कफीका पारखीहरुको चाप काठमाण्डौ उपत्यका र उपत्यकाभन्दा वाहिर पनि वढ्दो छ । आफ्नो गाउँमा उत्पादित कफी भन्दा पनि विदेशबाट आयातित प्रशोधित कफीको स्वादमा रम्ने युवाहरुको लर्को शहरका गल्लीमा प्रशस्त भेटिन्छ ।
कुरा कफीको मात्र होईन यहाँ मासुका आयातित परिकारहरुमा पनि नेपालीको रुची वढ्ने क्रम जारी छ । नेपालीका हरेक चाडपर्वहरुमा आयातित परिकारहरुको वर्चश्व वढ्दै छ भने भोज भतेरमा खानाको ठूलो हिस्सा बाहिर फ्याँक्नेहरु पनि छन् ।
कुरा कफी र नयाँ खानाको स्वादको मात्र होईन यहाँ हरेक पटक सामाजिक संजालमा पोष्ट गर्दा नयाँँ लुगा लगाउनु पर्छ भन्ने जमात वढ्दैछ । यसले कपडाको पुनः प्रयोग र कपडालाई मर्मत गरी लगाउने जमाना हराएको जस्तो भान हुन थालेको छ।
सामान्य अवस्थामा पैसा हुनेले खानाका परिकार रोज्नु र नयाँ नयाँ कपडा लगाउने कुरालाई अन्यथा लिन मिल्दैन होला । तर एक वातावरण तथा स्वच्छ पानी संरक्षणकर्मीको हिसावले कुरा गर्दा भने नयाँ खानाका परिकारहरु त्यो पनि नेपालभन्दा वाहिरबाट आयातित गरिएका परिकार र नयाँ नयाँ कटनका कपडाहरु लगाउने भीड वढ्दै जाँदा चिन्ता लाग्ने रहेछ ।
उपभोग गर्ने तौरतरिकामा फरकपना आउँदा यसको प्रत्यक्ष र अप्रत्यक्ष सम्वन्ध पानीको खपतसँग जोडिन्छ । संसारमा सफा पानीको मात्रा एकदमै कम छ । अझ हामीले सजिलै प्रयोग गर्न सक्ने पानी भनेको जम्मा संसारमा उपलब्ध पानी मध्ये करिब १ प्रतिशत मात्र हो । सामान्यतया खानेपानी, सिँचाई र घरायसी प्रयोजनको बहेक अन्यत्र पानीको प्रयोगको वारेमा कम मात्र चर्चा हुने गर्दछ । हामीले प्रयोग गर्ने हरेक वस्तुको उत्पादनमा स्वच्छ पानीको सम्वन्ध जोडिएर आएको छ भन्ने वुझाउन सकिएको छैन ।
संसारमा स्वच्छ पानीको कहाँ र कसरी प्रयोग भएको छ भन्ने सम्वन्धमा अध्ययन र अनुसन्धान गर्ने क्रम जारी छ । स्वच्छ पानीको वढ्दो प्रयोगमा पनि वहस चलिरहेकै छ । पानीको खपत किफायती ढंगबाट गर्ने सम्वन्धमा पनि कामहरु अगाडि वढिरहेका छन् ।
पानीको प्रयोगको सम्वन्धमा पानी खपतको मात्रा मापन गर्ने विधि वाटर फुटप्रिन्ट हो । यसले हामीले प्रयोग गर्ने प्रत्येक सामान र सेवाहरु उत्पादन गर्न कति पानी प्रयोग भएको छ भन्ने जनाउँछ । यसले संसारका साना देखि ठूला बहुराष्ट्रिय उद्योगहरुले हरेक सामान उत्पादन गर्दा पानीको खपत कति गर्दछन् । कुनै सामान उत्पादन, प्रशोधन, ढुवानी देखि हामीले प्रयोग गर्ने अवस्था सम्म आईपुग्दा कति पानी खपत हुन्छ त्यो पनि मापन गर्न मद्दत गर्दछ । यो विधिबाट प्रत्येक व्यक्तिको वाटर फुटप्रिन्ट कति छ भने निकाल्न सकिन्छ । सामान्य अर्थमा भन्दा वाटर फुटप्रिन्ट भनेको मानिसहरुले उपभोग वा प्रदुषित गरेको स्वच्छ पानीको मात्रा मापन गर्ने एक विधि हो ।
वाटर फुटप्रिन्टले उद्योग संचालक, सरकार र व्यक्तिहरुलाई विभिन्न प्रकारका प्रश्नहरुको उत्तर दिन मद्दत गर्दछ । उदाहरणका लागि उद्योगको संचालन वा आपूर्ति श्रृंखलामा पानीको निर्भरता कहाँ छ ? स्वच्छ पानीका स्रोतहरुलाई नियमकहरुले कत्तिको जोगाईरहेका छन् ? मानिसहरुले आफ्नै वाटर फुट प्रिन्ट घटाउन के गर्न सक्छन् ।
मानिस र प्रकृतिका लागि पानी व्यवस्थापन मद्दत गर्न कसरी सक्छन् ? वाटर फुट प्रिन्टको माध्यमबाट प्रति टन उत्पादन, प्रति हेक्टर कृषियोग्य भूमि, प्रति मुद्रा एकाई वा अन्य कार्यात्मक एकाईहरुमा पानीको खपत घनमिटरमा नै मापन गर्न सकिन्छ । वाटर फुट प्रिन्टले हामीलाई हाम्रो सीमित स्वच्छ पानीका स्रोतहरु कुन उद्देश्यका लागि उपभोग र कसरी प्रदुषित हुँदैछ भन्ने बुझ्न मद्दत गर्छ । यसको प्रभाव कस्तो पर्दछ भन्ने कुरा पानी कहाँबाट र कहिले लिईन्छ भन्नेमा कुरा निर्भर गर्दछ । यदि पानी पहिले नै कम भएको स्थानबाट लिईन्छ भने यसको परिणाम गम्भीर हुन पनि सक्छ ।
वाटर फुट प्रिन्ट कुनै प्रक्रिया, उत्पादन, कम्पनी वा क्षेत्रको प्रत्यक्ष र अप्रत्यक्ष पानी प्रयोगलाई हेरिरहेको हुन्छ र यसले आपूर्ति श्रृंखला देखि अन्तिम प्रयोगकर्तासम्मको सम्पूर्ण उत्पादन चक्रभर भएको पानीको उपभोग र प्रदूषणलाई समेट्छ । व्यक्ति वा समुदाय, कुनै देश वा सम्पूर्ण मानव जातिले उपभोग गर्ने सबै सामान र सेवाहरू उत्पादन गर्न आवश्यक पानीको परिमाण मापन गर्न पनि वाटर फुट प्रिन्ट प्रयोग गर्न सकिन्छ । यसमा प्रत्यक्ष वाटर फुट प्रिन्ट पनि समावेश हुन्छ, जसमा व्यक्तिले सिधै प्रयोग गर्ने पानी र अप्रत्यक्ष वाटर फुट प्रिन्ट पनि पर्दछ। जुन उपभोग गरिएका सम्पूर्ण उत्पादनहरूको पानी खपतको योगफल हो । वाटर फुट प्रिन्टलाई तीन तरिकाबाट हेर्न पनि सकिन्छ ।
हरियो (ग्रीन) वाटर फुट प्रिन्ट
यसले वर्षा बाट आएको पानीलाई जनाउँछ । जुन माटोको जराको क्षेत्रमा संचित भई वाष्पीकृत, बाष्पोत्सर्जन गरिएको वा बिरुवाद्वारा अवशोषित हुन्छ । यो विशेष गरी कृषि, बगैंचाबारी र वनजङ्गलका उत्पादनहरूका लागि सान्दर्भिक हुन्छ ।
नीलो (ब्लु) वाटर फुट प्रिन्ट
यसले सतही वा भूजल स्रोतबाट प्राप्त पानीलाई जनाउँछ, जुन वाष्पीकृत हुने, उत्पादनमा अवशोषित हुने, एक जल स्रोतबाट लिइएर अर्को जल स्रोतमा फिर्ता हुने वा फरक समयमा फिर्ता गरिने हुन सक्छ । सिंचाइ कृषि, उद्योग र घरेलु पानी प्रयोग प्रत्येकको नीलो वाटर फुट प्रिन्ट हुन सक्छ ।
खैरो (ग्रे) वाटर फुट प्रिन्ट
यो विशिष्ट जल गुणस्तर मापदण्डहरू पूरा गर्न प्रदूषकहरूलाई मिलाउन आवश्यक ताजा पानीको परिमाणलाई जनाउँछ । खैरो वाटर फुट प्रिन्टले पानीको स्रोतमा पाइपबाट सिधै वा माटो, अपारदर्शी सतहहरू, वा अन्य विभिन्न स्रोतबाट बगेर वा रिसाइर प्रदूषण गर्ने बिन्दु स्रोतको प्रदूषणलाई समेट्छ ।
संसारभरमा पानीको खपत वढ्दो छ । वढ्दो जनसंख्या र मानिस आर्थिक रुपमा मजवुत हुँदै जाँदा यसले वढाउने पानीको खपतको कारण पनि सिमित मात्रामा रहेको स्वच्छ पानीलाई वचाउन र खपत कम गर्नको विकल्प छैन । यसको लागि वाटर फुट प्रिन्ट कम गराउने केही उपायहरु अवलम्वन गर्न सकिन्छ । हेर्दा सामान्य लागे पनि तल उल्लेखित केही उपायहरु अवलम्वन गर्दा वाटर फुट प्रिन्टलाई कम गर्न सकिन्छ ।
खानेबानीमा परिवर्तन गर्ने
खाना उत्पादन, प्रशोधन र ढुवानीमा पानीको खपत अत्यधिक हुन्छ । सामान्य कुरा गरौ कुनै दिन कफीको साटो चिया पिउँछु भन्दा, कुनै दिन भातको परिकार खानुको साटो गहुँको परिकार खान्छु भन्दा पनि पानीको वचत हुन्छ ।
जस्तो १ कप कफी तयार हुँदा करिब १४० लिटर पानीको खपत हुन्छ जवकि १ कप चियाको लागि ३० लिटर पानीले पुग्छ । अझ प्रशोधन नगरिएको खानाका परिकारहरु खाँदा पनि पानीलाई वचत गर्न सकिन्छ । माँसहारीबाट शाकाहारी वन्दा पनि पानीको वचत हुने देखिन्छ ।
जस्तो कि १ दर्जन अण्डा २४०० लिटर पानीको आवश्यकता देखिएको छ । १ किलो चिकन : ३९०० लिटर, १ किलो वँगुरको मासुः ४८०० लिटर, १ किलो विफ: १५,५०० लिटर । यसको तुलनामा १ केजी व्रोकाउली तरकारी उत्पादन गर्नको लागि ३०० लिटर पानीले पुग्ने देखिन्छ । अझ संसारभरमा मासुको प्रयोगमा कमी ल्याउने कसरी भनेर अभियान चलाउने हो भने पानीको खपतलाई अत्यधिक रुपमा कम गर्न सकिन्छ ।
घरको भित्री काममा पनि पानी खेर जानबाट रोक्ने
घरभित्र पनि पानीको पुनः प्रयोग विधिहरु धेरै छन् । यसमा पनि पानीको खपतमा पनि वचत गर्ने विधिहरु अपनाउन सकिन्छ । घरमा स्विमीङ पुलको प्रयोगमा कमी, वाथटप प्रयोगमा कम, पानीको पुनः प्रयोग गर्ने जस्तो कपडा धोएको पानीलाई पुनः प्रयोग गर्ने, घरमा धारा तथा अन्य पानीको प्रणालीबाट पानी चुहिएको छ भने यसको रोकथाम गर्ने जस्ता विधिहरु अपनाउन सकिन्छ ।
घरभित्र खाना पनि अत्यधिक फाल्ने चलन हुन्छ । यसले पनि पानीको खपतलाई वढाएको हुन्छ । संसारभर अहिले करिव २ अर्ब किलोग्राम खाना फ्याँकिन्छ भनिएको छ । यो फ्याँकेको खानाले पार्ने वातावरणीय नकारात्मक प्रभाव त छँदैछ त्यसको अलावा स्वच्छ पानीको खपतमा पनि वृद्धि गरेको छ ।
बाहिरी रुपमा प्रयोग हुने पानीलाई बचाउने
पानी वितरण गर्ने प्रणालीमा पानीको चुहावटलाई रोक्न सकिन्छ । पानीको वहुउपयोग र पुनः प्रयोगमा विशेष जोड दिन सकिन्छ । पानीका स्रोतहरुलाई प्रदुषण हुनबाट जोगाउने र पानीका वैकल्पिक स्रोतहरुको वारेमा सोच्नुपर्दछ । सकभर आकाशेपानी संकलन गर्ने विधिहरु पनि अवलम्वन गर्न सकिन्छ ।
उर्जा वचत, पानीको वचत
पानी उत्पादन, वितरण तथा अन्य प्रयोजनमा पनि उर्जाको खपत भईराखेको हुन्छ । पानीको खपत कम गर्दा यसले उर्जालाई पनि वचाउँछ । त्यस्तै कार्यालयमा पनि धेरै पेपर प्रयोग गर्दा उर्जा र पानीको खपत वढेको हुन्छ । अध्ययनले के देखाउछ भने १ पन्ना एफोर साईजको पेपर निर्माण गर्दा करिव १० लिटर पानीको खपत हुने देखिन्छ ।
१ किलोग्राम कटन निर्माणको लागि १० हजार लिटर पानीको खपत हुने देखिएको छ । २७०० ग्राम एक टिर्सट निर्माण गर्दा २७ सय लिटर पानीको खपत हुने देखिन्छ । कुनै दशैमा नयाँ कपडा किन्दिन पुरानो कपडाले चलाउँछु भन्दा पनि यसले स्वच्छ पानीको वचतमा सहयोग गरेको हुन्छ ।
सामान किन्ने बानीमा परिवर्तन
सामान किन्दा सोच्ने, पुनः प्रयोग गर्ने, पुराना कपडाहरुलाई मर्मत गरेर लगाउँदा पनि पानीको खपतलाई कम गर्न सकिने रहेछ । हामीले सामान किन्दा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिदा यसले सामानको ढुवानी एवं एक स्थानमा मात्र पानीको खपत बढी हुने कुुरालाई कम गराउन सकिन्छ।
संसारको वढ्दो तापक्रम, मानवीय क्रियाकलापको कारण प्रदुषणले गर्दा स्वच्छ पानीको स्रोतमा असर परेको छ । मानिसको खानपान, पहिरन र अन्य विलासिता गतिविधिहरुले पनि पानीको खपत वढाउनुको साथै पानीको प्रदुषण हुने दरमा पनि वृद्धि गरेको छ ।
यसले गर्दा भविश्यको सन्ततिलाई स्वच्छ पानीको लागि अझै बढी संघर्ष गर्नुपर्ने देखिन्छ । यसको लागि मानिसहरुका सामान्य वानी व्यहोरामा परिवर्तन गर्दा वाटर फुट प्रिन्ट कम गराउन सकिदो रहेछ ।
जस्तो यो हप्ता मैले मासु खाँदिन, आज कफीको साटो चिया पिउँछु, यो वर्ष मैले पुरानो नै कपडा लगाउँछु वा नयाँ कपडा किन्दिँन, घरमा मैले कुनै पनि खानेकुरा फ्याँक्दिन, घरमा जोडेको पानीको प्रणालीबाट पानीको चुहावट हुन दिदिँन, दाँत माझ्दा धाराको पानी खोलेर राख्दिँन, कपडा धोएको पानीलाई पुनः शौचालयहरु सफा गर्न प्रयोग गर्छु । सकभर स्थानीय उत्पादन नै खान्छु भन्दा पनि पानीको खपतलाई कम गर्न सकिने रहेछ ।
यसरी सामान्य बानी व्यबहार परिवर्तनले पनि स्वच्छ पानीको वचतमा चामत्कारिक परिवर्तन ल्याउन सकिन्छ ।
आनन्द गौतम
(Facebook, Anand Gautam | LinkedIn)
लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।