काठमाडौ : एउटै प्रकृतिको काम गर्ने औपचारिक र अनौपचारिक सरसफाइकर्मी बीच पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर देखिएको छ । औपचारिक रुपमा कार्यरत सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा धेरै काम भैसकेको भए पनि अनौपचारिक रुपमा कार्यरत सरसफाइकर्मीले व्यक्तिगत सुुरक्षा सामग्रीको नाममा पञ्जा समेत नपाईएको तथ्य उजागर भएको हो ।
निजी क्षेत्र र सरकारी सरसफाइकर्मीको सवालमा केन्द्रित संवाद कार्यक्रममा औपचारिक रुपमा कार्यरत सरसफाइकर्मीलाई नियमित स्वास्थ्य परिक्षण, बीमा र स्वास्थ्योपचार तथा निवृत्तिभरण सम्मको व्यबस्था गरिए पनि उस्तै प्रकृतिको काम गर्ने अनौपचारिक सरसफाइकर्मीले भने ज्याला बाहेक केही नपाएको पाईएको हो ।
CWIS Alliance Nepal, Water Aid Nepal र Intellectuals Cente (I C) ले आयोजना गरेको कार्यक्रममा काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षाका बिषयमा महानगरपालिकामा भएको व्यवस्थाका बिषयमा प्रस्तुतीकरण गरिएको थियो ।
ललितपुर महानगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुको अनिवार्य स्वास्थ्य बीमा गरिएको, सुरक्षा सामग्रीहरु वितरण गर्दै आएको, समय समयमा स्वास्थ्य परिक्षण गर्ने व्यबस्था मिलाएको, काम गर्ने शीलशीलामा कुनै पनि सरसफाइकर्मीको मृत्यु भएमा १० लाख रुपैयाँ प्रदान गर्ने गरिएको महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यलेबताउनुभयो ।
यस्तै काठमाडौ महानगरपालिकामा कार्यरत सरसफाइकर्मीहरको हकमा पनि सरसफाइकर्मीहरुको नियमित स्वास्थ्य परिक्षण, व्यक्ति सुरक्षा सामग्री वितरण, सरकारी नियमानुसार एक महिनाको जोखिम भत्ता, सबै सरसफाइ कर्मचारीको स्वास्थ्य बीमा, होल बडी चेकअप गर्ने सुविधा प्रदान गरिएको महानगरपालिकाका वातावरण निरिक्षक सृष्टि श्रेष्ठले जानकारी गराउनुभयो ।
यदि सरसफाइकर्मी आफैले होल बडी चेक अप गरी बील बुझाएमा महानगरपालिकाले स्रोत भर्ना दिईदै आएको जानकारी गराउनुभयो । उहाँले सरसफाइकर्मीले पाउने सेवा सुविधालाई वातावरण सँग सम्बन्धित विभिन्न चार वटा ऐन कानुनले समेत सुनिश्चित गरिएको बताउनुभयो ।
औपचारिक सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षा सुनिश्चित गरेको पाइए पनि अनौपचारिक सरसफाइकर्मीको अवस्था भने दयनीय रहेको विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ । वाटर एडले ‘नेपालमा सरसफाइकर्मीहरु’ को बिषयमा गरिएको एक अध्ययनले समेत अनौपचारिक रुपमा काम गर्ने सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षाको अवस्था अति नाजुक रहेको औल्याएको छ ।
काठमाडौ, भक्तपुर, ललितपुर र लहानमा गरी ३५० जना सरसफाइकर्मीहरु माझ गरिएको अध्ययनले पेशागत स्वास्थ्य र सुरक्षाबारे सरसफाइकर्मीहरु अनभिज्ञ रहेको, सामाजिक सुरक्षा नभएको, आफ्नो हक अधिकारका बिषयमा सचेतना अभाव रहेको पाईएको छ । अध्ययनका प्राप्तिहरु प्रस्तुत गर्दै वाटर एड नेपालकी नीति तथा पैरवी प्रमुख सीमा रजौरियाले अनौपचारिक सरसफाइकर्मीहरुले सरसफाइजन्य विभिन्न रोगहरु सामना गर्नुपरेको, भौतिक तथा रासायनिक जोखिमहरु रहेको र रोजगारदाता कम्पनीले स्वास्थ्य जाँच, स्वास्थ्य बीमा जस्ता कुनै पनि सुविधा उपलब्ध नगराएको पाइएको जानकारी गराउनुभयो ।
अध्ययनमा ९३ जना औपचारिक र २५७ जनालाई अनौपचारिक सरसफाइकर्मीहरु समेटिएको थियो ।
कार्यक्रममा निजी क्षेत्रका सरसफाइकर्मी, सेप्टिक ट्याङ्की सरसफाइ समूह, सेप्टिक ट्याङ्क सफाइ व्यवसायी र सरकारी अधिकारी बीच प्यानल छलफल गरिएको थियो । उक्त छलफलमा समेत निजी क्षेत्र मार्फत कार्यरत सरसफाइकर्मीलाई समेत समान सेवा सुविधाको व्यवस्था हुनुपर्ने बिषय जोडतोडका साथ उठेको थियो ।
प्यानल छलफलमा सरसफाइ व्यवसाय सरकारको विभिन्न निकायमा दर्ता भएको, आन्तरिक राजश्व कार्यालयमा दर्ता भै नियमित कर तिर्ने गरेको भए पनि उनीहरु मार्फत गरिने काम भने अनौपचारिक भैरहेको बिषयमा समेत चर्चा भएको थियो ।
कार्यक्रममा सरसफाइकर्मीको मर्यादित जीवन र सरसफाइलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षाका सवालमा सरकार, निजी क्षेत्र, विकास साझेदार, अभियन्ता सबैले एकीकृत ढंगबाट काम गर्नुपर्नेमा जोड दिईएको थियो । यसका लागि सरकारको तर्फबाट औपचारिक तथा अनौपचारिक दुवै खालका सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षाको समानताका लागि नीतिगत र संस्थागत रुपमै सुनिश्चितता गर्नुपर्ने साझा आवाज उठेको थियो।
कार्यक्रममा वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले सरसफाइकर्मीहरु बिना सुन्दर शहरको परिकल्पना समेत गर्न नसकिने भए पनि तिनै सरसफाइकर्मीहरु समाजमा तिरस्कृत भैरहेकाले उनीहरुको पेशागत मर्यादाको लागि एकाकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा UN HABITAT का नेसनल प्रोफेसनल अफिसर (वास) सुधा श्रेष्ठले सरसफाइको क्षेत्रमा विश्वव्यापी उत्कृष्ट अभ्यासहरु र नेपालमा सरसफाइकर्मीको अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो।