मानव मलमूत्र जथाभावी विसर्जन गर्ने विरुद्ध मेचीनगर नगरपालिका कडा कदम चाल्दै

प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षा

  वास खबर सम्बाददाता  105 पटक हेरिएको

झापा : झापाको मेचीनगर नगरपालिकाले निजी क्षेत्रका सेप्टिक ट्याङ्करहरु अनिवार्य नगरपालिकामा दर्ता गरेर मात्र चलाउन पाइने जनाएको छ। मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले हाल सम्म जे जस्तो भए पनि अब नगरपालिकाको कानुन बमोजिम नगरपालिकाले निर्धारण गरेको परिधिभित्र रहेर मात्र सेप्टिक ट्याङ्क सफाइको काम गर्न पाइने बताउनु भयो ।

वास खबर सँग कुराकानी गर्दै उहाँले कतिपय सेप्टिक ट्याङ्करहरु मेचीनगर नगरपालिका भन्दा बाहिरबाट आएर स्वेच्छिक तरिकाले काम गरिरहेको र अब त्यस्तो गतिविधि गरे जरिवाना तिराउने बताउनुभयो । ‘हामी खानेपानी उपभोक्ता संस्था मार्फत नै संकलन गर्न जनतालाई भन्नेछौं । भ्याएन वा प्राइभेट सेक्टरको सेप्टिक ट्याङ्कर लगाउनु परेमा नगरपालिकले जारी गरेको कानुनभित्र रहेर, अनुशासन भित्र रहेर कार्य सम्पादन गर्न भन्छौ’ उहाँले भन्नुभयो।

दिसाजन्य लेदो जथाभावी विसर्जन गर्ने विरुद्ध मेचीनगर नगरपालिकाले चालेको कदमले प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

झापाको मेचीनगरपालिकामा ठूला क्षमताका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु छन् । मेची नगर नगरपालिकाको वडा नं. ७ स्थित भान्सा खोलामा निर्माण भएको दिसाजन्य लेदो प्रशोधन केन्द्र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ भने मेचीनगर–१४ दुहागढीमा निर्माण भएको अर्को प्रशोधन केन्द्र चारआली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएको छ ।

संविधान अनुसार आधारभूत स्तरको सरसफाइ सेवा उपलब्ध गराउने दायित्व स्थानीय सरकारको भए पनि मेचीनगर नगरपालिकामा निर्माण भएका संरचनाको अपनत्व स्थानीय सरकारले नलिँदा राज्यको करोडौं लगानी बालुवामा पानी जस्तै भएको छ ।

दिसाजन्य लेदो जथाभावी फ्याँक्न दिईँदा दिसाजन्य लेदो प्रशोधन केन्द्रसम्म ती लेदो आई नपुग्ने र खानेपानी संस्थाको ट्याङ्करलाई लगाउनु भन्दा निजी क्षेत्रको ट्याङ्करलाई दिँइदा नै फाइदा हुने भ्रमले स्थानीयले पनि निजी क्षेत्रलाई नै गुहार्दै आएका छन् । जसका कारण करोडौं लगानीमा बनेका प्रशोधन केन्द्र आंशिक रुपमा मात्र सञ्चालन भैरहेको छ भने यसले वातावरण प्रदुषण गराई रहेको छ ।

निजी क्षेत्रद्धारा सञ्चालित ट्याङ्कर सानो क्षमताको हुने र सेप्टिक ट्याङ्क भित्रको लेदो समेत राम्रो सँग तान्न नसक्ने हुँदा पुनः केही समयमा भरिने कारण घरबेटीले तुलनात्मक रुपमा बढी आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले प्रतिबद्धता जनाए अनुरुप काम अगाडि बढ्ने हो भने मेचीनगर नगरपालिका र आसपासका पालिकाहरुमा वातावरणीय स्वच्छता कायम हुने अपेक्षा गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार