कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट नहुँदा अलपत्र

  भक्तबहादुर शाही  146 पटक हेरिएको

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको ९ हजार नागरिकलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले शुरु गरिएको कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट अभावले अलपत्र परेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडामा कर्णाली लिफ्ट खानेपानी आयोजना निर्माण सुरु गरेको पाँच बर्ष भइसक्दा समेत बजेट नहुँदा आयोजनाको काम अलपत्र परेको हो।

आर्थिक वर्ष २०७६/०७७ बाट कर्णाली लिफ्ट खानेपानी आयोजना सुरु गरिएको थियो । पहिलो वर्ष आयोजना निर्माणका लागि आएको कुल एक करोड ५० लाखमा ठेक्का भई आयोजना निर्माणका लागि सफल निर्माण सेवा जानकी गाउँपालिका –३ बाँकेले निर्माणको जिम्मा पाएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा आयोजना निर्माण सम्पन्न गर्न पुनः संघिय सरकार प्रदेश र स्थानीय सरकारको साझेदारीमा चार करोड १६ लाख बजेट बिनियोजन भई ठेक्का हुँदा निर्माणको जिम्मा नागार्जुन टिडिआर जेभि काठमाडौले लिएको थियो ।

नगरपालिकाको योजना शाखामा कार्यरत योजना सहायक खगेन्द्र बहादुर शाहीले उक्त लिफ्ट खानेपाली आयोजना निर्माण गर्न हाल सम्म पाँच करोड ६६ लाख बजेट खर्च भइसक्दा समेत आयोजना निर्माण हुन नसकेको बताउनुभयो । ठेकेदारले काम गर्ने क्रममा संघिय सरकार र प्रदेश सरकार बाट प्राप्त शर्शत समपुरकको बजेट फ्रिज हुँदा आयोजना निर्माणको कार्य झन अलपत्र परेको उहाँले जानकारी दिनुभयो । ‘आयोजना निर्माणको काम ६० प्रतिशत भएपनि बजेट अभावका कारण आयोजना निर्माण हुन सकेको छैन’ उहाँले भन्नुभयो।

आयोजनाले गति नलिँदा नागरिकले खानेपानीका लागि सास्ती भोग्दै आएका छन् । अघिल्लो स्थानीय सरकारले सञ्चालन गरेका कामको अपनत्व अहिलेका स्थानीय सरकारले नलिएका कारण आयोजना बीचमै अलपत्र परेको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाअध्यक्ष प्रेम बहादुर रावलको आरोप छ ।

बजेट माग्ने, बिनियोजन गर्ने अधिकार नगर प्रमुखलाई भएपनि नगर प्रमुखले नै आयोजना निर्माणमा चासो नदिदा करोडौँ खर्च भएको आयोजनाले गति लिन नसकेको हो । अघिल्ला सरकारले गरेका राम्रा कामको नेतृत्व गरी अहिलेका नगर प्रमुख लागेको खण्डमा आयोजना निर्माण गर्न सम्भव हुने उहाँले बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माणका लागि खरिद गरिएका १ करोड बढीका निर्माण सामग्री हाल सम्म गोदाममा थन्किएका छन् । निर्माण सामग्री राखिएको गोदामको भाडा नगरपालिकाले तिर्ने भन्ने सहमति रहेको थियो । तर, हालसम्म नगरपालिकाले गोदाम भाडा समेत नतिरेको वडाध्यक्ष रावलको भनाइ छ ।

नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले बजेट अभावका कारण निर्माण हुन नसकेको कर्णाली लिफ्ट खानेपानी आयोजनाको लागि १५ औँ नगर सभा बाट ३८ लाख रुपियाँ बिनियोजन गरिएको र अपुग रकम प्रदेश सरकार र संघीय सरकार सँग माग्ने तयारी गरिएको बताउनुभयो। उहाँले प्राविधिक टोली संग समन्वय गर्दा एक करोड लागतमा खानेपानी लयाटिबिन्द्रासैनीमा आउने र त्यहाँ निर्माण गरिएको आरभिटि मार्फत वितरण गर्न सकिने भएपछि नगर सभाले उक्त बजेट बिनियोजन गरेको बताउनुभयो । ‘आयोजना निर्माण गर्नका लागि सम्बन्धित निकाय सँग समन्वय गरेर अगाडि बढ्ने र त्यसका लागि कार्यापालिकाबाट निर्णय गर्ने तयारीमा रहेको छु’ उहाँले भन्नुभयो।

आयोजना निर्माण हुन नसकेपछि त्यहाँका स्थानीय नागरिकले चिन्ता ब्यक्त गरेका छन । खानेपानी ल्याउन अहिले पनि पालो कुर्नु पर्ने अबस्था छ । ‘नगरपालिकाले तत्काल आयोजना निर्माणका लागी ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्दछ’ स्थानीय नगेन्द्र रावलल भन्नुहुन्छ ‘आयोजना बन्छ भन्दा खुसी थियौँ । अहिले लथालिङ्ग छ । निर्माण सामाग्री छरपस्ट छन् । गाउँमा बत्ती आयो उज्यालो भयो । खानेपानीको चिन्ताले पिरोल्न छोडेन।’

कर्णाली लिफ्ट खानेपानी आयोजना निर्माणका लागि स्थानीय सरकार चामुण्डाबिन्द्रासैनी नगरपालिका, संघीय र प्रदेश सरकारसँगको साझेदारीमा आयोजना सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७५/०७६ मा सात लाखको रुपियाँ खर्च गरी (डिपिआर) निर्माण गरिएको थियो । उक्त प्रतिबेदनमा आयोजनाको जम्मा लागत १९ करोड ९९ लाख ७ हजार ९ सय ३५ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजना निर्माण भएपछि नगरपालिकाका ५, ६, ७, ८ र ९ को तल्लो भागमा बसोबास गर्दै आएका करिब नौ हजार नागरिकको खानेपानीे समस्या समाधान हुने चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाअध्यक्ष प्रेम बहादुर रावलले बताउनुभयो।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार