बजेट अभावले थला पर्दै खानेपानी तथा सरसफाइ योजना

  वास खबर सम्बाददाता  188 पटक हेरिएको

घोराही : दाङको बङ्गलाचुली गाउँपालिका–७ र ८ का स्थानीयलाई खानेपानी सुविधा पुर्‍याउने गरी सुरु भएको हाँसीपुर खानेपानी अझै पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको योजना खानेपानी ट्याङ्की, इन्टेकदेखि अन्य संरचना निर्माण भए पनि बजेट अभाव हुँदा उपभोक्ताको घरसम्म पानी पुर्‍याउने पाइपलाइन विस्तार गर्ने काम अझै पूरा हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्राविधिक गजेन्द्र बहकरीले बताउनुभयो ।

बजेटको कमीका कारण सम्पन्न हुनुपर्ने योजना अझै अधुरै रहेको भन्दै प्राविधिक बहकरीले भन्नुभयो, “खानेपानी योजनाको ट्याङ्की, इन्टेक बन्यो तर पाइपलाइनको काम भएको छैन । केही ठाउँमा मुख्य पाइपलाइन पनि भएको छ तर विद्युतीकरण भएको छैन । करोड लाग्ने अनुमान गरिएका योजनामा सातरआठ लाख विनियोजन हुन्छ, त्यसले काम गर्नै पुग्दैन ।”

यसै गरी घोराही उपमहानगरपालिका–१९ को बोल्दी–चरिबाङ–सैघा खानेपानी आयोजना पनि विगत चार/पाँच वर्षदेखि निर्माणाधीन अवस्थामै छ । खानेपानीका लागि ट्याङ्की निर्माण गर्नेदेखि उपभोक्ताको घरसम्म पानी पुर्‍याउन पाइप विस्तारको काम भइसके पनि क्रमागत योजनामा १ नम्बर स्किममा विद्युतीकरण गर्नका लागि बजेट नहुँदा सञ्चालनमा समस्या भएको छ भने स्किम नं. २ मा उपभोक्ताको घरसम्म पुग्ने पाइपलाइन विस्तार हुन बाँकी छ ।

अर्को अधुरो योजनाका रूपमा रहेको छ घोराही उपमहानगरपालिका–७ स्थित बेसाही खानेपानी योजना । चार वर्षअघि सुरु भएको योजनामा ५६ लाखको काम भयो तर आठ लाख बजेट आयो । अरू रकम नआउँदा काम गरेको भुक्तानी हुन समेत नसकेको प्राविधिक बहकरीले बताउनुभयो । खानेपानी योजना अनुसार हालसम डिप बोरिङ खन्नेदेखि ओभरहेड ट्याङ्की निर्माण गर्ने काम भए पनि बाँकी काम हुन नसकेको उहाँले बताउनुभयो ।

यी जिल्लामा निर्माणाधीन अवस्थामा रहेका प्रतिनिधिमूलक खानेपानी योजना हुन् । खानेपानी योजना बजेट अभावका कारण समस्या झेल्दै आएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङ अन्तर्गत चालु आवमा २६५ वटा आयोजनाका लागि २३ करोड ७४ लाख ८५ हजार रुपियाँ विनियोजन भए पनि अधिकांश योजनामा बजेट अभाव देखिएको छ ।

बजेट परेका आयोजना मध्ये ७७ वटा आयोजना कम बजेटका कारण काम गर्नै नसकिने अवस्थामा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेशको सघन खानेपानी विकास कार्यक्रम अन्तर्गत रहेका १९४ आयोजनामा १८ करोड १७ लाख ९४ हजार रुपियाँ रहेको छ । सोही शीर्षकका ७७ वटा आयोजनामा एक हजारका दरले र दुई वटामा २५ हजार रुपियाँका दरले बजेट विनियोजन भएको र उक्त बजेटबाट काम गर्नै सक्ने अवस्था नरहेको प्रमुख न्यौपानेले बताउनु भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।

तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत रहेका ४९ वटा आयोजनामा तीन करोड ३१ लाख छ हजार, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अन्तर्गतका नौ आयोजनामा ९३ लाख ८८ हजार रुपियाँ बजेट रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार