मर्मत सम्भार गरेपछि पुरानै धारामा आउन थाल्यो खानेपानी

  वास खबर सम्बाददाता  345 पटक हेरिएको

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका–१ पगनाथका खम्मे दमाईको घरमा खानेपानीको पक्की धारा थियो । तर ६ वर्ष यता धारामा पानी आउँदैनथ्यो। योजनाको सञ्चालन र व्यवस्थापन भरपर्दो नहुँदा सिंगो गाउँभरमा रहेका धाराहरुको हालत उस्तै थियो । ‘कतै पाइप टुक्रिएका, ट्यांकीमा झार उम्रिसकेका थिए ।’

अहिले भने मर्मत सुधार गरेपछि त्यही धारामा पानी आउन थालेको खम्मे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘नयाँ योजना माग गर्दा परेन । मर्मत गर्दा अहिले पुरानै धारामा पानी आउन थाल्यो ।’

साविक गाविस हुँदा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाले पगनाथबासीका सबै घरधुरीमा खानेपानी सुविधा पुर्‍याएको थियो । तर केही वर्षयता ठाउँ–ठाउँमा पाइपलाइन बिग्रिएका कारण आँगनमा बनाइएका धारा जीर्ण भइसकेका थिए ।

भगवतीमाई गाउँपालिकाका अनुसार चालू आर्थिक वर्षमा भह लाग्ने गौथली खानेपानी तथा सरसफाइ आयोजना मर्मतपछि सञ्चालनमा ल्याइएको छ । वडा नं १ का पगनाथ, पोखरीडाँडा र हलसिम टोलका ११२ घरधुरीमा १०० वटा धारा र चाङ निर्माण गरिएको छ ।

पानीको स्रोत कम भएपछि यस आयोजनामा अर्को मुहानबाट पानी थप गरिएको छ । अहिले यही आयोजनाबाटै पगनाथ स्वास्थ्यचौकी, ज्वाला आधारभूत विद्यालयलाई पनि खानेपानी उपलब्ध गराएको छ ।

भगवतीमाई गाउँपालिका ७ लामतडामा केही वर्षअघि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानी आयोजना निर्माण गरेको थियो । तर यो आयोजना पनि दिगो रुपले सञ्चालन हुन सकेन । जीर्ण आयोजनालाई मर्मत सुधार गर्ने गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रम अनुसार यस आयोजनालाई फेरि मर्मत गरियो । त्यहाँका २० घरधुरीका लागि १८ धारा पनि निर्माण गरियो ।

लामतडा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर खड्काले आश मारिसकेको आयोजना फेरि मर्मतपछि सञ्चालनमा आएको बताउनुभयो । बेस्तडा बृहत खानेपानी आयोजना मर्मतका हिसाबले मध्यम वर्गमा थियो । चिसापानी मुहानबाट पानी ल्याएर सांगुतडाका १० घरधुरीका लागि खानेपानी धारा र घैंटो निर्माण गरिएको छ । वादी समुदायको बाक्लो बस्ती रहेको खोलगाडीमा पनि उकाली भन्ने स्थानबाट पानी ल्याइएको छ ।

त्यहाँका ३० घर थप गरेर खानेपानी धारा निर्माण गरिएको छ । भगवतीमाई ५ मुलकामा थारिम चोक्टा हुलाक खानेपानी तथा सरसफाइ आयोजना चालू आर्थिक वर्षमा मर्मत गरी सञ्चालनमा ल्याइएको हो । ४०० मिटर अगाडिबाट पानीको स्रोत थप गरिएको छ । ३ वटा इन्टेक थपिएका छन् । जहाँ १२० घरधुरीलाई आयोजनाले खानेपानी सुविधा उपलब्ध गराएको छ ।

आयोजना मर्मत भएपछि ४१ घरधुरी नयाँ थपिएका छन् । कम लागतमा समयमै आयोजना मर्मत सुधार भई सञ्चालनमा आएपछि उपभोक्ताहरु पनि खुसी छन् ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना ९सुस्वा० को सहयोगमा भगवतीमाई गाउँपालिकाले खानेपानी आयोजनाको सामान्य, मध्यम र पूर्ण मर्मत गरी आयोजना निर्माण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

खानेपानी तथा सरसफाइ आयोजनामा उपभोक्ताको एक प्रतिशत नगद सहयोग सहित २० प्रतिशत श्रमदान, गाउँपालिकाको १० प्रतिशत र ७० प्रतिशत परियोजनाले बजेट परिचालन गर्ने गरेको छ ।

भगवतीमाईमा गत वर्ष यस्तै जीर्ण ५ आयोजना मर्मत सुधार गरी सञ्चालनमा ल्याइएको थियो । गाउँपालिकाकी उपाध्यक्ष मिना खड्का थापाले पुराना आयोजनाको मर्मतले गर्दा पालिकाको ठूलो बजेट जोगिएको बताउनुभयो । ‘सामान्य मर्मत गरे भैहाल्ने ठाउँमा पनि नयाँ योजना पार्ने प्रचलन थियो’ उहाँ भन्नुहुन्छ ‘खानेपानी क्षेत्रमा कम बजेटमा धेरै लाभ लिन सफल भयौं ।’

उपभोक्ता समितिलाई खानेपानी संस्थाका रुपमा स्तरोन्नति गर्दै गाउँपालिकाको जलस्रोत समितिमा दर्ता गर्ने गरिएको छ । भगवतीमाईमा ९ वटा उपभोक्ता संस्था दर्ता भइसकेका छन् ।

गाउँपालिका र सुस्वा परियोजनाले उपभोक्ता संस्थाका पदाधिकारीलाई आयोजनाको दिगो व्यवस्थापन र सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजनाको सामान्य मर्मत, चौकीदार खर्च स्वयं उपभोक्ता संस्थाले नै बेहोर्न थालेका छन् । गाउँपालिकाका खानेपानी तथा सरसफाइ ९वास० सहजकर्ता प्रकाश अधिकारीले उपभोक्ता संस्थालाई सबल बनाउँदा आयोजना दिगो सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो।

हालसम्म २० वटा उपभोक्ता संस्थाका पदाधिकारीलाई आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । त्यस्तै परियोजनाले इनलाइन क्लोरिनेसनबाट प्रत्येक धारामा सुरक्षित रुपले क्लोरिन मिलाइएको खानेपानी प्रदान गर्दै आएको खबर कान्तिपुरबाट लिएको हो।

तीन वर्षदेखि नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा परियोजनाले करिब ५७ हजार १७६ जनालाई सुरक्षित पानी प्रदान गरेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार