बैतडी :सुदूरपश्चिमको हरित पहाडले ढाकेको बणियां गाउँ आजभोलि हरियालीभन्दा बढी प्यासको पीडामा डुबेको छ। परम्परागत पानीका न्वालोहरू सुकेपछि गाउँलेहरूको दिनचर्या अब पानीको खोजीमा बित्ने गरेको छ।
दोगडाकेदार गाउँपालिका–२ अन्तर्गत पर्ने बणियां गाउँका चार टोल, कणेली, ढाँण, पातली र बणियांमा आज पानीको हाहाकार छ। यहाँका झन्डै एक हजार घरपरिवार एक जर्किन पानीका लागि दिनभरि भौँतारिन विवश छन्।
स्थानीय उपभोक्ता देवराज जोशी भन्नुहुन्छ, “हामी बिहानदेखि बेलुकासम्म एउटै जर्किन पानीको लागि उकालो ओरालो गर्दै हिँड्छौँ। कतिपय दिन त भोकै बस्नुपर्छ। पानी नपाएर भात पनि पकाउन सकिँदैन।”
बणियां गाउँमा खानेपानीको स्थायी समाधानका लागि पाँच वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले तीन करोड ९६ लाख रुपैयाँको लागतमा लिफ्ट खानेपानी योजना सुरु गरेको थियो। तर, बजेट अभावका कारण योजना अधुरै रहँदा गाउँलेहरू आज पनि उस्तै पीडामा छन्।
तीनवटा स्किम तयार, तर…
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाका अनुसार चार स्किममध्ये तीनवटा स्किम लिफ्ट प्रविधिमा आधारित छन्। स्किमका लागि आवश्यक मोटर चलाउने विद्युत्का पोल गाड्ने र तार तान्ने कार्य सकिएको छ। तर, पुराना योजनामा पर्याप्त बजेट नआएर हरेक वर्ष नयाँ योजना सुरु गर्नुपर्ने बाध्यता आएको बताउनुहुन्छ।
उहाँको भनाइमा, “प्रदेश सरकारबाट माथिबाटै नयाँ योजना तोकेर पठाइने भएकाले पहिलेका अधुरा योजना प्राथमिकतामा पर्न सकेका छैनन्।”
राजनीतिक पहुँचको खेलले थप पीडा
स्थानीय केशव भाटले बणियांका बासिन्दाहरू राजनीतिक पहुँच नहुँदा अन्यायमा परेको बताउनुहुन्छ। “पाँच वर्षदेखि लिफ्ट खानेपानी योजना अलपत्र छ। बजेट आउने ठाउँमा राजनीतिक पहुँच हुनेहरूकै बोलबाला छ। हामीजस्ता सामान्य बासिन्दा पानीको आशमै बस्न बाध्य छौँ,” उहाँले भन्नुभयो।
बैतडीमा पछिल्ला वर्षहरूमा सडक निर्माणका क्रममा डोजर प्रयोग गर्दा जथाभावी खनाइ भयो। फलस्वरूप धेरै प्राकृतिक पानीका मुहानहरू सुके। जलवायु परिवर्तन, डढेलो, र पर्यावरणीय क्षतिको असरले गर्दा परम्परागत कुवा, न्वालो, पँधेरा सबै सुक्दै गएका छन्।
आज बैतडीमा एक सयभन्दा बढी लिफ्ट खानेपानी योजनाहरू सञ्चालनमा छन्। चालु तथा आगामी आर्थिक वर्षमा थप ५१ वटा लिफ्ट खानेपानी योजना निर्माणको चरणमा छन्। तर, पुराना अधुरा योजनाहरूजस्तै बणियांको अवस्था फेरि दोहोरिन नदिन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक देखिन्छ।
सिस्टम सुधारको खाँचो
आज बणियांका बासिन्दाहरूले भोगिरहेको पीडाको मूल कारण योजना बनाउने शैली, बजेट विनियोजनको प्राथमिकता र कार्यान्वयनको निगरानी प्रणालीमा रहेको कमजोरी हो।
सडक र विकासका नाममा डोजर लगाइन्छ, मुहान सुक्छ; अनि फेरि लिफ्ट खानेपानी योजना बन्छ। तर त्यो योजना बजेट अभावमा अधुरो रहन्छ। यसले सरकारको दीर्घकालीन योजनाहीनतालाई उजागर गर्छ।