कादुरी, मङ्गला र नेवाले ५ वटा खानेपानी आयोजना निर्माण गर्दै

  वास खबर सम्बाददाता  353 पटक हेरिएको

म्याग्दी : मङ्गला गाउँपालिका–५ मा पाँचवटा खानेपानी आयोजना सञ्चालन हुने भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित रु. दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुने छन् ।

मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु. एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भइरहेका चार आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको रु. एक करोड पाँच लाखको लागतमा निर्माण हुने एक योजनाबाट ९० धारा मार्फत खानेपानी वितरण गरिने जानकारी दिनुभयो ।

“पाँचवटै योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित धमाधम निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण हुन्छ ।”

कुन खानेपानीबाट कति धारा ?

नेवा मार्फत रु ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण हुने पाखु–कुरसिम्ला खानेपानी योजनाबाट ८४ धारा

रु. २९ लाख ९२ हजार ७३९ लागत रहेको दिही–कुमलेरा खानेपानी योजनाबाट ३५ धारा

रु. ६४ लाख ६२ हजार ९१२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा

र रु. ३६ लाख ८६ हजार ८७० लागत रहेको अर्मन खानेपानी योजनाबाट ६३ धारा निर्माण हुने

कादुरी संस्था मार्फत रु. एक करोड पाँच लाखको लागतमा निर्माण हुने टिकावाङ खानेपानी योजनाबाट ९० धारा बनाइने

नेवा मार्फत कार्यान्वयन हुने योजनामा कुल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान छ । घरघरमा खानेपानी धाराका साथै भाँडा धोएपछि सुकाउने पक्की चाङ पनि बनाइनेछ ।

करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’सहितको खानेपानी योजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी योजना निर्माण भएको थियो ।

मङ्गला–५ पोकका बासिन्दा भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकामा घरमा नै निजी धारा भएपछि समयको बचत, सहज र सुविधा हुने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार