पहिरोले खानेपानीको पाइप बगायो, ४५ लाख रुपैयाँभन्दा बढीको क्षति

  वास खबर सम्वाददाता  307 पटक हेरिएको

इलाम : इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा आपूर्ति हुँदै आएको खानेपानीको मुहानको पाइप पहिरोले बगाउँदा ४५ लाख रुपैंयाँभन्दा बढीको क्षति भएको छ । केही दिनअघिको बाढीपहिरोले पानीको मुहानको पाँच सय मिटर मुख्य पाइप लाइन र सडक बगाएको छ ।

सूर्योदय नगरपालिका–१ को इन्दे्रणी दोभानमा रहेको श्रीखोलाको पाँच सय मिटरभन्दा बढी मुख्य पाइपलाइन बगाएपछि नगर क्षेत्रको फिक्कल बजारमा पानी आपूर्ति हुन सकेको छैन । मुख्य पाइप र सडकसमेत पहिरोले बगाउँदा ४५ लाख बढीको क्षति भएको फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानीको मुहानसम्म पुग्ने सडकसमेत पहिरोले बगाएकाले ठुलो रकम सडक मर्मतमा खर्च हुने भएको छ । पहिरोले ३० वटा पाइप बगाएपछि उक्त पाइपको ठाउँमा नयाँ पाइप बिछ्याउन रुट परिवर्तन गर्नुपर्ने भएपछि फिक्कल क्षेत्रमा पानी आपूर्ति गर्न अझै तीनचार दिन लाग्ने अध्यक्ष बरालले जानकारी दिनुभयो । समितिले पाइप बगाएको क्षेत्रमा नयाँ पाइप राख्न मङ्गलबार नै १५ लाख रुपैँयाँको पाइप खरिद गरी मुहानसम्म पु¥याएको छ । नयाँ पाइप खरिद, जडान र सडक मर्मत गर्दा उक्त रकमभन्दा बढी खर्च लाग्ने समितिले जनाएको छ ।

अध्यक्ष बरालले भन्नुभयो, “प्राकृतिक विपत्तिले गर्दा पानी अभाव भएको हो, मर्मतमा रातदिन कामदार खटाएका छौँ ।” श्रीखोलाको पानीले नगरको फिक्कल बजारसहितका क्षेत्रका एक हजार छ सय परिवारले पानी उपभोग गर्दै आएकामा हाल एक हजार घरमा पानी अभाव भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । उक्त मुहानबाट बजार क्षेत्रमा पाँच लाख लिटर पानी दैनिक रूपमा खपत हुँदै आएको थियो ।

पहिरोका कारण बारम्बार मुहान क्षेत्रमा क्षति हुने गरेको छ । समितिले एक करोड लिटर मौज्दात रहने गरी ट्याङ्की निर्माण गर्ने योजना बनाए पनि टुङ्गोमा पुग्न नसकेको अध्यक्ष बरालले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र फिक्कलमा केही दिनदेखि पानी अभाव भएपछि यहाँको होटल र पर्यटन व्यवसाय चौपट भएको छ । व्यवसायीले अहिले नजिकका ढुङ्गेधारा र ट्याङ्करबाट पानी खरिद गरी व्यवसाय सञ्चालन गरिरहेको विकास प्रधानले जानकारी दिनुभयो ।

स्थानीयले टयाङ्करमा ल्याएको पानी दुई रुपियाँ प्रतिलिटरका दरले खरिद गरी व्यवसाय सञ्चालन गरिरहेको होटल व्यवसायीले बताएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार