सबै खानेपानी आयोजनामा खानेपानी सुरक्षा लागु गरौं : आयोजना प्रमुख झा

  वास खबर सम्बाददाता  111 पटक हेरिएको


बुटवल : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका आयोजना प्रमुख देवेन्द्र कुमार झाले सबै खानेपानी आयोजनामा खानेपानी सुरक्षा लागु गर्न आग्रह गर्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २० औं साधारण सभामा आयोजना प्रमुख झाले खानेपानी सुरक्षा योजना व्यवस्थापन सँग सम्बन्धित भएकोले यस कार्यमा खर्च समेत नलाग्ने बताउनुभयो ।

‘मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा खानेपानी सुरक्षा योजना राम्रो सँग लागु भएको छ । म अन्य खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई पनि खानेपानी सुरक्षा योजना कार्यान्वयन गर्न अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।


खानेपानी सुरक्षा योजनाले खानेपानीको सुरक्षा कसरी गर्ने ? खानेपानीलाई कसरी दिगोपना दिने र सुरक्षित पानी वितरणका लागि के गर्ने भन्ने उपाय प्रदान गर्ने भएकाले खानेपानी सुरक्षा योजना लागु गर्नैपर्ने उहाँको जोड थियो । ८० प्रतिशत भन्दा बढी रोगहरु दुषित पानीका कारण लाग्ने भएकाले  खानेपानी उपभोक्ता संस्थाले पनि सुरक्षित पानी मात्र वितरण गर्नुपर्ने र उपभोक्ताले पनि घरायसी शुद्धिकरणका उपायहरु अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

पानी जीवन र सरसफाइ जीवन पद्धति भएकाले खानेपानी र सरसफाइको अन्योन्याश्रित सम्बन्ध भएको उल्लेख गर्दै आयोजना प्रमुख झाले मुर्गिया खानेपानी उपभोक्ता संस्थाले ढल प्रशोधनको समेत काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । ‘मुर्गिया खानेपानीले सरसफाइमा आएको नयाँ अवधारणा ‘सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन’ लाई अंगीकार गरिरहेको पाएको छु’ उहाँले भन्नुभयो।

‘मुर्गिया खानेपानीले सरसफाइमा गरिरहेको काम थ्री आर (RRR) प्रिन्सिपलमा आधारित छ’ । उहाँले भन्नुभयो ‘R = Resources (Human Waste), R= Recycle, R= Reuse अर्थात मानव मलमूत्रलाई स्रोतको रुपमा प्रयोग गरी यसको प्रशोधनपछि पुनः उपयोग गरिएको छ, हामीले गर्नुपर्ने नै यही हो ।’ मानव मलमूत्रबाट मल उत्पादन गरी विक्री गरिरहेको विभिन्न देशको उदाहरण प्रस्तुत गर्दै उहाँले मुर्गिया खानेपानी समेत यस कार्यमा सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार