पञ्चन लिफ्टिङ खानेपानी आयोजनाका लागि ३९ करोडको स्रोत सुनिश्चित

  वास खबर सम्बाददाता  193 पटक हेरिएको

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ को पञ्चनमा खानेपानी योजना सञ्चालनका लागि ३९ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ । खानेपानीको चरम अभाव हुने पञ्चनमा समस्या समाधानका लागि गाउँपालिका असीम राईको पहलमा बजेट प्राप्त भएको हो ।

जिल्लाकै सुख्खा ग्रस्त क्षेत्रको रूपमा रहेको पञ्चनमा खानेपानी समस्या हल गर्नका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङबाट बजेटको सुनिश्चित भएसँगै लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि काम सुरु भएको जनाइएको छ ।

पञ्चनवासीको खानेपानी समस्याको समाधान हुने गरी काम सुरु भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । उहाँले गाउँपालिकाको मात्रै नभएर जिल्लाकै सुख्खाग्रस्त क्षेत्र पञ्चनमा दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट वितरण गर्ने योजनाका साथ काम अगाडि बढिसकेको बताउनुभयो ।

विगत वर्षहरुदेखिनै यस प्रविधिबाट खानेपानी उपलब्ध गराउने भनिए पनि पर्याप्त बजेट अभावका कारण काम हुने सकेको थिएन । विकासकै महत्त्वपूर्ण अङ्गको रूपमा रहेको पालिकाको खानेपानी समस्या समाधानका लागि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

खानेपानी बन्ने भएपछि पञ्चनवासीमा खुसी छाएको छ । आयोजना सञ्चालनका लागि सङ्घीय खानेपानी आयोजना खोटाङका प्रमुख सुनिल तिवारी तथा गाउँपालिकाका जनप्रतिनिधि तथा प्राविधिकहरूको छलफल भएको बताइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार