केयूकेएललाई मन्त्री यादवको निर्देशन : गैर राजस्व घटाउँ, चुहावट नियन्त्रण र पानीको न्यायोचित वितरण गर

  वास खबर सम्बाददाता  219 पटक हेरिएको

सुन्दरीजल : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई पानीको गैर राजस्व घटाउँदै, आम्दानीमा उल्लेखनीय वृद्धि गर्ने सम्भावनाको पूर्ण उपयोग गर्न निर्देशन दिनु भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले समयानुकूल महसुल पुनरावलोकन गर्दै वित्तीय रूपमा सक्षम संस्थाका रूपमा यसको रूपान्तरण आवश्यक रहेको र चुहावट नियन्त्रण तथा खानेपानीको न्यायोचित वितरण प्रणालीलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो ।

खानेपानीमन्त्री प्रदीप यादवले बर्षातको समयमा मेलम्चीको पानी पथान्तरण रोकिने समयमा पनि बाग्मती नदीबाट वर्षातको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याई आपूर्ति बढाउने लक्ष्य सहित आवश्यक अन्तर-मन्त्रालय समन्वय र पहलकदमी भैरहेको बताउनुभयो । उहाँले सिस्नेरी परियोजनालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।


‘खानेपानी जनताको नैसर्गिक अधिकार हो। त्यसैले, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आफूलाई पूर्ण रूपमा जनताको सेवामा समर्पित गर्नु आवश्यक छ’ उहाँले भन्नुभयो । मन्त्री यादवले ग्राहकमैत्री सेवा प्रदान गर्दै, सुशासनयुक्त एवम् झन्झटरहित संस्थाका रूपमा केयुकेएललाई स्थापित गर्न कम्पनीका प्रत्येक तह र तप्काका कर्मचारीहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार