चितवन : चितवनको भरतपुरमा खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ। गुञ्जनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना र शुक्रनगर केन्द्रीय खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको हो।
खानेपानी आयोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका आयोजना प्रमुख सुन्दर सुवेदी र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तर्फबाट सम्बन्धित खानेपानी उपभोक्ता संस्थाका अध्यक्षले हस्ताक्षर गर्नु भएको छ ।
शुक्रनगर खानेपानी आयोजना निर्माणको लागि केन्द्रिय खानेपानी आयोजनाको अवधारणा अनुसार ९० प्रतिशत नेपाल सरकार र १० प्रतिशत उपभोक्ता संस्थाले व्यहोर्नुपर्नेछ । आयोजनाको कुल लागत २५ करोड ३६ लाख ५६ हजार ८२६ रुपैयाँ ३१ पैसा रहेको छ । उक्त रकम मध्ये उपभोक्ता संस्थाले मर्मत सम्भार कोषको लागि १ प्रतिशत अर्थात २५ लाख ३६ हजार ५६८ रुपैयाँ नगद नै दाखिला गर्नुपर्नेछ भने ९ प्रतिशत अर्थात २ करोड २८ लाख लाख २९ हजार ११४ रुपैयाँ बराबरको जनसहभागिता बापत योगदान गर्नुपर्नेछ ।
यस्तै गुन्जनगर सहलगानी खानेपानी आयोजनाको कुल लागत ९ करोड ९० लाख ४५ हजार ७३१ रुपैयाँ २७ पैसा मध्ये उपभोक्ता संस्थाबाट लागत सहभागिता बापत ५ प्रतिशत अर्थात ४९ लाख ५२ हजार २८६ रुपैयाँ उपभोक्ता संस्थाबाट अग्रिम नगद दाखिला गर्नुपर्नेछ । २५ प्रतिशत अर्थात २ करोड ४७ लाख ३१ हजार ४३२ रुपैयाँ रकम नगर विकास कोषले ऋण लगानी गर्नेछ । उक्त रकम महसुल वा अन्य आयबाट उठेको रकमबाट उपभोक्ता संस्थाले पुर्ति गर्नुपर्नेछ ।
नेपाल सरकारले भने आयोजनाको ७० प्रतिशत अर्थात ६ करोड ९३ लाख ३२ हजार ११ रुपैयाँ ८९ पैसा व्यहोर्ने उल्लेख छ ।
खानेपानी आयोजना निर्माण, कार्यान्वयन व्यवस्थापन तथा सञ्चालनका लागि सरोकारवाला सबै पक्षको भूमिकालाई सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौता अनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले आयोजनाको योजना तर्जुमा, व्यवस्थापन र कार्यान्वयन गर्ने तथा स्थानीय तह र उपभोक्ता संस्थाहरु सँगको समन्वय सुनिश्चित लगायत जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।
यस्तै भरतपुर महानगरपालिकाले सहलगानी खानेपानी आयोजना निर्माणका लागि उपभोक्ता वर्ग, स्थानीय तहबाट तोकिएको समयमा अग्रिम नगद रकम जम्मा गर्न, उठाउनुपर्ने रकम जुटाउने काममा आवश्यक सहयोग/व्यवस्थापन गर्ने लगायतको काम हुनेछ भने उपभोक्ता संस्थाले खानेपानी सेवा सञ्चालन, बोलपत्र मूल्याङ्कनमा आमन्त्रित सदस्यको रुपमा सहभागी हुने, निर्माण लागतमा सहलगानी गर्ने, निर्माण कार्यको सुपरिवेक्षण तथा बिलको रकम भुक्तानी गर्ने, विवाद आईहालेमा विवाद निरुपण गर्ने लगायतको जिम्मेवारी हुनेछ।
सम्झौता भएको खानेपानी आयोजनाको चालु आर्थिक बर्षभित्रै सुरु हुने संघीय खानेपानी तथा ढल व्यबस्थापन चितवनका आयोजना प्रमुख सुन्दर सुवेदीले जानकारी दिनुभयो।