गाउँपालिकाले ५० परिवारलाई बनाईदियो सुरक्षित शौचालय

  वास खबर सम्बाददाता  172 पटक हेरिएको

पर्वत : पर्वत जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको झण्डै डेढ दशक पुगिसक्दा पनि शौचालय सुविधाबाट वञ्चित पैंयूँका अति विपन्न परिवारले बल्ल सुरक्षित शौचालय प्रयोग गर्न पाएका छन् । शौचालयको अभावमा खुल्ला दिसापिसाब गर्न बाध्य पैंयू गाउँपलिका–५ चिसापानीका ५० परिवारलाई वडा कार्यालयले सुरक्षित शौचालय निर्माण गरिदिएको हो ।

वडाभित्रका शौचालय भएरनभएका घरधुरी सर्भेक्षणको क्रममा ५० वटा परिवारले आर्थिक अभावकै कारण शौचालय निर्माण गर्न नसकेको भेटिएपछि पैंयू गाउँपालिकाको सहयोगमा वडा कार्यालयले शौचालय निर्माण गरिदिएको हो । हरेक शौचालयका लागि श्रमदान बाहेक ३० हजार रुपैयाँ अनुदान उपलब्ध गराएर शौचालय निर्माण गरिएको वडाध्यक्ष निर्भिक नारायण भुर्तेलले जानकारी दिनुभयो।

पैयूँ गाउँपालिका–५ को दिगो विकास तर्फको यात्रा सुरक्षित शौचालय र स्वच्छता सुविधा भन्ने मूल नाराका साथ अति विपन्न परिवारको सूचीमा रहेका परिवारलाई व्यवस्थित शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष भुर्तेलले जानकारी दिनुभयो।

शौचालय बनाउन नसक्दा कतिपयले खुल्ला दिसापिसाब गर्दै आएका थिए भने कतिपयले सामान्य खाडल खनेर कपडा वा बोराले घेरावार लगाएर शौच गर्दै आएका थिए । जसका कारण उक्त बस्तीमा विभिन्न रोगब्याधि फैलिने, गाउँ नै फोहोर र दुर्गन्धित हुने जस्ता समस्या देखिएका थिए । शौचालय बनाएर हस्तान्तरण गरेपछि स्थानीयको खुल्ला दिसापिसाब गर्ने वा फोहोरमैला गर्ने आनीबानी समेत परिवर्तन भएको अध्यक्ष भुर्तेलले बताउनुभयो।

दिगो विकासको लक्ष्य नम्बर ६ मा उल्लेख गरिएको सबैका लागि सुरक्षित पानी र सरसफाइको पहुँच पुर्‍याउन शौचालय निर्माण गरिदिएको हो । ‘सुरक्षित शौचालय र स्वच्छता सुविधाको महत्त्व बुझेर हामीले हाम्रो वडामा यस सम्बन्धी विशेष पहल गरिरहेका हौँ’ अध्यक्ष भुर्तेलले भन्नुभयो । उहाँका अनुसार समुदायका अति विपन्न र शौचालय नभएका घरपरिवारमा सुरक्षित शौचालय निर्माण गरेपछि गाउँको मुहार नै फेरिएको छ ।

शौचालय निर्माणका लागि पैँयू गाउँपालिकाको सहयोगमा १५ लाख रुपैयाँ बजेट खर्च गरिएको छ। घर घरमा शौचालय निर्माण भएपछि स्थानीय दलित तथा विपन्न समुदायका परिवार हर्षित बनेका छन् । शौचालयको अभावले स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बेला खुला शौचलाई अन्त्य गरेको मात्र होइन जनस्वास्थ्यमा आउन सक्ने जोखिमको समेत अन्त्य भएको छ।

शौचालय निर्माणले समुदायमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय उमाकान्त भुर्तेलले बताउनुभयो। शौचालय निर्माण सँगै स्वच्छ र सफा र सुन्दर बनेको उहाँको भनाइ छ । स्थानीयको स्वास्थ्य सुरक्षामा सुधार, सामाजिक र सांस्कृतिक सम्मानको प्रवर्द्धन, समुदायको सशक्तिकरण, पर्यावरणीय संरक्षणमा समेत टेवा पुगेको वडाध्यक्ष भुर्तेलले बताउनुभयो।

अझै पनि असुरक्षित शौचालय प्रयोग गरिरहेका परिवार भेटिएमा वडा कार्यालयले शौचालय पुनर्निर्माण गरिदिने उहाँको भनाइ छ । शौचालयसँगै हरेक घरमा एक घर एक धारा खानेपानी उपलव्ध गराउनका लागि पनि विशेष योजना सञ्चालन गरिएको अध्यक्ष भुर्तेलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार