दुई करोड भन्दा बढी रकम खर्चेर स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

  वास खबर सम्बाददाता  255 पटक हेरिएको

खोटाङ : दुई करोड भन्दा बढी लगानी गरिएको खोटाङको खोटेहाङ गाउँपालिका–६ स्थित इन्द्रेणीपोखरी सुकेको छ । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गरेर दुई करोड १२ लाख भन्दा बढी रकम खर्च गरे पनि पोखरी भने सुकेको छ ।

परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ। प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालिएको भए पनि बिना अध्ययन विभिन्न संरचना बनाउँदा पोखरी सुकेको हो ।

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानी समेत सुकेको छ। यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल थियो। हरेक नयाँ वर्षको दिन बृहत मेला लाग्ने गर्दछ। समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरीको स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेराबार निर्माण गरिएको छ।

इन्द्रेणीपोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी समेत बनाइएको छ। पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरी माथि इन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृति समेत बनाइएको छ।

राज्यकोषको रु २० लाख रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावाहुरीले ढाल्यो र पुनः राखियो। फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समिति मार्फत काम गरिएको थियो ।

पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको रु ४० लाख, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट रु २० लाख गाउँपालिकाको रु एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च भएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरु अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो। स्तरोन्नतिको काम गरिएसँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीयवासी निराश बनेका छन्।

प्राकृतिक संचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गर्नुभयो। “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ । इन्द्रेणीपोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन”, उहाँले भन्नुभयो “बिनाअध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ। यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ।”

इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तरपूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थल जोड्न सडकमार्ग समेत निर्माण गरिएको छ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणी पोखरीमा बाह्रै महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन्।

पर्यटन प्रवर्धन लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताउनुभयो। “इन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन। प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानस मेत चिरा–चिरा भएर फुटेको छ। अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार