पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने घरधुरी बढ्दै

  राजन रावत/हुम्ला  144 पटक हेरिएको


हुम्ला : दुर्गम जिल्ला हुम्लाका ८८ प्रतिशत घरपरिवारमा पाइप प्रणालीबाट आधारभूत खानेपानीको पहुँच पुगेको छ । खानेपानी सम्वन्धी काम गर्ने आधा दर्जन सरकारी तथा गैरसरकारी निकायले वर्षेनी खानेपानी योजना निर्माण गरेर सञ्चालनमा आएपछि हुम्लावासीको खानेपानीमा पहुँच बृद्धि हुँदै गएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल घरधुरी संख्या मध्ये हालसम्म ८८ दशमलव १८ प्रतिशत हुम्लावासी खानेपानीको पहुँचमा रहेको खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो।

६३ दशमलव ८८ प्रतिशत हुम्लावासीका घरधुरी सार्वजनिक खानेपानीका धाराबाट पानी उपभोग गरिरहनु भएको छ भने २४ दशमलव ४० प्रतिशत हुम्लावासी व्यक्तिगत धारा निर्माण गरेर खानेपानी उपभोग गरिरहेका छन । आर्थिक वर्ष ०८०÷८१ सम्म जिल्लाको कुल घरधुरी ११ हजार २०४ रहेको छ । त्यसमा २ हजार ७२३ घरधुरी ब्यक्तिगत धाराको पानी प्रयोग गरिरहेका छन् भने ७ हजार १५७ घरधुरी सार्वजनिक धाराको पानी उपभोग गरिरहेका छन ।

ब्यक्तिगत र सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्ने घरधुरी संख्या ९ हजार ८८० छ । तीन वर्षयता जिल्लामा धारा मार्फत खानेपानीको उपभोग गर्ने घरधुरी बृद्धि भइरहेको उहाँले बताउनुभयो।

जनगणना अनुसार हुम्ला जिल्लाको कुन जनसंख्या ५५ हजार ३९४ रहेको छ। उहाँले चालु आर्थिक वर्षमा जिल्लाभर २८ वटा खानेपानी योजनाहरु निर्माणाधीन रहेको कारण असारसम्म ती योजनाको निर्माण कार्य सम्पन्न हुने र अझै जिल्लामा खानेपानीको उपभोग गर्ने घरधुरी संख्या बृद्धि हुने बिस्वास ब्यक्त गर्नुभयो।

व्यवस्थित पाइप प्रणाली मार्फत खानेपानीको उपभोग गर्ने घरधुरी बृद्धि हुनुमा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु बढी भएको कारण त्यो सम्भव भएको हो ।

हाल जिल्लामा खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने संङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सबैका लािग दिगो खानेपानी र सरसफाइ आयोजना (सुस्वा) गुडनेवर्स इन्टरनेस्नल नेपाल लगायतका संस्थाहरुले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा काम गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार