नेपालमा वि.सं. ०७२ को भूकम्प पश्चात उत्थानशीलको चर्चा जोडतोडका साथ चल्न थालेको हो । त्यत्तिखेरको भूकम्पबाट खानेपानी तथा सरसफाइको क्षेत्रले नेपाली रुपैयाँ ११,३७९ मिलियन वरावरको क्षति व्यहोर्नु परेको थियो । भूकम्प पश्चातको पाँच वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छताका कार्यक्रमहरु संचालन गर्दा उत्थानशीलको कुरालाई जोडतोड साथ उठाईएको थियो तर व्यवहारिक रुपमा नीति निर्माता, र अभ्यासकर्ताहरु कति धेरै ठाउँमा चुकेका रहेछौ भन्ने कुरा यही वर्षको असोज महिनामा दुई दिन सम्म आएको बाढी र पहिरोले गर्दा खानेपानीको क्षेत्रमा भएको क्षतिले पनि पुष्टि गर्दछ ।
नेपाल सरकारको प्रारम्भिक तथ्याङ्क अनुसार खानेपानीको क्षेत्रमा मात्र ३.५ अरवको क्षति भएको भनिएको छ जुन वास्तविक क्षति भन्दा धेरै कम हो भन्ने पनि छन् । अर्को दुःखत पक्ष के पनि छ भने आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छताको जोहो कसरी गर्ने भन्नेमा पूर्व तयारी खासै काम गर्न सकिएको पनि रहेनछ । बाढी र पहिरो गएको तीन महिना वितिसक्दा पनि कतिपय बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म पनि खानेपानी र सरसफाइको जोहो गर्न सकिएको छैन ।
जलवायुको कारणले गर्दा प्रकोपहरु विपद्मा परिणत हुने कुरामा कुनै दुईमत छैन । विपद् पश्चात आईपर्ने आपतकालीन अवस्थामा पहिलो चाहिने भनेको नै खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा हो । यसमा नेपालको अवस्था कस्तो भन्दा सन्तोजनक उत्तर नआएपनि जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा खानेपानी मन्त्रालय, विभिन्न विकास साझेदारसंस्थाहरु, स्थानीय सरकारको सहकार्यमा नेपालका विभिन्न स्थानमा गरेका प्रयासहरुले भने खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा जलवायु उत्थानशील तर्फ यात्रा सकारात्मक छ भन्ने संकेत दिन्छ ।
जलवायु परिवर्तनको असरसँग जुुध्नको लागि दुई विकल्पहरु छन् । पहिलो भनेको अनूकुलन हो र अर्को भनेको न्यूनीकरण ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोटमा गत हप्ता विहीवार र शुक्रवार नेपालको विभिन्न स्थानमा उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि गरिएका अभ्यासहरु वारेका सिकाई आदान प्रदान गरियो । मधेष्शमा जमिनमुनिको पानीको सतहको अनुगमन, खानेपानीका संरचनाहरुको बीमा, सौर्य उर्जाको प्रयोगबाट पानी तान्ने शुरुवात, शहरमा समावेशी सार्वजनिक शौचालयको व्यवस्थापनमा भएका नवीनतम अभ्यास, नागरिक वैज्ञानिकको प्रयोग गरेर वर्षातको पानीको मापन गर्ने विधिहरु जस्ता धेरै अभ्यासहरु आदानप्रदान भए जुन जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता सँग सम्वन्धित थिए ।
नागरिक वैज्ञानिकहरुलाई परिचालन गरेर मापन गरेको वर्षातको पानी जल तथा मौषम विज्ञान विभागले त्यही स्थानमा मापन गरेको बर्षातको पानीको मापन सँग तुलना गर्दा ९५ प्रतिशत सम्म सहि देखियो । यसले के देखाउँछ भने भोलिको दिनमा नागरिक वैज्ञानिकहरुलाई वर्पातको पानी संकलन गर्नको लागि प्रयोग गर्न सकिने भयो । जुन प्रक्रिया सजिलो र सस्तो पनि पर्न जाने देखिन्छ ।
विश्वव्यापीरुपमा वढ्दो क्रममा रहेको आर्टिफिसियल ईन्टिलिजेन्सलाई नेपालमा पनि खानेपानी, सरसफाइ तथा स्वच्छताका सेवाहरु सुधार गर्नको लागि कसरी प्रयोग गर्न थालिएको र यसको खानेपानी, सरसफाइ तथा स्वच्छताको नियमित अनुगमन, सुचारुपना र दिगोपनामा टेवा पुर्याउने हिसावले काम गर्न थालिएको रहेछ । यसले गर्दा अवको केही वर्षमा नै यो तथ्याङक संकलन तथा अद्यावधिक गर्ने काम आर्टिफिसियल ईन्टिलिजेन्सले सजिलै गर्न सक्ने देखिन्छ । यसको प्रयोगले तथ्याङ संकलनमा ठूलो परिवर्तन ल्याउने र सजिलो वनाउने देखिन्छ । सवैभन्दा ठूलो कुरा आर्थिक रुपमा वचत पनि गराउँछ ।
नेपालमा मात्र होईन संसार भर जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था कस्तोलाई मान्ने भन्नेमा विभिन्न वहसहरु भईराखेका थिए । यहि वेलामा The Sanitation and Water for All ( SWA) जलवायु कार्य सहूले कोप २९, २०२४ मा जलवायु उत्थानशील खानेपानी तथा सरसफाइलाई परिभाषित गरेको छ ।
जस अनुसार जलवायु अनुकूल खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाहरूले जलवायु सम्बन्धी घटनाहरू, प्रवृत्तिहरू, र विघटनहरूको पूर्वानुमान गर्न, प्रतिक्रिया दिन, सामना गर्न, पुनःस्थापना गर्न, अनुकूल बनाउन, वा परिवर्तन गर्न सक्षम छन्। यी सेवाहरू अस्थिर र अनिश्चित जलवायु अवस्थाहरूमा पनि सबैको लागि सुरक्षित र व्यवस्थित सेवाहरूको समान र सर्वव्यापी पहुँच सुनिश्चित गर्न र कायम राख्नको लागि निरन्तर प्रयास गर्दै छन्। जहाँ सम्भव र उपयुक्त छ, उत्सर्जनलाई कम गर्दै, विशेष गरी उच्च जोखिममा रहेका कमजोर समूहहरूलाई विशेष ध्यान दिन्छन्।
यो परिभाषामा लेखे वमोजिम यदि खानेपानी तथा सरसफाइ तथा स्वच्छताका सेवाहरुलाई जलवायु उत्थानशील वनाउने हो भने र नीतिहरुमा लेखे वमोजिम जलवायु उत्थानशील समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता विकास कसरी गर्न सकिन्छ भन्नेमा पनि धेरै अध्ययन अनुसन्धानहरु भएका छन् । ती मध्ये महिलाका लागि पानी भन्ने संस्थाले तल उल्लेखित विशेषताहरु भएको खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली भयो भने जलवायु उत्थानशील समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा प्रदान सकिन्छ भनेको छ ।
१. समावेशी कार्यक्रमको रुपरेखा सोचीएको
जलवायु–उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम शुरुवात भनौ रुपरेखा तयार गर्दा नै GEDSI (लिङ्ग, समानता, विविधता, समावेशिता) लाई आधारभूत तत्वको रुपमा लिनु पर्दछ न कि यसलाई पछि कार्यक्रम तयार गरे पश्चात कार्यक्रम लागु गर्ने वेलामा सोच्ने । सवैको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न सकेको खण्डमा जलवायु–उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता ठूलो टेवा दिन सक्छ ।
२. समावेशी शासन प्रणाली र निर्णय प्रकृयामा सहभागिता
महिलाहरू, आदिवासी समुदाय, अपांगता भएका व्यक्ति र सिमान्तकृतमा परेका व्यक्तिहरूको आवाजलाई जलवायु–उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीमा अर्थपूर्ण सहभागिताको सुनिचिश्तता गर्नुपर्दछ । साथै, खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गर्दा स्थानीय जलवायु सम्बन्धी ज्ञानलाई समाहित गर्नुपर्दछ । निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताको सुनिश्चितता जरुरी भएको छ ।
३. सरोकारवालाहरुलाई जलवायु परिवर्तनको प्रभावको वारेमा पैरवी तथा अनुकुल योजना निर्माणको लागि निरन्तर वकालत
जलवायु परिवर्तनको प्रभाव र यसको असर खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीमा कसरी हुन्छ । यसको वारेमा सम्वन्धित सरोकारवालाहरुलाई सचेतना जगाउनुको साथै जलवायु–उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता नीति र अभ्यासको लगातार वकालत गर्नुपर्दछ ।
४. व्यवहार परिवर्तनका लागि सबै तहमा क्षमता सुदृढ गर्नु
जलवायु वाट पर्न सक्ने जोखिम प्रतिकार्य गर्नको लागि क्षमतामा सुधार गर्नु र खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाहरुलाई बलियो र सुरक्षित बनाउन अनुकूल क्षमता विकास गर्नको लागि वानी व्यहोरामा परिवर्तन गर्ने ।
५. खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाहरूको प्रतिरोधात्मक क्षमता र स्थायित्व निर्माण गर्नु
परिवर्तित वातावरणीय अवस्थाहरूमा अनुकूलन गर्न मिल्ने विशेषता सहित सेवाको आपूर्ति, थप प्रतिरोधात्मक क्षमता, आकस्मिक योजना, र स्थायित्वको निर्माण गरेर पूर्वाधार र सेवाको विश्वसनियता बढाउने ।
६. उपयुक्त प्रविधि र प्रकृतिमा आधारित समाधानहरू प्रयोग गर्नु
प्रकृतिमा आधारित समाधानहरु प्रयोग गरेर वातावरणीय प्रदूषण न्यून पार्ने अभ्यास र प्रविधिहरू अपनाउने । यो विधिबाट दिसाजन्य लेदो व्यवस्थापन, नदी सुधार, पानीका मूहानहरुको संरक्षण र पानीका मूहानहरुमा पानीको मात्रा वढाउन पनि सकिन्छ ।
७. साझेदारहरूसँग सहकार्यको प्रबर्द्वन गर्नु
नागरिक समाज संस्था, अनुसन्धान संस्था, अधिकारकर्मी संगठन, निजी क्षेत्र, सरकार, र स्थानीय समुदायहरूको सक्रिय सहभागिताको प्रवर्द्वन गर्नु। सिमान्तकृतमा परेका आवाजहरूको समावेशीकरणका लागि अधिकारमुखी संगठनको सक्रिय भूमिका महत्त्वपूर्ण छ।
८. खासस्वलाई पृथक रुपमा हेर्नु भन्दा पनि अन्य क्षेत्रहरूसँग एकीकृत गर्ने
कृषि, स्वास्थ्य, शिक्षा, जलवायु, प्रकोप जोखिम न्यूनीकरण, र वातावरणीय संरक्षण जस्ता अन्य क्षेत्रहरूसँगको खानेपानी, सरसफाइ तथा स्वच्छताको अन्तरसम्बन्धलाई वढाउने तिर थप कदमहरु अगाडि वढाउने ।
९. वित्तीय रणनीतिहरू विकास गर्नु
खासस्व जीवनचक्रका सबै लागतहरूलाई समेट्ने वित्तीय रणनीतिहरू विकास गर्ने । सार्वजनिक वित्त पोषणका लागि वकालत गर्ने, जलवायु वित्तमा पहुँच सुधार गर्ने, मिश्रित वित्त अवसरहरूको खोजी गर्ने, सवैको अर्थपूर्ण सहभागिताका लागि वित्त पोषण सुनिश्चित गर्नु।
१०. स्पष्ट तथ्याङ–आधारित लक्ष्यहरू निर्धारण गर्नु
जलवायु जोखिम र अनिश्चितताहरू न्यूनीकरण गर्न तथा खानेपानी, सरसफाइ तथा स्वच्छतासेवाको प्राप्ति र स्थायित्व सुनिश्चित गर्न स्पष्ट लक्ष्यहरू, मापदण्डहरू, र मार्गनिर्देशनहरू स्थापित गर्ने । यसमा जलवायु जोखिम मूल्यांकन र लिङ्ग, समानता, विविधता, समावेशिता संवेदनशीलतालाई व्यवहारमा उतार्ननको लागि विश्लेषण गर्ने ।
११. कार्यसम्पादनको अनुगमन गर्नु
क्षेत्रगत राखेका लक्ष्यहरुमा जलवायु उत्थानशीलता र समावेशितामा के कस्तो प्रगति भएको छ नियमित कार्य सम्पादन गर्ने ।
जलवायु परिवर्तनको कारण खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पार्न सक्ने असरको तथ्याङ्क नभएपनि यसको असर भविश्यमा भारी पर्ने देखिन्छ । नेपालमा अहिले वढ्दो तापक्रम सँगै धेरै प्रकारका प्रभावहरु देखिएका छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र पनि जलवायु परिवर्तनको असरको मारमा परेको छ ।
जलवायु परिवर्तनको असरसँग अनुकुलन हुँदै जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीे तर्फ वढ्नुको विकल्प छैन । तर अव यदि जलवायु उत्थानशील खासस्वको रुपरेखा तयार पार्ने सोच गरिएको छ भने यी कुराहरु जस्तै जोखिम वारेमा जानकारी, समावेशीकरण, सुशासन, दिगोपन, लैङ्गिकता, नेतृत्व, प्रमाण, साझेदारी, र अनुुकूनशीलता जस्ता सम्झौता गर्न नसकिने विषयलाई सम्झौता गर्न सकिदैन ।
जलवायु परिवर्तनको असरसँग जुुध्नको लागि दुई विकल्पहरु छन् । पहिलो भनेको अनूकुलन हो र अर्को भनेको न्यूनीकरण । नेपालमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा गरेका अभ्यासहरु जलवायुुको असर न्यूनीकरण गर्नुभन्दा पनि अनुकुलनशीलतामा बढी जोड दिएको जस्तो देखिन्छ ।
आनन्द गौतम
(Facebook, Anand Gautam | LinkedIn)
लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।