दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनको थालनी, स्तरीय सेप्टिक ट्याङ्कमा लगानी

  पी.टी.लोप्चन  235 पटक हेरिएको

शौचालयमा दिसा पिसाब गरेपछि फ्लस गरेको फोहोरपानी कहाँ जान्छ होला ? यसबारेमा कहिल्यै सोच्नु भएको छ ? सोच्नु भएको छैन भने अब एकै छिन सोचौंन । हो, तपाई हामीले शौचालय प्रयोग गरेपछि फ्लस गरेको फोहोरपानी कि शौचालयको सेप्टिक ट्याङ्क वा खाल्डोमा जम्मा हुन्छ कि त ढल प्रणालीबाट सीधै खोलानालामा पुग्छ ।

नेपालमा ११ प्रतिशत घरपरिवारको शौचालय मात्र ढल प्रणालीमा जडान भएको तथ्याङ्क छ भने ८९ प्रतिशत जनसंख्याले प्रयोग गर्ने शौचालयको दिसापिसाब सेप्टिक ट्याङ्क वा खाल्डोमै जम्मा हुने गरेको छ ।

अब फेरि सोचौं, बर्षौ बर्ष फ्लस गर्दा पनि सेप्टिक ट्याङ्क वा शौचालयको खाल्डो किन नभरिएको होला ? उत्तर सहज छ, शौचालयको सेप्टिक ट्याङ्कीको भुँईको सतह खुल्लै राख्नु भएको छ । या त सेप्टिक ट्याङ्कको भित्रपट्टि चारैतिर प्लाष्टर गरेपनि भुँइको सतहमा सोलिङ मात्र गर्नु भएको छ । जसले गर्दा फोहोरपानी जमिनले सोसेर बषौ बर्षसम्म पनि सेप्टिक ट्याङ्क नभरिएको हो ।

विज्ञहरु भन्छन् ‘यस्तो खालको संरचनालाई सेप्टिक ट्याङ्क भन्नै मिल्दैन । यो त होल्डिङ ट्याङ्क मात्र हो । अर्थात केही समयसम्म मानव मलमूत्रलाई अड्याउने खाल्डो मात्र हो । यस्तो होल्डिङ ट्याङ्कले जनस्वास्थ्यमा खतरा निम्त्याउने खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक ई.नारायण प्रसाद आचार्य बताउनुहुन्छ।


सेप्टिक ट्याङ्क भनेर बनाईएका अधिकांश संरचना यस्तै ‘होल्डिङ ट्याङ्क’ मात्र भएको अध्ययनले समेत देखाएको छ ।

२०७६ साल फागुनमा ललितपुरको महालक्ष्मी नगरपालिकामा गरिएको एक अध्ययनले सेप्टिक ट्याङ्क भनेर बनाएका अधिकांश संरचना होल्डिङ ट्याङ्क मात्र भएको भेटिएको थियो । ढल प्रणालीमा नजोडिएका वडा नं. ६ देखि १० सम्मका ४ हजार ९ सय ९१ घरको शौचालयको फिल्ड सुपरिवेक्षण गर्दा ९ सय ९ घरमा मात्र सेप्टिक ट्याङ्क भएको प्रमाणित भएको थियो ।

होल्डिङ ट्याङ्कले फोहोरपानीलाई केही समयसम्म धाने पनि जमिनको सतहले सोसेर खानेपानी प्रणालीमा मिसिने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । एकीकृत विकास समाज (आईडिएस) नेपालले २०७९ मा बर्दियाको गुलरिया नगरपालिकामा गरेको अध्ययनले दिसाजन्य लेदोको असुरक्षित भण्डारणका कारण खानेपानीको स्रोतमा खतरा रहेको औल्याईएको थियो ।

गुलरिया नगरपालिकाको १२ वडामध्ये १० वटा वडाका २२ संकटासन्न समुदायहरुमा गरिएको उक्त अध्ययनले सुक्खा याममा ५१ प्रतिशत नमुना उच्च जोखिममा रहेको र बर्षायाममा इकोलीको मात्रा ९१.३ mpn/100ml भन्दा धेरै भेटिएको अनुसन्धाता प्रभा पोख्रेलले बताउनुभयो। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार पिउने पानीमा इकोली शून्य हुनुपर्छ ।

उल्लेखित तथ्याङ्कहरुले स्तरीय सेप्टिक ट्याङक नबनाउँदा भूमिगत पानी दुषित भैरहेको र जनस्वास्थ्यमा खतरामा निम्त्याई रहेको प्रष्ट हुन्छ ।

मानव मलमूत्रको असुरक्षित भण्डारणका कारण खानेपानीको स्रोतमा पर्ने असरलाई ध्यानमा राखेरै सर्वोच्च अदालतले २०८० साल पुस ९ गते काठमाडौँ उपत्यकामा सेप्टिक ट्याङ्क र सोकपिट बनाएर मात्रै घरको नक्सा पास गर्न आदेश दिएको थियो ।

अधिवक्ता प्रकाशमणि शर्मा, जनहित संरक्षण मञ्च लगायतले दायर गरेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले सेप्टिक ट्याङ्की र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै बनाउनु पर्ने कामलाई घरको नक्सा पास सँग जोड्न सरकारको नाममा परमादेश जारी गरेको थियो । आदेशमा भनिएको थियो ‘घर निर्माण र पश्चात पनि बनेका संरचनाहरुले मापदण्ड पालना गरेका छन् कि छैनन् भन्ने विषयमा प्रभावकारी अनुगमन गर्ने, गराउने ।’

स्तरीय सेप्टिक ट्याङ्क भनेको के हो ?

मानव मलमूत्र सुरक्षित रुपमा भण्डारण हुने जमिनमा नरसाउने वा नचुहिने खालको शोक पिट सहितकोे संरचना नै स्तरीय सेप्टिक ट्याङक हो । यद्यपि सेप्टिक ट्याङ्क यस्तै हुनुपर्छ भनेर संघीय सरकार वा प्रदेश सरकारले अहिले सम्म कुनै मापदण्ड बनाएको भेटिदैन । बरु देशका कतिपय स्थानीय तहरुले परिवार संख्याको आधारमा फरक फरक नापमा आधारित मापदण्ड बनाएको छ ।


२०७४ साल देखि नै सेप्टिक ट्याङ्क निर्माणलाई नक्सा पास गर्दा नै अनिवार्य गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाले जारी गरेको मानव मलमूत्रीय फोहोर व्यबस्थापन विनियम २०७६ मा स्तरीय सेप्टिक ट्याङ्क हुनाका लागि सेप्टिक ट्याङकी पानी प्रतिरोधी हुनुपर्ने, सेप्टिक ट्याङ्की न्यूनतम २ खण्डे र न्यूनतम १.४ मिटर गहिरो हुनुपर्ने भनेको छ । यस्तै सेप्टिक ट्याङ्कको साथमा सोकपिट हुनुपर्ने र सेप्टिक ट्याङ्कको आकार आवश्यकता अनुरुप डिजाइन गरिएको हुनुपर्ने जनाएको छ ।


सुरक्षित सरसफाइमा सेप्टिक ट्याङ्कको महत्वलाई बुझेर नै यस सम्बन्धी बिनियम जारी गरी कार्यान्वयन गरिरहेको महालक्ष्मी नगरपालिकाको वातावरण तथा सरसफाइ शाखाका प्रमुख ई.रबिन्द्र उप्रेतीले बताउनुभयो ।

‘महालक्ष्मी नगरपालिकाको योजना तथा भवन निर्माण मापदण्डमा सेप्टिक ट्याङ्कको बिषयलाई समेत समावेश गरी नक्सा पास सँग सम्बन्धित संरचनाको रुपमा राखिएको छ भने घर निर्माण सम्पन्नताको प्रमाण पत्र लिन फिल्ड सुपरिवेक्षण गर्दा नक्सामा उल्लेख भए अनुसारकै सेप्टिक ट्याङ्क निर्माण भएको हुनुपर्ने मापदण्ड बनाएको छ’ उहाँले भन्नुभयो ।

सुरक्षित सरसफाइका लागि स्तरीय सेप्टिक ट्याङक पहिलो शर्त

स्तरीय सेप्टिक ट्याङ्क बिना सुरक्षित सरसफाइको परिकल्पना पनि गर्न नसकिने वास विज्ञहरु बताउँछन् । त्यसैले नयाँ बन्ने संरचनामा स्तरीय सेप्टिक ट्याङ्क बनाउनुपर्ने र पुराना संरचनाका सेप्टिक ट्याङ्क समेत सुधार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

‘सेप्टिक ट्यांकी चाँडो वा कहिल्यै नभरियोस् भनेर सेप्टिक ट्यांकीको गारो र भुँइको सतहबाट पानी रसाउने खालको बनाउने चलन छ, यो बुझाई र अभ्यास एकदम गलत हो’ विश्व बैंकको सहयोगमा सञ्चालित खानेपानी सुशासन तथा पूर्वाधार प्रबर्द्वन कार्यक्रमका इन्जिनियर निकिता राई भन्नुहुन्छ ‘सेप्टिक ट्यांकीले प्रशोधन गर्न नसकेर, सेप्टिक ट्यांकीबाट निस्किने पानीले उचित निकास नपाएर वा वर्षातको पानी वा भूमिगत पानी छिरेर सेप्टिक ट्यांकी चाँडो भरिन्छ ।’

सेप्टिक ट्यांकी छिटो भरिने समस्या हटाउनका लागि सहि तरिकाले डिजाइन गरी पानी नछिर्ने र सोकपिट सहितको सेप्टिक ट्यांकी निर्माण गर्न उहाँको सुझाव छ ।

इन्जिनियर राईका अनुसार शौचालयमा फ्लस गरेको दिसा सहितको फोहरपानी इनलेटबाट सेप्टिक ट्यांकभित्र छिरेपछि त्यहाँ भण्डारण हुन्छ । यस क्रममा फोहरपानीसँगै मिसिएर आएका वजनदार बस्तुहरु सेप्टिक ट्याङ्कको फेदमा थिग्रिन्छ र हलुका वस्तु पानीको सतह माथि तैरिरहन्छ । थिग्रिएको, तैरिएको र फोहोरपानीमा मिश्रण भएका कुहिने खालका वस्तुहरु जैविक प्रक्रियाबाट कुहिएर लेदो र मिथेन ग्यासमा परिणत हुन्छ । दिसाजन्य लेदो जत्ति सेप्टिक ट्याङ्कको फेदमा बस्छ भने ग्यास जत्ति ग्यास पाइपबाट उडेर बाहिर जान्छ । प्रशोधित फोहोरपानी जत्ति सेप्टिक ट्यांकीको आउटलेटबाट सोकपिटमा जान्छ । सोकपिटले पानीमा भएको जैविक प्रदुषणलाई केही हदसम्म प्रशोधन गर्ने काम समेत गर्दछ ।

अबको बाटो

सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्ने हो भने यसको भण्डारण स्थल (सेप्टिक ट्याङ्क) नै सुरक्षित बनाउनुपर्नेमा दुईमत नहोला । स्तरीय सेप्टिक ट्याङ्क बनाउँदा प्रशोधित पानीको मात्रा शोकपिट हुँदै जमिनले सोस्ने भएकाले छिटो छिटो भरिने समस्याको अन्त्य हुन्छ । जसले घरमूलीलाई नै फाइदा हुन्छ ।

अर्को तिर सेप्टिक ट्याङ्क नचुहिने/नरसाउने भए पछि भूमिगत पानीको स्रोत पनि प्रदुषण नहुने पक्का छ । निश्चित समयको अन्तरालमा सेप्टिक ट्याङ्क खाली गरी प्रशोधन गरेर मात्र विसर्जन गर्ने हो भने असुरक्षित सरसफाइका कारण सिर्जना भएका स्वास्थ्यजन्य समस्या पनि निर्मुल हुनेछ ।

देशका केही नगरपालिकाहरुले यसको अभ्यास सुरुवात गरिसकेका छन् । सुरुमा लागु गर्न केही समस्या भए पनि प्रणालीमा आईसकेपछि नियमित हुन थालेको ती नगरपालिकाको अनुभव छ । दिसाजन्य लेदोको नियमन गर्न विनियम जारी गर्ने र कार्यान्वयन पक्ष मजबुत बनाउने हो भने कुनै समस्या नहुने खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर प्रभात श्रेष्ठ बताउनुहुन्छ ।


‘नगरपालिकाको कानुन बनाएर यसको पूर्ण कार्यान्वयन गर्न स्थानीय सरकारले अठोट लिने हो भने सम्भव छ’ श्रेष्ठ भन्नुहुन्छ ‘सम्पूर्ण नगरपालिकाले गर्नुपर्ने पनि यही हो, यसलाई ढिलाई गर्नुहुन्न।’ खुला दिसामुक्त अभियान सञ्चालन गर्दा घर घरमा शौचालय निर्माणको सुनिश्चितता भए झैं अब घर घरमा स्तरीय सेप्टिक ट्याङ्क निर्माणको अभियान सञ्चालन हुनुपर्ने उहाँको सुझाव छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार