काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आगामी योजनामा कर्णाली प्रदेशका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री यादवले कर्णाली प्रदेशका १० जिल्लामा खानेपानीको अवस्था अत्यन्तै गम्भीर रहेको विषय प्रस्तुत गर्नुभयो ।
उहाँले फिनल्याण्ड सरकार, स्थानीय सरकार तथा खानेपानी मन्त्रालयको समन्वयमा सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता (सुस्वा) आयोजनाले ती जिल्लामा केही कार्यहरू गरिरहेको उल्लेख गर्दै आगामी बजेटमा कर्णाली प्रदेशका जनतालाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन विशेष योजना निर्माण गरी त्यसलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्यहरू, प्रगति विवरणहरू तथा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरू बारे विस्तृत रुपमा छलफल भएको थियो ।
समितिका अन्य सदस्यहरुले उठाएका प्रश्नहरूको जवाफ दिदै मन्त्री यादवले आफूले मन्त्रालयको नेतृत्व गरेपछि थुप्रै रोकिएका बिस्तृत परियोजना प्रतिबेदन (DPR) खानेपानी आयोजनाहरू पुन: सञ्चालनमा ल्याइएको र हालसम्म ९८ प्रतिशत नेपाली जनतालाई आधारभूत खानेपानी उपलब्ध गराइएको जानकारी गराउनुभयो।
‘जनतालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको मुख्य प्राथमिकता हो यस कार्यका लागि सरकार पूर्णत: प्रतिबद्ध छ’ उहाँले भन्नुभयो ।