दिगो खानेपानी तथा सरसफाइ, प्रणालीगत सुदृढीकरणले मात्र सम्भव

  आनन्द गौतम  437 पटक हेरिएको

आनन्द गौतम

खानेपानी तथा सरसफाइका संरचनाहरु निर्माण गरेको केही वर्ष पश्चात सुचारु नहुने समस्या नेपालका विभिन्न भुभागमा अहिले पनि विद्यमान छ । खानेपानी तथा सरसफाइ प्रणालीबाट सेवा प्रवाह गर्न नसक्दा आम उपभोक्ताहरु असुरक्षित खानेपानी र सरफाइको प्रयोग गर्न वाध्य छन् । यसले सुरक्षित खानेपानी तथा सरसफाइको यात्रालाई पछाडि धकेले जस्तो देखिन्छ ।

खानेपानी तथा सरसफाइका सेवाहरुलाई दिगो रुपमा संचालन गर्ने हो भने यसलाई एक प्रणालीको रुपमा हेर्नुुुपर्छ र ती प्रणाली भित्र रहेका हरेक स्तम्भहरुको सुुदृढिकरणले मात्र दिगो खानेपानी तथा सरसफाइको सेवा सम्भव तुल्याउन सकिन्छ ।

विगत ३० वर्षलाई नियालेर हेर्दा नेपालमा खानेपानी तथा सरसफाइको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएको भन्न सकिन्छ । यही अवधिमा ९५ प्रतिशत भन्दा बढी घरधुरीहरुमा आधारभूत स्तरको खानेपानीको पहुँच र खुला दिसामुक्त नेपाल घोषणा भएको छ । घर नजिक पाईपलाइन, धारा निर्माण, निजी र सार्वजनिक शौचालय निर्माणले मात्र आम नागरिकको पानी र सरसफाइ पहुँच पुगेको मान्न नसकिने रहेछ ।

नेपाल सरकारले सन् २०२३ मा निकालेको क्षेत्रगत खानेपानी, सरसफाइ तथा स्वच्छताको प्रतिवेदनलाई आधार मान्दा नेपालमा जम्मा १९ प्रतिशत घरमा मात्र सुरक्षित पानीको पहुँच पुगेको मान्न सकिन्छ । सुरक्षित खानेपानी तथा सरसफाई पहुँच विनाको सेवालाई भरपर्दो मान्न सकिने रहेनछ ।

नेपालीहरुले बर्षाको समयमा आकाशबाट पानी आउँदा धमिलो पानी आउने, १० देखि १५ दिन सम्म पानीको सेवा अवरुद्ध हुने, जव खानेपानी तथा सरसफाइका प्रणालीहरुले राम्रो काम गर्न सक्दैन तव समुदायहरु फेरि भौतारिदै असुरक्षित खानेपानीको स्रोत वाट पानीको जोहो गर्नुपर्ने देखिएको छ ।

खानेपानी तथा सरसफाइका संरचनाहरुले आयु अवधि सम्म किन काम गर्न सकेन भनेर गहिरिएर खोज्दै जाँँदा धेरै कारणहरु आउँछन् । ती मध्ये सवैभन्दा गम्भीर विषय भनेको खानेपानी तथा सरसफाइको परियोजना सञ्चालन र यसको हस्तान्तरण गर्ने प्रकियासँग जोडिएर आउछ । यो क्षेत्रमा काम गर्नेहरुको ध्यान के मा केन्द्रित छ ? जव संरचनाहरु निर्माण हुन्छ त्यस पश्चात समुदायलाई हस्तान्तरण गरिन्छ । अधिकाँश खानेपानीका प्रणालीहरुमा हस्तान्तरण गरेको ४ देखि ५ वर्षको बीचमा नै खानेपानीका प्रणालीहरु भताभुङ्ग अवस्थामा पुगेको पनि देखिएको छ । यसले कतै खानेपानी तथा सरसफाइका परियोजना निर्माण गर्ने र क्षमता अभिवृदिका कार्यक्रमहरु संचालन गर्ने परिपाटीले मात्र दिगो सेवा प्रदान सकिने रहेनछ भन्ने जनाउँछ । दिगो खानेपानी तथा सरसफाइको समस्या नेपालमा मात्र होईन अल्पविकसित धेरै मुुलुकहरुमा छ ।

धेरै विकास साझेदारहरुलाई खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गर्ने परिपाटीमा सोच्न वाध्य वनाएको छ । खानेपानी तथा सरसफाइका गतिविधिहरु निर्माणमा मात्र जोड दिदा दिगो सेवा संचालन कसरी गर्ने विषयमा अन्यौलता जस्तो अवस्था सिर्जना हुन्छ । जस्तो कि परियोजनाको जीवन अवधिभर आउने विभिन्न खर्चको लागि स्रोत के हो ? नियमित मर्मत तथा संभारको जिम्मा कसको हो ? नियमित रुपमा मर्मत तथा संभार भएको भन्ने अनुगमन गर्ने निकाय कुन हो ? राम्रो गर्नेलाई पुरस्कार र नराम्रोलाई दण्ड सजाय कसले गर्ने ? यी माथिका केही प्रश्नहरुको उत्तर ननिकालीकन खानेपानी तथा परियोजना समुदायमा हस्तातन्तरण गर्दा दिगो रुपमा सेवा संचालन गर्ने विषयमा अन्योलता हुने रहेछ ।

खानेपानी तथा सरसफाइको सेवा दिगो रुपमा नचल्दा यो क्षेत्रमा काम गर्नेहरुलाई नयाँ शिराबाट सोच्न वाध्य बनाएको । संसारभर अहिले खानेपानी तथा सरसफाइको सेवा दिगो रुपमा संचालन गर्ने हो भने खानेपानी तथा सरसफाइलाई प्रणालीगत रुपमा सोच्नुु पर्छ भनिएको छ । यसो भन्नुको अर्थ जसरी एक बस एक ठाउबाट अर्को गन्तव्यमा पुग्नको लागि चालक, बसको विभिन्न पाट पुर्जाको भूमिका हुन्छ भने यसको नियमित मर्मत तथा संभारले मात्र बसलाई जहिले पनि चल्न सक्ने अवस्था वनाई राख्छ ।

जसरी बसका पाटपुर्जाहरुमा एकले मात्र काम नगर्दा पनि बस चल्न सक्दैन । त्यस्तै खानेपानी तथा सरसफाइ प्रणालीका पनि विभिन्न आधार स्तम्भहरु मध्य एकले मात्र राम्रो काम नगर्दा पनि सेवा अवरुद्ध हुन सक्छ । यसले के प्रष्ट पार्छ भने सामान्य संरचना निर्माण र समुदायलाई हस्तान्तरणबाट खानेपानी तथा सरसफाइ सेवा निरन्तर र दिगो हुन सक्दैन । यदि खानेपानी तथा सरसफाइका सेवाहरुलाई दिगो रुपमा संचालन गर्ने हो भने यसलाई एक प्रणालीको रुपमा हेर्नुुुपर्छ र ती प्रणाली भित्र रहेका हरेक स्तम्भहरुको सुुदृढिकरणले मात्र दिगो खानेपानी तथा सरसफाइको सेवा सम्भव तुल्याउन सकिन्छ ।

खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहले फरक फरक आधार स्तम्भहरु प्रस्तुत गर्नु भएको छ । तर ती आधार स्तम्भहरुले दिन खाजेको सन्देश एकै प्रकारको छ ।

नेपालको परिप्रेक्ष्यमा यदि कुनै स्थानीय सरकारसँग मिलेर खानेपानी तथा सरसफाइका गतिविधिहरु संचालन गर्ने हो भने निम्न आधार स्तम्भहरुलाई नियालेर हेर्न जरुरी हुन्छ ।

१. कानुन, नीति र नियम

नेपालको संविधानले खानेपानी तथा सरसफाइलाइ अधिकारको व्याख्या गरेको छ । यसको सुनिश्चितताको लागि खानेपानी तथा सरसफाइ ऐन २०७९, खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८१, खानेपानी तथा सरसफाइ नियामवली २०८२ जारी भईसकेको अवस्था छ । यसको आधारमा कतिपय स्थानीय सरकारहरुले पनि उनीहरुको आफ्नो क्षेत्र र अवस्था अनुसार संविधान मर्म वमोजिमको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन निर्माण गरेर काम अगाडि वढाए छन् । नीति, नियम र कानुनी रुपमा नेपालले विगत पाँच वर्षमा उल्लेखनीय प्रगति हाँसिल गरेको छ । यी ऐन, नीति, नियमावलीले खानेपानी तथा सरसफाइको यात्रालाई द्रुत गतिमा अगाडि वढाउनुको लागि मार्ग खुला गरेको छ । यसलाई लागु गर्नको लागि सवैको भूमिका उत्तिकै छ ।

२.संस्थागत अवस्था

खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने सरोकारवाल र सरकार बीचको समन्वय, तीन तहका सरकारहरुको भूमिका, ती सरकारहरुका विभिन्न निकायहरुसँग भूमिकाको बारेमा धेरै हदसम्म स्पष्टता छ । स्थानीय तहमा पनि खानेपानी, सरससफाइ तथा स्वच्छता इकाई निर्माण गर्ने क्रम जारी रहेको छ । क्षेत्रगत रुपमा पनि कामहरु भएका छन् । खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, जलस्रोतसँग काम गर्ने मन्त्रालय, तीन तहका सरकार र विकास साझेदारहरुसँग थप समन्वयमा काम गर्नु पर्ने देखिन्छ । खानेपानी तथा सरसफाइको क्षेत्रमा एकद्धार प्रणाली लागु गरि दोहोरपनालाई हटाउनुपर्ने हुन्छ ।

३. संरचनाको विकास

खानेपानी तथा सरसफाइमा नयाँ संरचनाहरुको विकास गर्नुपर्ने त छदै छ । त्यसको अलावा नियमित मर्मत तथा संभार गर्नुपर्ने, परियोजना चक्र, खानेपानी प्रणालीमा संरचना लगायत अन्य सम्पत्तीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना निर्माण गर्नुपर्ने देखिन्छ । तर नेपालको परिवेशमा अहिले पनि अधिकाँश स्थानमा नयाँ संरचनाहरु निर्माणमा धेरैको ध्यान जानेको गरेको छ । संरचना निर्माण गर्दा पनि शुरुको लगानीलाई जोड दिएको छ । परियोजनाको जीवन चक्रमा आईपर्ने लगानीको वारेमा कम चर्चा भएको छ ।

४. अनुुगमन

नेपालको सन्दर्भमा यो आधारस्तम्भ महत्वपूर्ण छ । नियमित रुपमा अनुगमनको लागि रुपरेखा र अनुगमन पश्चात देखिएका सुधार गर्ने पक्षहरुलाई कसरी लागु गरिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । यसको अलवा खानेपानी तथा सरसफाइको सेवाको स्तर कुन अवस्था छ र यसको सुधारको लागि तथ्याङ्गको अवस्था कस्तो छ भन्ने अर्को महत्वपूर्ण पक्ष हो । खानेपानी तथा सरसफाइ नियमावली २०८१ ले सेवाको स्तर मुल्याँकन गर्नको लागि निरिक्षकको व्यवस्था गर्ने भनेको छ । यसको कार्यान्वयनको लागि थप कदमहरु चाल्नुपर्ने देखिन्छ । अर्को तर्फ स्थानीय स्तरमा खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था पहिचान र कहाँ पुग्ने भनेर लक्ष्य निर्धारणको लागि कामहरु पनि अगाडि वढेको अवस्था छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले पनि नियमित अनुगमन कसरी गर्ने भनेर स्पष्ट पारेको अवस्था छ । स्थानीय सरकारले पनि नियमित रुपमा खानेपानी तथा सरसफाइको सेवास्तरलाई सुधार गर्ने हेतुले नियमित रुपमा अनुगमन गर्न सक्ने प्रशस्त आधारहरु तयार भएका छन् । अवको काम भनेको कार्यान्वयन र सुधार तर्फ अगाडि वढ्नुपर्ने देखिन्छ ।

५. योजना

खानेपानी तथा सरसफाइको वर्तमान अवस्था के छ । सेवाको स्तरलाई सुधार गरी कहाँ सम्म पुग्न सकिन्छ भनेर नेपालमा खानेपानी मन्त्रालयको प्राविधिक सहयोगमा स्थानीय सरकारहरुको नेतृत्वमा योजना निर्माणको काम अगाडि वढेको छ । सुरक्षित सरसफाइको लागि नगरव्यापी समावेशी सरसफाइको लागि पनि कामहरु अगाडि वढेका छन् । यी कामहरुलाई मात्र अगाडि वढाउने र योजना मुताविक कामहरु हुँदा खानेपानी तथा सरसफाइ क्षेत्रमा दोहोरोपना कम गराउन सकिने अवस्था हुन्छ ।

६. वित्तीय अवस्था

नेपालमा संघीय सरकारको वजेटलाई हर्ने हो भने विगतका वर्षहरुमा खानेपानी तथा सरसफाइ क्षेत्रमा वजेट कम विनियोजन हुनुका साथै घट्ने क्रममा छ । विनियोजित वजेट खर्चमा पनि समस्याहरु छन् ।

स्थानीय सरकारको कुरा गर्ने हो भने केन्द्र र प्रदेश सरकारबाट वजेट प्राप्त गर्ने स्पष्ट ढाँचा हुनु जरुरी छ । कुनै पनि खानेपानी तथा सरसफाइका परियोजनाहरु संचालन गर्दा शुरुको लगानी मात्र होईन परियोजनालाई जीवन अवधिभर संचालन गर्न लागि लाग्ने खर्चको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्टता चाहिन्छ । जुन अहिले धेरै केन्द्र, प्रदेश र स्थानीय सरकारमा लागु भएको देखिदैन । खानेपानी तथा सरसफाइ क्षेत्रमा हुन सक्ने आम्दानीहरु के के हुन् जस्तै कर, संघीय र प्रदेश सरकारबाट हस्तान्तरण हुने रकम, विकास साझेदारहरुबाट प्राप्त हुने रकम, खानेपानी तथा सरसफाइ सेवा प्रदायकहरुले व्यापार गरेर प्राप्त गर्ने सक्ने मुनाफा आदिको विषयमा गम्भीर वहस भएको पाईएको छैन । यसको नेतृत्व स्थानीय सरकारले नै लिनु पर्ने हुन्छ । स्थानीय सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छताको योजना वमोजिम सम्भावित आर्थिक स्रोतहरु पनि किटान गरिनुपर्छ ।

७. नियामक र उत्तरदायित्व

खानेपानी तथा सरसफाइको सेवा दिने उत्तरादायित्व कसको हो? यदि खानेपानी तथा सरसफाइ सेवा स्तरमा सुधार भएको छैन भनेको यसको नियमन गर्ने निकाय कुन हो भनेर यसमा स्पष्टता हुन जरुरी छ । नेपालमा खानेपानी तथा सरसफाइ नियमावली २०८१ ले यसको वारेमा धेरै कुराहरु स्पष्ट पारेको छ । यसको आधारमा स्थानीय निकायहरुले पनि कार्यविधिहरु निर्माण गरी उनीहरुको मातहतमा रहेका जति पनि खानेपानी तथा सरसफाइको सेवा प्रदायहरु छन् उनीहरुको नियमन गर्न सक्छ । उत्तरदायित्व र जिम्मेवारीको कुरा गर्दा सरकार र सेवाप्रदायकको मात्र होईन सेवा लिने सेवाग्राहीहरुको पनि उत्तरदायित्व हुन्छ भन्ने कुरा विर्सनु हुदैन ।

८. जलस्रोत व्यवस्थापन

खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्दा जलस्रोत सधैभरि केन्द्रमा रहन्छ । पानीका मूहानहरु सुक्ने, जमिनमुनिको पानी अत्यधिक मात्रामा दोहोन र जमिनमुनिको पानीको सतह घट्दै गएको हुदा जलस्रोत व्यवस्थापनमा थप कदमहरु अगाडि वढाउने पर्ने देखिन्छ । यसको लागि स्थानीय सरकारले पानीको प्रयोग गर्ने विभिन्न सरोकारवालाहरुसँग वसेर जलस्रोत व्यवस्थापन योजना निर्माण गर्न सक्छ । योजनाको आधारमा जलस्रोत प्रयोग हुने सरोकारवालाहरु र क्षेत्रमा समन्वयात्मक वातावरण निर्माण गर्नुपर्दछ । जलस्रोत वचाउन सकियो भने मात्र दिगो खानेपानी तथा सरसफाइको सेवा उपलब्ध गराउन सकिन्छ भन्ने वुझाइ सवैको हुनु जरुरी छ ।

९. सिक्ने र नयाँ कुरा लागु गर्ने ।

खानेपानी तथा सरसफाइको प्रणालीको सुदृढीकरणमा सुधार गर्दा नयाँ नयाँ कुराहरु सिकाईहुन्छ । ती सिकाईहरुलाई लागु गर्दै र सुधार गर्दै अगाडि वढ्दा दिगो खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न टेवा पुग्छ । प्रणालीगत सुदृढीकरण एक पटक गरेर सकिने विषय होइन यो निरन्तर यात्रा हो । यसमा सिक्ने र सुुधार्ने प्रकिया चलिरहन्छ ।

कुनै पनि स्थानीय निकायले खानेपानी तथा सरसफाइको अवस्थामा सुधार गरेर दिगो सेवा प्रवाह गर्ने हो भने वर्षमा कम्तीमा एक पटक यी माथि उल्लेखित आधार स्तम्भहरुको विश्लेषण गरी वर्तमा अवस्था मापन गर्नुपर्ने हुन्छ । मापन गर्दा प्रत्येक स्तम्भहरुको वर्तमान अवस्था, पुग्ने लक्ष्य र लक्ष्यमा पुग्नको लागि योजना निर्माण गरिएको हुन्छ । योजना वमोजिम काम गर्ने हो भने वर्षमा कम्तिमा एक पटक अद्यावधिक गर्दै जानुपर्ने हुन्छ ।

खानेपानी तथा सरसफाइको प्रणालीगत सुदृढीकरणले मात्र दिगो खानेपानी तथा सरसफाइको सेवा सुनिश्चित गर्ने हुदा सवै स्थानीय सरकारहरुले खानेपानी तथा सरसफाइ प्रणालीका आधारस्तम्भहरुलाई मजवुद गराउदै प्रणालीगत सुदृढीकरणमा यात्रा तर्फ लाग्नुपर्ने देखिन्छ ।

आनन्द गौतम
(FacebookAnand Gautam | LinkedIn)

लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार