नगरपालिकामा हालसम्म ४ वटा सामुदायिक शौचालय निर्माण भएका छन् ।
सामुदायिक शौचालय के हो ?
सामुदायिक शौचालय नेपालको लागि नयाँ अवधारणा हो । आ आाफ्नो घरमा शौचालय बनाउन नसक्ने स्थिति भएका परिवारका लागि बस्ती र जग्गाको उपलब्धताका आधारमा सामूहिक रुपमा बनाईएको शौचालय नै सामुदायिक शौचालय हो ।
यस्तो शौचालय बस्तीको वरपर सबैका लागि पायक पर्ने, सबै घरपरिवारले प्रयोग गर्न पाउने र महिला, पुरुष, बृद्धबृद्धा, केटाकेटी, अपाङ्गता भएका जो सुकैले प्रयोग गर्न मिल्ने गरी बनाएको हुन्छ ।
विकन परियोजना प्रमुख पुडासैनी भन्नुहुन्छ ‘उहाँहरुले सजिलैसँग प्रयोग गर्न सकिने एउटा साझा ठाउँमा निर्माण भएको हुनुपर्छ। जहाँ सबैको कर्तव्य र हक अधिकार बराबर हुन्छन् र सरसफाइमा पाउने सुविधा पनि सबैका लागि समान हुन्छन् ।’
सामुदायिक शौचालय समुदायद्धारा निर्माण गरिने र सञ्चालन तथा व्यवस्थापनमा पनि समुदायकै मुख्य भूमिका हुने भएकाले यो समुदायको सम्पत्तिका रुपमा स्वीकार गरिएको हुन्छ । त्यसैले यसको रेखदेख, संरक्षण र सम्बर्द्वनमा पनि समुदायले ध्यान दिएको हुन्छ।
सामुदायिक शौचालयले सरसफाइमा समान पहुँच
सामुदायिक शौचालय बनेपछि सरसफाइमा समान पहुँच स्थापित भएको पडारिया खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन समितिकी अध्यक्ष सोमनी देवी पासमान भन्नुहुन्छ बताउनुभयो । उहाँका अनुसार पडरिया टोलको शौचालयमा १० वटा कोठा छन् । त्यसमा हरेक तीन घरका लागि एउटा कोठा भाग लगाईको छ । अध्यक्ष पासमान भन्नुहुन्छ ‘हरेक कोठामा ताला लगाएको हुन्छ र शौचालय प्रयोग गर्ने सम्बन्धित घरपरिवारलाई एक/एक वटा चाबी दिईएको छ ।’
अध्यक्ष पासमानका अनुसार तोकिएको घरका बाहेक अन्य व्यक्तिले उक्त शौचालय प्रयोग गर्न पाउँदैनन् । ‘सबै कोठामा नम्बर लेखेका छौं, १ देखि लहरै १० सम्म, १ नम्बरको कोठा तीन घरलाई छुट्याईएको छ, त्यसरी नै सबै कोठा ३/३ घरलाई भाग लगाई दिएका छौं।’
आफ्नो शौचालय सफा गर्ने दायित्व सम्बन्धित तीन घरको समूहकै हुन्छ। उनीहरु बीच शौचालय सफा राख्न प्रतिस्पर्धा जस्तै चल्छ।
शौचालयले दिलायो सम्मानित जीवन
‘शौचालय बनाउँ भने जग्गा थिएन, पुलिस आएर जहिले पनि शौचालय बनाओ भन्दै थर्काउथ्यो’ विगतमा शौचालय नहुँदाको समस्या सम्झिँदै पडरिया टोलकी जिश्नेदेवी पासवानले भन्नुभयो।
खुला ठाउँमा दिसापिसाब गर्दा जमिनदारले गाली गरेर बेइज्जती सहनुपरेका दिनहरु सम्झिँदा पनि नर्ककै जिन्दगी बाँचेछु जस्तो लाग्छ रे उहाँलाई । ‘अहिले त साँझ बिहान जत्ति बेला गए पनि हुन्छ, राती पनि दिनमा जस्तै उज्यालो छ, बाटोसम्मै झलमल्ल बत्ती बल्छ’ उहाँले खुसी बाँड्नु भयो।
गाउँकै पछाडि पट्टि ठूलो पोखरी छ । पोखरी देखाउँदै उहाँले भन्नुभयो ‘शौचालय नहुँदा त्यो पोखरी वरपर दिसैदिसा हुन्थ्यो । त्यही भैंसी आहाल बस्थ्यो, त्यही लुगा धुनुपर्ने, भाँडाकुँडा माझ्नुपर्ने बाध्यता पनि थियो । कहिले त गाउँभरिका मान्छे बिरामीले थला पर्थे ।’
पडारियाको बदलिएको अवस्था देखेपछि पुराना ती दिनहरु पनि थिए र ? भने जस्तो लाग्छ अहिले । पोखरीमा पनि कञ्चन पानी छचल्किरहेको हुन्छ ।
‘पोखरीको डिलमा दिसापिसाब गर्ने केटाकेटीहरु अहिले सामुदायिक शौचालयमै जान्छन् । केटाकेटी पनि पहिले जस्तो खासै बिरामी पर्दैनन्’ सामुदायिक शौचालयकी मीना पासवानले थप्नुभयो।
बुबा आमाले जे गर्यो त्यही बालबालिकाले सिक्ने भएकाले आफूहरुले अघिल्लो पुस्ताबाट खुला ठाउँमा दिसापिसाब गर्न सिकेको लहान नगरपालिका ५ की मन्जुदेवी सदायाले बताउनुभयो । तर सामुदायिक शौचालय बनेपछि खुला ठाउँमा दिसापिसाब गर्दा वेहोर्नुपर्ने सामाजिक बेइज्जती खेप्नु नपरेको र सुरक्षित महसुस भएको सामुदायिक शौचालय प्रयोगकर्ता बताउँछन् ।
बुबा आमाले शौचालयमा दिसापिसाब गर्न थालेपछि अब बालबालिकाले पनि शौचालयमै दिसा पिसाब गर्न थालेको दलित जनकल्याण युवा क्लव बिकन परियोजनाका सामाजिक परिचालक एलिना हिङमाङले बताउनुभयो । ‘सामुदायिक शौचालयले गर्दा तत्कालको फाइदा त छँदैछ, नयाँ पुस्ताका लागि व्यवहार परिवर्तनको दरिलो आधार पनि तयार भएको छ, यो सबैभन्दा महत्वपूर्ण पक्ष हो’ सामाजिक परिचालक हिङमाङले भन्नुभयो ।
दिगोपनाका लागि यस्तो छ योजना
सामुदायिक शौचालय प्रयोग गरे बापत सरसफाइ शुल्क तोकिएको छ । प्राय जसो सबै सामुदायिक शौचालयले समान मासिक एक सय रुपैयाँ सरसफाइ शुल्क तोकेका छन् ।
पडारिया खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन समितिकी सचिव मीना पासमानका अनुसार सरसफाइ शुल्कबाट संकलित रकम विद्युत महसुल तिर्ने, सेप्टिक ट्याङ्क खाली गर्ने, बिजुलीको चिम फेर्ने, शौचालयको सरसफाइ सामग्रीको प्रबन्ध मिलाउने, सामान्य मर्मत सम्भार गर्ने लगायत कार्यमा खर्च हुँदै आएको छ।
विकन परियोजनाका सामाजिक परिचालक एलिना हिङमाङ समुदायिक शौचालय समुदायद्धारा सञ्चालन हुने भएकाले दिगो रुपमा सञ्चालन हुनेमा विश्वस्त हुनुहुन्छ ।
‘शौचालय निर्माण पूर्व नै दिगोपनाको सम्भावना अध्ययन गरिएको थियो, हिङमाङ भन्नुहुन्छ ‘शौचालय सञ्चलनका लागि महिनामा कति खर्च लाग्छ भनेर समुदायसँगै बसेर छलफल गर्दा प्रति महिना प्रति परिवार सय रुपैयाँ जत्ति भयो भने सञ्चालन हुन्छ भन्ने आधारमा नै सफाइ शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।
यो शौचालय समुदायको आवश्यकता भएकाले समुदायले नै संरक्षण गर्ने जहडी टोलमा रहेको सामुदायिक शौचालयका अध्यक्ष लुटनीदेवी सदायाले बताउनुभयो । ‘रातीसम्म पनि मानिसहरु आउजाउ हुने भएकाले कुनै पनि सामान चोरी हुँदैन, सधैं सुरक्षित हुन्छन्’ उहाँले भन्नुभयो ।
यस्तै शौचालयको मर्मत सम्भारमा वडा कार्यालयले पनि प्रतिबद्धता जनाएको छ । वडाले शौचालयको सेप्टिक ट्याङ्क भरिए पछि दिसाजन्य लेदो निकाल्ने लगायत कार्यमा सहयोग गर्दै आएको लहान नगरपालिकाको वडा नं. २२ का अध्यक्ष श्याम कुमार अधिकारीले बताउनुभयो ।
जग्गा खोज्दै वडा, योजना बनाउँदै नगरपालिका
सामुदायिक शौचालयको महत्व बुझेपछि नगरपालिकाको सिङ्गो संयन्त्रले प्राथमिकता दिएको छ । लहान नगरपालिकाको वडा कार्यालयहरुले सामुदायिक शौचालय निर्माण गर्नुपर्ने बस्ती पहिचान गरी त्यसका लागि जग्गा प्राप्तिको काम गरिरहेको छ ।
वडा भित्र विपन्न समुदायको बसोबास रहेको ठाउँमा सामुदायिक शौचालय अति प्रभावकारी देखिएको र आगामी बर्षहरुमा सामुदायिक शौचालय निर्माणका लागि जग्गा खोजिरहेको वडा नं. २२ का अध्यक्ष अधिकारीले बताउनुभयो । ‘यसपाली जहदी टोलमा बनायौं, अब अर्को बर्ष अर्को टोलमा बनाउने सोच बनाएका छौं । यसका लागि विपन्न र दलित वर्गको लागि रकम पनि छ्टयाएका छौं’ उहाँले भन्नुभयो ।
कुनै टोलमा दुई चार घरमा मात्र समस्या भएको ठाउँमा रिङवाला साझा शौचालय बनाउने सोच पनि रहेको उहाँले बताउनुभयो । ‘वडाभित्र खुला दिसाको अन्त्य गर्ने हो भने सबैले शौचालयमै दिसापिसाब गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि वडा कार्यालयले जग्गा खोजीनीति गरिरहेका छौं’ उहाँले भन्नुभयो।
वडाध्यक्ष अधिकारीका अनुसार मुसहर र पासवान, मल्लाह लगायत जातिसँग जग्गा जमिनको अभाव छ । उनीहरुसँग सानो छाप्रो अट्ने भन्दा दायाँ बायाँ कुनै पनि संरचना बनाउने ठाउँ नै छैन । जनगणना २०७८ को नतिजा अनुसार लहान नगरपालिका भित्र २० हजार ५ सय ७७ परिवारको १ लाख २ हजार ३१ जनसंख्याको बसोबास छ । ती मध्ये ८.६ प्रतिशत मुसहर समुदाय र ३.७ प्रतिशत दुसाध/पासवान जातिको बसोबास छ ।
लहान नगरपालिका भित्र निर्माण भएका सामुदायिक शौचालयले विपन्न वर्गलाई सुरक्षित सरसफाइमा पहुँच पुर्याएको नगरपालिकाको ठहर छ । सामुदायिक शौचालय बिहे, भोजभत्तेर, ब्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक काममा समेत धेरै उपयोगी भएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो ।
नगर प्रमुख चौधरीले चालु आर्थिक बर्षमा २ वटा सामुदायिक शौचालय बनाउन बजेट विनियोजन गरिएको र आगामी दिनमा यसको संख्या आवश्यकताको आधारमा थप्दै लैजाने बताउनुभयो ।
‘मुख्यत मुसहर समुदायलाई लक्षित गरेर सामुदायिक शौचालयहरु बनाईरहेका छौं । किनकि प्रायः मुसहर समुदायसँग शौचालय बनाउने जग्गा समेत नभएको स्थिति छ । यसअघि बनाएका चारवटा सामुदायिक शौचालयले राम्रो परिणाम दियो । यसमा हामी सफल भयौं, यसैबाट पाठ सिकेर यसलाई विस्तार गर्दैछौं’ उहाँले भन्नुभयो ।
सामुदायिक शौचालयले गर्दा गाउँ नै सफा र स्वच्छ देखिएको उहाँको भनाइ छ । ‘शौचालय नहुँदा जसरी खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता थियो, त्यो नियन्त्रण भएको छ । सामुदायिक शौचालयका यस्तै फाइदाबारे समुदायलाई पनि सचेतना जगाउने काम गर्छौ’ उहाँले भन्नुभयो।
घरमा शौचालय नभएका समुदायले खुला ठाउँमा शौच गर्दा मानव स्वास्थ्यमा पर्न सक्ने असर न्यूनीकरण गर्न र सबैलाई सरसफाइको पहुँच पुर्याउन लहान नगरपालिका, वाटर एड नेपाल, दलित जनकल्याण युवा क्लव बिकन र विकन परियोजना सफल भएको छ ।
सामुदायिक शौचालयको अवधारणाले विपन्न वर्ग, बृद्धबृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिसम्म सरसफाइको पहुँच पुगेको छ । शौचालय अभावमा जथाभावी दिसापिसाब गर्दा हुने सामाजिक भय र असुरक्षा हटेको छ भने खुला दिसाका कारण उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण भएको छ ।
सामुदायिक शौचालयकै कारण सामाजिक प्रतिष्ठा र सभ्य नागरिकको स्वपहिचानले गौरव बढाएको छ । सीमित जग्गा र गरिबीका कारण शौचालय बनाउन नसकेका समुदायमा बरदान साबित भएका यस्ता शौचालय देशव्यापी प्रबर्धन गर्न जरुरी छ ।