बर्ष २०८१ खानेपानी र सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो ?

  वास खबर सम्बाददाता  267 पटक हेरिएको


काठमाडौं : २०८१ साल आजदेखि विधिवत रुपमा बिदाई भएको छ । नयाँ बर्ष २०८२ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिरहँदा बर्ष २०८१ को पनि विभिन्न तवरबाट समीक्षा भैरहेको छ ।

खानेपानी र सरसफाइ क्षेत्रको उपलब्धीलाई समीक्षा गर्ने हो बर्ष २०८१ मा धेरै अभूतपूर्व कामहरु भएका छन् ।

१.कानुनी रुपमा पूर्णता पाएको बर्ष

खानेपानी तथा सरसफाइ क्षेत्रको ऐन बने पनि नियमावली बन्न बाँकी थियो । २०७९ सालमै खानेपानी तथा सरसफाइ ऐन जारी भए पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा केही जटिलता थियो । २०८१ सालमा खानेपानी तथा सरसफाइ नियमावली मन्त्रीपरिषद बैठकले स्वीकृत गरेपछि बर्ष २०८१ कानुनी रुपमा पूर्णता पाएको बर्ष बन्यो । यद्यपि कानुनमा समेट्न बाँकी रहेका बिषयहरुलाई संशोधन गरी थप्दै जाने प्रक्रिया भने नियमित प्रक्रिया हुन् ।

यस्तै २०८१ सालमै सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका २०७२ लाई दोस्रो संशोधन गरिएको छ । यही पुस २१ गते मन्त्रीस्तरीय निर्णयबाट निर्देशिकालाई संशोधन गरी उपभोक्ताले व्यहोर्नुपर्ने ३० प्रतिशत रकमबाट घटाएर १५ प्रतिशत मात्र लगानी गर्दा पुग्ने बनाएको हो ।

२. द्धिपक्षीय तथा बहुपक्षीय सम्झौताहरुको बर्ष

खानेपानी तथा सरसफाइ क्षेत्रमा विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्न द्धिपक्षीय तथा बहुपक्षीय सम्झौताहरु बर्ष २०८१ सालमै भएका छन् । खासगरी स्वच्छ भारत अभियानको सफलता र प्रविधि हस्तान्तरण गर्न भारत सरकार र नेपाल सरकारबीच भएका सम्झौता लगायत अन्य थुप्रै सम्झौताहरु २०८१ सालमा भएका छन् ।


२.१ खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्न दुई देश बीच समझदारी

खानेपानी, सरसफाइ र स्वच्छता तथा र फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न भारत सरकार र नेपाल सरकार बीच २०८१ फागुन १९ मा नयाँ दिल्लीमा समझदारी भयो । नेपाल सरकारको तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव र भारत गणराज्य सरकारको तर्फबाट जलशक्ति मन्त्री सिआर पटिलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।

दुवै देशहरू बीच मैत्रीपूर्ण सहकार्यलाई प्रबर्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर सरकारी सहकार्यलाई सुदृढ गर्ने, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्यले दुई देश बीच समझदारी भएको थियो।

२.२ नेपाल सरकार र एडिबी बीच सम्झौता

नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) र यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भयो ।

२०८१ मंसिर २६ मा यो सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ।


२.३ खानेपानी मन्त्रालय र सिँचाई मन्त्रलय बीच सम्झौता

खानेपानीको थोक वितरण प्रणाली तथा संघीय स्तरका ठूला एवं वृहत खानेपानी आयोजनाहरुका लागि आवश्यक पानी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत निर्मित सिंचाई आयोजनाहरुबाट उपलब्ध गराउन खानेपानी मन्त्रालय र उर्जा मन्त्रालय बीच सम्झौता भएको भयो।

२०८१ चैत्र २१ मा भएको सम्झौतामा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको कार्यक्षेत्र तथा संस्थागत उद्देश्य प्राप्तिमा कुनै असर नपर्ने गरी खानेपानी मन्त्रालयको अनुरोधमा जुनसुकै सिँचाई आयोजनाबाट आवश्यक परिमाणमा पानी उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरु बीच सम्झौता भएको भयो। खानेपानीको आपूर्तिका लागि भएको यो सम्झौता खानेपानी र सरसफाइ क्षेत्रका लागि एकदम महत्वपूर्ण सम्झौताको रुपमा लिईएको छ ।

२.४ खानेपानी मन्त्रालय र इसिमोड बीच सम्झौता

२०८१ सालमै खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच खानेपानी र सरसफाइको क्षेत्रमा सहकार्य गर्न सम्झौता भयो । २०८१ चैत्र २७ मा भएको सम्झौतामा नेपालको पहाडी र तल्लो तटीय क्षेत्रका समुदायलाई दिगो र सुरक्षित पानी र सरसफाइ सेवा प्रदान गर्न आवश्यक अनुसन्धान, प्रविधि हस्तान्तरण र जलाधार तथा मूलाधार संरक्षणका लागि सहकार्य गर्ने उल्लेख छ । यो पनि खानेपानी र सरसफाइ क्षेत्रमा भएको एउटा ठूलो उपलब्धी हो ।

यसरी बर्ष २०८१ मा खानेपानी र सरसफाइ क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण, ऋण परिचालन, प्रविधि हस्तान्तरण र अध्ययन अनुसन्धानका लागि समेत द्धिपक्षीय तथा बहुपक्षीय सम्झौता भएका छन् ।

३. धेरै गोष्ठी सम्मेलनहरु आयोजना भएको बर्ष


बर्ष २०८१ मा खानेपानी र सरसफाइ क्षेत्रमा धेरै कार्यशाला गोष्ठी र सम्मेलनहरु सम्पन्न भएका छन् । उस्तै उस्तै प्रकृतिका कार्यक्रमहरु समेत थुप्रै भएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आयोजनामा खानेपानी तथा सरसफाइ शिखर सम्मेलन, विश्व पानी दिवसको अवसरमा नेपाल सिँचाई महासंघ लगायत संघसंस्थाहरुले आयोजना गरेको प्रथम पानी सम्मेलन, वाटर एडको सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले देशको सातै प्रदेशमा आयोजना गरेको खानेपाानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा महिला नेतृत्व : चुनौति र सम्भावना विषयक गोष्ठी,  समावेशी, जलवायु उत्थानशील र सुरक्षित सरसफाइ सेवाको प्रतिबद्धताका लागि राजनीतिक संवाद लगायत कार्यक्रमहरु २०८१ मा आयोजना गरिएका प्रमुख कार्यक्रमहरु हुन् ।

यी बाहेक राष्ट्रिय स्तर र प्रदेश स्तरमा पनि धेरै कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रमले दिएको मार्गदर्शन अनुरुप काम भए वा भएनन् भन्ने कुरा अर्को समीक्षाको बिषय बन्न सक्छ ।

४. विभागको सांगठानिक संरचनाले पूर्णता पाएको बर्ष

खानेपानी मन्त्रालय र मातहतका निकायको संगठन पुनःसंरचनाको कुरा धेरै समय अगाडि देखि नै उठिरहेको भए पनि बर्ष २०८१ मै यसले पूर्णता पायो । खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभाग र मातहतको निकायको संगठन संरचनाको पूर्णताले खानेपानी र सरसफाइ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

५. खानेपानी र सरसफाइ क्षेत्रमा क्षतिको बर्ष


५.१ विपदले विथोलेको बर्ष

यत्ति धेरै सकारात्मक कामहरु हुँदाहुँदै पनि खानेपानी र सरसफाइ क्षेत्रमा ठूलो क्षति पुगेको बर्ष समेत बन्यो २०८१ । गत असोज ११ र १२ गतेको बाढी पहिरोले देशका विभिन्न स्थानमा खानेपानी संरचनामा करिब ६ अर्ब बराबरको क्षति पुगेको मूल्याङ्कन गरिएको छ ।

५.२ मुख्य प्रशासनिक केन्द्रमै आगलागी भएको बर्ष

बर्ष २०८१ मा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र खानेपानी मन्त्रालयमै आगलागी भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत रहेको भवनको चौथो तलामा रहेको खानेपानी मन्त्रालय र त्यसमा पनि खानेपानीमन्त्रीकै कार्यकक्षमा माघ २६ गते शनिबार बिहान ८ बजे आगलागी भयो । आगलागीबाट मन्त्रालयका तीनवटा कोठामा क्षति भएको थियो भने त्यहाँ भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायत अन्दाजी ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो।

बर्ष २०८१ साललाई फर्केर हेर्दा खानेपानी र सरसफाइ क्षेत्रमा धेरै उपलब्धीहरु भएका छन् । ती उपलब्धीहरुको रक्षा गर्दै भावी दिनमा गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गर्दै अगाडि बढ्ने हो भने खानेपानी र सरसफाइ क्षेत्रले राखेको लक्ष्य प्राप्त गर्न सहज हुनेछ।

बर्ष २०८१ मा भएका विभिन्न कार्यक्रमहरु र तिनले सुझाएका कार्यक्रमहरुको कार्यान्वयन एवं भएका सम्झौताहरुको मात्र इमानदारिता पूर्वक कार्यान्वयन गर्ने हो भने एक बर्ष पछि यही समयमा २०८२ लाई बिदाई गर्दै गर्दा धेरै कामहरु सम्पन्न भएको देख्न पाईने निश्चित छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार