बर्दिया : शौचालय गए पछि साबुन पानीले हात धुनुपर्छ त भन्छौं, तर के स्कुलमा अध्ययनरत नानी बाबुले शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धोएकै हुन्छन् ?
नानी बाबुले हात धुन्छन् या धुँदैनन् ? यसको निगरानी गरिरहन न सम्भव हुन्छ न त हात नधोई क्लासमा छिरेमा पुनः धुन पठाउन नै सकिन्छ ।
नानीबाबुले शौचालय प्रयोग गरेपछि हात धोएर मात्र कक्षाकोठामा प्रवेश गरुन् भन्ने हेतुले बर्दियाको बार बर्दिया नगरपालिका वडा नं. ७ रम्मापुर स्थित जनता माध्यमिक विद्यालयमा भने ‘पदचाप’ बनाईएको छ । शौचालयको ढोकादेखि बनाएको ‘पदचाप’ पछ्याउँदै जाँदा हात धुने स्थानमा पुगिन्छ । त्यसपछि बल्ल कक्षाकोठातिर ‘पदचाप’ सोझिन्छ ।’
विद्यालयमा अध्ययनरत बालबालिकालाई शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानीको विकास गराउन यस्तो जुक्ति निकालेको वाटर एड नेपाल, वास गेन्स परियोजनाका परियोजना प्रबन्धक उमा शंकर यादवले बताउनुभयो।
‘नानी बाबुहरुलाई बारम्बार भनिरहनु भन्दा उनीहरुको व्यवहारसँग मिल्दाजुल्दा चित्रको माध्यमबाट स्वच्छता व्यवहार परिवर्तन गराउन यस्तो उपाय निकालिएको हो’ उहाँले भन्नुभयो।
उहाँका अनुसार शौचालयमा दिसापिसाब गरेपछि पानीले सफा गर्न पनि चित्रबाटै निर्देश गरिएको छ । ‘शौचालयको भित्तामा देखिने गरी बाल्टिनले पानी खन्याईरहेको चित्र बनाएका छौं, यस प्रकारको चित्रले उनीहरुको आनीबानीमा परिवर्तन ल्याउँछ भन्ने ठानेका छौं’ उहाँले भन्नुभयो।
परियोजना प्रबन्धक यादवका अनुसार युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्र र स्थानीय सरकार सँगको साझेदारी र विद्यालयको समन्वयमा बर्दिया जिल्लाको ५ वटा स्थानीय तहका ३३ वटा विद्यालयमा WASH for Gender and Adolescent Inclusive School in Nepal (WASH GAINS) वास गेन्स परियोजना सञ्चालन भइरहेको छ ।
ती सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, पहुँचयुक्त शौचालय, हात धुने स्थान र सुरक्षित पिउने पानीको व्यवस्था गरिएको छ । विद्यालयमा किशोरीहरुले प्याड फेर्ने स्थान र यसको व्यवस्थापनका लागि इन्सिनेरेटरको समेत व्यवस्था गरिएको वाटर एड वास गेन्स परियोजनाका प्राविधिक अधिकृत रबिन्द्र गोदारले बताउनुभयो ।
वास गेन्स परियोजनाले विद्यालयका किशोर किशोरीहरुको क्षमता विकास गरी विद्यालयमा पहुँचयुक्त वास सुविधा निर्माण र नगरपालिकाको नीति निर्माणमा सहयोग गरिरहेको वास गेन्स परियोजनाका संयोजक जगदिश्वर चौधरीले बताउनुभयो।
उहाँका अनुसार परियोजना कार्यान्वयन भैरहेका पाँच वटै स्थानीय तहका विद्यालयहरुलाई तारे पद्धतिमा स्वमूल्याङ्कन गर्न थालिएको छ भने विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ लाई स्थानीयकरण गरी कार्यान्वयन गर्न थालिएको छ। यस कार्यविधि अनुसार मापदण्ड पूरा भएका विद्यालयहरुलाई तीन तारे घोषणा गरिएको परियोजना संयोजक चौधरीले बताउनुभयो।
‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा भएपछि बालबालिकाहरुको उपस्थिति दर बढ्ने र यसले शैक्षिक गुणस्तर अभिवृद्धिमा सघाउ पुग्ने विश्वास लिएका छौं’ संयोजक चौधरीले भन्नुभयो।
बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका गरी ३३ वटा विद्यालयमा सञ्चालन भैरहेको वास गेन्स परियोजना सन् २०२६ मार्च सम्म सञ्चालन हुनेछ ।