
मुगु : जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।
स्थानीय महिलालाई ज्ञान, अनुभव र नेतृत्व क्षमता सशक्त बनाउँदै समुदायमै समाधानका ढोका खोल्ने उद्देश्य सहित गरिएको अभियानलाई मुगुका दुर्गम बस्तीहरूले दुर्लभ अवसरका रूपमा अनुभव गरेका छन्।
महिला अधिकार केन्द्र नेपाल, मुगुले टेवा नेपालको सहयोगमा मुगुमकार्मारोङ गाउँपालिका–७, ८, ९ र सोरु गाउँपालिका–९ मा सोमबार सम्पन्न गरेको अभियानमा चार वडाका १ सय ६५ जना महिलाको सहभागिता थियो।
हिमाली भूगोल, कठिन पहुँच र जलवायु जोखिमका बीच पनि महिलाको उत्साहले अभियानलाई थप प्रभावकारी बनाएको अध्यक्ष सुकमाया शाहीले बताउनुभयो।
कार्यक्रममा जलवायु परिवर्तनका वैज्ञानिक कारणदेखि लिएर स्थानीय स्तरमा देखिएका प्रत्यक्ष असर, बारम्बार दोहोरिने असिनापानी, कठ्याङ्ग्रिने चिसो, पानी अभाव, बाली नष्ट हुनेजस्ता चुनौतीका कारण र समाधानबारे विस्तृत छलफल भएको थियो।
मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही स्वयं उपस्थित हुँदा ‘जलवायु अनुकूलन’ अब स्थानीय तहको प्राथमिकता बन्न थालेको स्पष्ट संदेश गएको सहभागीहरू बताउँछन्। गाउँपालिका अध्यक्ष धरमबहादुर शाहीले भन्नुभयो जलवायु परिवर्तन अब दूरदराजको विषय छैन, यो हामीले दैनिक अनुभव गरिरहेको चुनौती हो। महिलाले यसलाई बुझ्नु, छलफल गर्नु र समाधानका उपाय खोज्नु,यो नै हाम्रो समुदायको वास्तविक सशक्तिकरण हो। स्थानीय सरकारका रूपमा हामीले जलवायु अनुकूलन र जोखिम न्यूनीकरणलाई आगामी नीति तथा योजनाको केन्द्रमा राख्नेछौँ। समुदाय, विशेष गरी महिलाको सक्रियता बिना कुनै पनि दीगो समाधान सम्भव छैन।
‘पहिले जलवायु परिवर्तन पुस्तकका शब्दजस्तै लाग्थ्यो, आज भने आफ्नै जीवनसँग जोडिएको यथार्थ ठम्याउन सकेँ’ सहभागी तारा बिष्टले अनुभव सुनाउनुभयो। अर्की सहभागी उजेली बुढाले तालिमले दैनिक जीवनमै लागू गर्न सकिने उपाय देखाइदियो भन्दै उत्साह प्रकट गरिन्। गत वर्ष खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिसकेको महिला अधिकार केन्द्र नेपालले आगामी वर्ष स्थानीय सरकारका नीति तथा योजनामा जलवायु परिवर्तनलाई अनिवार्य दिगो प्राथमिकता’का रूपमा स्थापित गर्ने रणनीति लिएको छ।
जलवायु परिवर्तनले सिर्जना गरेका आकस्मिक मौसम, कृषि उत्पादनमा गिरावट, पानी खोज्न दैनिक घण्टौँ लगाउने बाध्यता, इन्धन संकट, र घरपरिवार सम्हाल्ने दोहोरो भार यी सबै समस्याले महिला माथि थपिएको बोझलाई अब महिलाले नै समाधानतर्फ रूपान्तरण गर्न थालेको अभियानको निष्कर्ष छ।
मुगुबाट फैलिएको यो चेतनाको लहरले जलवायु परिवर्तन स्थानीय पहाड, खेतबारी, चुलोचौका र महिलाको जीवनसँग जोडिएको गहिरो सरोकार हो भन्ने सन्देश दिन सफल भएको छ।
अध्यक्ष सुकमाया शाहीका अनुसार हिमाली महिलाको आवाज अब योजनाको केन्द्रमा लैजानुपर्छ, तब मात्र जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न सघाउ पुग्छ।

127 पटक हेरिएको 

