माझखर्क लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

  वास खबर सम्बाददाता  378 पटक हेरिएको

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ स्थित माझखर्क गाउँ स्वास्थ्यचौकी खानेपानी तथा सरसफाइ योजना समुदायलाई हस्तान्तरण गरिएको छ । सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पुर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना र बनगाड कुपिण्डे नगरपालिकाको ७८ लाख ९६ हजार ८ रुपैयाँ, उपभोक्ताको नगद योगदान २ लाख ७९ हजार, साथै उपभोक्ताको श्रमदान १९ लाख १० हजार ३ सय २३ गरी लागत साझेदारी १ करोड ८५ हजार ३ सय ३१ रुपैयाँको लागतमा वृहत् लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न भएको हो ।

पानीका लागि निकै कष्ट भोग्दै आएका बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ र साविक निगालचुला गा.वि.स. मा पर्ने माझखर्क टोलबासी खानेपानीको दुःख हटेपछि निक्कै खुशी भएका छन् ।

करिब २ सय मिटर भर्टिकल हाइटमा पानी तानिएको छ । स्थानीय खोलाबाट पहाड्को टुम्पोमा पानी तानेर एक घर एक धाराको रुपमा पानी वितरण गरिएको हो । उक्त पानीले टोलबासीलाई निकै सहजता भएको छ । शुरु शुरुमा योजना सफल बन्छ कि बन्दैन भन्ने आशंका हुने गरेको भएता पनि योजना पूर्ण रुपमा सफल भई नगर तथा जिल्लाकै उच्च बस्ती माझखर्कमा पानी पुगेपछि र स्थानीयको कष्टकर जीवनमा सुविधा थपिएको कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख कर्णवहादुर वुढाथोकीले बताउनुभयो ।

आयोजना हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बुढाथोकीले पालिकाभर एक घर एक धाराको प्राबधान अनुसार नगरपालिका अघि वढेको स्पष्ट पार्नुभयो । उक्त खानेपानी आयोजनाले निर्माण गरेका जम्मा ६२ निजी धाराहरु र ३ वटा संस्थागत धाराहरु सवै सूचारु अवस्थामा छन् । संस्थागत धाराहरु बिद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा रहेका छन् । संस्थागत धाराहरुबाट कर्मचारी, शिक्षक, विद्यार्थीका साथै स्वास्थ्य कार्यालय र वडा कार्यालयका सेवाग्राहीहरुलाई लाभ पुगेको छ ।

आयोजना हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले खानेपानीको दिगोपनाका लागि मर्मत सम्भार कोष स्थापना गर्नुपर्ने, मर्मत सम्भार कार्यकर्ता नियमित व्यवस्थापन गर्नुपर्ने र आयोजना संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिका पुर्वाधार विकास शाखा प्रमुख महेश देवकोटा, वडा नं. १२ का अध्यक्ष लालबहादुर घर्ती, निवर्तमान नगर स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेल, वास सल्लाहकार गुम्म वहादुर नेपाली, वास संयोजक गोविन्द प्रसाद शर्मा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष भुमलाल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सांसद तथा पुर्वमन्त्री प्रकाश ज्वालाले खानेपानी दुरदराज र उच्च भुभागमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतिकरणमा यसरी नै विकास गर्न सके उच्च वसाइसराइको दरलाइ समेत रोक्न सकिने बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार