खानेपानी तथा सरसफाइ शिखर सम्मेलनको १४ बुँदे घोषणा पत्रमा के छ ?

  वास खबर  107 पटक हेरिएको


काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनले काठमाण्डौ घोषणा पत्र २०८१ जारी गरेको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आयोजनामा केही दिन अघि काठमाडौमा सम्पन्न शिखर सम्मेलनले खानेपानी र सरसफाइको विषयलाई एक राजनैतिक मुद्दाका रूपमा ग्रहण गरी पर्याप्त बजेट विनियोजन गर्न माग गर्ने, जलवायु अनुकुलनका लागि, क्षति तथा नोक्सानीको परिपूर्ति गर्न Climate Fund/Loss & Damage Fund जस्ता संभाव्य स्रोतबाट आर्थिक तथा प्राविधिक अनुदानको निश्चित हिस्सा खानेपानी तथा सरसफाइका क्षेत्रमा अनिवार्य रुपमा परिचालन गर्न जोडदार माग गर्ने लगायत १४ बुँदे घोषणापत्र जारी गरेको छ ।

घोषणापत्र :

१. खानेपानी तथा सरसफाइ जस्तो मानव अधिकार र मौलिक हकको विषयमा उपभोक्ता समूहसँग कर लिने व्यवस्था हटाउन र विद्युत महशुल छुट दिने व्यवस्था गर्नका लागि पहल गर्ने घोषणा गर्दछौं ।

२. खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा २०८१ मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सवलीकरण, संस्थागत विकास र क्षमता विकास, संस्थागत संरचनाहरुमा सुशासन कायम गर्ने, प्रदेश सरकार र स्थानीय तहले खानेपानी तथा सरसफाइ ऐन र नियमावली तर्जुमा गर्दा तीन तहका कानून बीच सामञ्जस्यता कायम गर्ने र सबै तहका सरकारहरुले खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गर्न जोडदार माग गर्दछौ ।

३. नेपाल सरकारले अन्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता पुरा गर्न दिगो विकास लक्ष्य ६ को स्थानीयकरण गर्दै सुरक्षित खानेपानी र सरसफाइमा लक्ष्य अनुसार प्रगति हासिल गर्नका लागि साधन स्रोतको अभाव परिपूर्ति गर्दै तिव्रता दिन सबैले आवश्यक पहल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

४. प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न र खानेपानी तथा सरसफाइ सेवालाई प्रकोपका समयमा पनि अबरुद्ध हनु नदिन रणनीतिक कार्यहरु गर्ने । जलवायु परिवर्तनका कारण उत्पन्न असरले खानेपानी तथा सरसफाइ क्षेत्रमा परेको प्रभावलाई न्युनिकरण गर्न नवीनतम प्रबिधिको अवलम्बन, बर्षाको पानी संकलन र वितरण, सौर्य पम्पिङ एवं जलवायु उत्थानशील कार्ययोजना मार्फत खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्न तीनै तहको सरकार, विकास साझेदार, उपभोक्ता संस्थाहरु लगायतका सरोकारवाला निकाय एकजुट भै रणनीतिक कार्ययोजना मार्फत अघि बढ्ने घोषणा गर्दछौं ।

५. खानेपानी तथा सरसफाइको तथ्यांकीय एकरुपता कायम गर्नका लागि सम्पूर्ण उपभोक्ता समितिहरुलाई एकीकृत सुचना प्रणाली NWASH मा संलग्न भै अद्यावधिक गर्ने कार्यका लागि क्षमता विकास गर्ने, तथ्यांकलाई डिजिटलाइज गर्ने तथा खानेपानी र सरसफाइको दिगो र भरपर्दो सेवा सुनिश्चितता हुने गरी दीर्घकालीन एकीकृत योजना तर्जुमा गर्ने घोषणा गर्दछौ ।

६. खानेपानी तथा सरसफाइको राष्ट्रिय लक्ष्य तथा अन्तराष्ट्रिय प्रतिवद्धता समयमै पूरा गर्न तीन तहको सरकारमा यस विषयलाइ एक राजनैतिक मुद्दाका रूपमा ग्रहण गरी आगामी दिनमा प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गर्न जोडदार माग गर्दछौ ।

७. खानेपानी तथा सरसफाइका सबै कार्यहरुमा जलवायु उत्थानशीलता, लैंगिक समानता तथा सामाजिक समाबेशीकरणलाई अन्तरनिहित सवालका रुपमा मूलप्रवाहीकरण गर्न प्रतिबद्ध छौ।

८. राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डको कार्यान्वयन तथा अनुगमन निर्देशिकाले तोके अनुसार सबै खानेपानी आयोजनाहरुमा तोकिएको समयसीमा भित्र जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागु गर्न तीनै तहका सरकारबाट बजेट बिनियोजन, व्यवसायिक क्षमता विकास र संस्थागत संरचनाको व्यवस्थाका लागि पहल गर्ने घोषणा गर्दछौं ।

९. स्वास्थ्य र खानेपानी क्षेत्रगत समन्वयमा अपेक्षित सुधारका लागि सबै सरोकारबाला पक्षबाट आयोजना हुने गोष्ठी, सेमिनार र सम्मेलनमा पारस्पारिक सहयोग, उल्लेख्य सहभागिता तथा निरन्तर सिकाइको आदानप्रदान गरी काम गर्न अनुरोध गर्दछौ ।

१०. खानेपानी तथा सरसफाइका सेवा सुविधाहरुको दिगोपना तथा सुचारुपनाका क्षेत्रमा देखिएका विविध समस्याको पहिचान र समाधानमा प्राविधिक सहयोग पु¥याउन आवश्यक अध्ययन अनुसन्धान गरी काम गर्ने प्रण गर्दछौ ।

११. क्लोरिनको सहज उपलब्धताको सुनिश्चितताका लागि स्थानीय सरकारले समन्वय र सहजीकरण गर्ने, खानेपानीको गुणस्तरीयतामा हाल देखिएको हानिकारक सुक्ष्म जीवाणुयुक्त समस्या समाधानका लागि हरेक योजनामा ऑटोमेटिक डोजिङ पम्प प्रयोग गरी क्लोरिनेसन गर्ने अन्तिम धारा लगायत बिभिन्न बिन्दुमा क्लोरिन अवशेष मापन गरी NWASH MIS मा समाविष्ट गर्ने तथा नियमित अनुगमन गर्ने कार्यलाइ राष्ट्रिय अभियानका रूपमा लैजान पहल गर्ने घोषणा गर्दछौं ।

१२. बहुक्षेत्रीय अवधारणालाई कार्यान्वयन गर्न विद्यालय तहमा WASH शिक्षा र सचेतनामूलक सामग्री राखी गुणस्तरीय शिक्षा प्रवर्द्वनमा जोड दिन शिक्षा क्षेत्रसँग समन्वय गर्ने साथै विश्वविद्यालयहरूमा उपयुक्त WASH पूर्वाधार विकास गर्न अनुसन्धानमा लगानी बढाउने र WASH शिक्षा प्रदान गर्ने शिक्षक उत्पादनमा सघाउन, पाठ्यक्रम समायोजन तथा सुधार गर्न सहयोग गर्ने प्रतिवद्धता गर्दछौं ।

१३. जलवायु अनुकुलनका लागि, क्षति तथा नोक्सानीको परिपूर्ति गर्न Climate Fund/Loss & Damage Fund जस्ता सम्भाव्य स्रोतबाट आर्थिक तथा प्राविधिक अनुदानको निश्चित हिस्सा खानेपानी तथा सरसफाइका क्षेत्रमा अनिवार्य रुपमा परिचालन गर्न जोडदार माग गर्दछौ ।

१४. स्वास्थ्य जोखिममा रहेका समूहहरु, विशेष गरी, बालबालिका, महिला, अति विपन्न वर्ग, गर्भवती आमा र वृद्धहरूलाई सुरक्षित गर्दै स्वस्थ र सम्मानजनक जीवन बिताउन, WASH सम्बन्धित रोगहरूको प्रकोप घटाउन र WASHर स्वास्थ्य क्षेत्र बीच आपसी सहयोग र साझेदारी गर्न, प्रतिजैविक प्रतिरोधको बारेमा जनचेतना फैलाइ एन्टिबायोटिक औषधीहरुलाइ जथाभावी वातावरणमा विसर्जन गर्ने कार्यलाइ रोक्न माग गर्दछौं ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार