खानेपानी सुविधाले शहर पसेका पनि गाउँ फर्किन थाले

  वास खबर सम्बाददाता  216 पटक हेरिएको

दोलखा : कालिञ्चोक गाउँपालिका–४ हिलेपानीका पानीकै अभावका कारण गाउँ छाड्नेहरु अहिले गाउँ फर्किन थालेका छन् । वडा नं. ४ का अध्यक्ष दिपक खुलालसँग घरघरमा पानी आएपछि गाउँ फर्किने बाचा गरेकाहरु धमाधम गाउँ फर्कन थालेका हुन् । केहीले गाउँ फर्केर घर र बगैंचा सरसफाइ गरिसकेका छन् भने केही मानिस घर पुनर्निर्माणको काम पनि गर्दैछन् ।

नेपाली सेनामा लामो समय सेवा गरेर निवृत्त भएका पूर्वप्रमुख सेनानी ताराबहादुर कार्की अहिले गाउँमै बसेर घर निर्माण गर्दैछन् । अहिले उहाँ गाउँ फर्केपछि पुराना साथीभाइसँग पनि भेटघाट भइरहेको बताउनुभयो। गाउँमा सडक, पानी, बिजुली सबै भएपछि निवृत्त जीवन अब गाउँमै बिताउने गरी फर्केको उहाँले बताउनुभयो। कार्की जस्तै दिपक घिमिरे, ताराशंकर घिमिरे, चित्रशंकर घिमिरे लगायत गाउँ फर्केको वडाध्यक्ष खुलालले बताउनुभयो।

पानीकै अभावका कारण एक दशक अघि गुल्जार हिलेपानी गाउँ अहिले जंगलमा परिणत भएको छ । हिलेपानी बाहुन गाउँ कुनै बेला चर्चित गाउँ हो । बाक्लो बस्ती, घिमिरेहरूको बाहुल्य रहेको यो बस्तीकै कारण हिलेपानी संस्कृत विद्यालय पनि खुलेको हो । १० वर्ष अघिको भूकम्पपछि गाउँ सुनसान झैं छ । राहतमा बनेका घरमा पनि सिस्नो उम्रेको छ । सुक्खा क्षेत्र झै रहेको यो गाउँमा पानीका बाँकी रहेको स्कुल छेउको ढुङ्गेधारो र वरपरका केही कुवा मात्रै हुन् । ती पनि सुक्दै गएपछि स्थानीयले गाउँ नै छाड्नु परेको थियो।

हिलेपानीमा भत्केका मध्ये ३६ घर पुनर्निर्माण गरिएका थिए ती मध्ये २१ घर खाली छन् । खाली घर भएकै कारण घर वरपर सिस्नु र वनमारा उम्रेका छन् । पुरानो घर वरपर पहिला लगाएका फलफूलका बगैंचा अहिले नाम मात्र भएका छन् । गाउँमा केही घरमा बसोबास छ । त्यसमा पनि बूढाबूढी मात्र छन् । बारीमा खेतीपाती गर्न छाडिएको छ । युवा भने सहरतिरै बसाइँ सरेका छन् ।

खानेपानी अभावले सहर पसेकाहरु समेत गाउँमा बनेका सडक र खानेपानी सुविधाले पुनः गाउँ फर्किन थाले पछि पहिलेकै अवस्था फर्किने आशा पलाएको यहाँको थातथलो छोड्न नसकेका बुढापाका बताउँछन्।

हिलेपानीमा अहिले नौ किलोमिटर टाढाबाट पानी ल्याइएको हो । कालिञ्चोक गाउँपालिका–१ मेरेक्पा भन्ने मुहानबाट गाउँसम्म पानी ल्याउनका लागि तीन वर्ष लागेको छ । हालसम्म वडा नं. ४ मा २३४ घरमा धारा बनेका छन् । भने वडा नं. ३ मा ७० धारा बनेका छन् । यसका लागि १३ वटा पानी जम्मा गर्ने ट्यांकी बनेका छन् । यो वर्ष थप एउटा रिजर्भ ट्यांकी र थप २२ वटा धारा पनि बन्ने वडाध्यक्ष दिपक खुलालले जानकारी दिनुभयो ।

यो खानेपानी योजनाका लागि बागमती प्रदेश सरकारबाट अघिल्लो दुई वर्षमा एक करोड खर्च भएको छ भने गाउँपालिकाबाट समेत यसमा खर्च भएको छ । चालु आर्थिक वर्ष पनि ६४ लाख प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । यस वर्ष बाँकी काम पूरा गरेर हरेक घर घरमा खानेपानी सुविधा पुर्‍याउने गाउँपालिकाको लक्ष्य राखेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार