कालिकोट: कालिकोट जिल्लाका प्रायः सबै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको आपूर्तिका लागि गाउँमा ट्याङ्की र धाराका संरचना बने पनि धारामा पानी भने आउँदैन । जिल्लाको पलाँता गाउँपालिका–१, खाडाबस्ती पिउने पानीको सधैँ अभाव भइरहने क्षेत्र हो । यहाँ खानेपानीका ट्याङ्की बने पनि पानी आपूर्ति भने भइरहेको छैन ।
यहाँका नागरिकलाई पिउने पानीको अभाव सधैँ हुने हुँदा सरकार र गैरसरकारी संस्थाको लगानीमा खानेपानीका संरचना निर्माण भए पनि पानी भने आपूर्ति हुन सकेको छैन । पानीको स्रोत नहेरी बनाइएका संरचनाले आवश्यकता पूर्ति नहुने भएको हो । पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बमले पानीको अभाव हुनु एउटा त स्रोत नभएर हो भने अर्कोतर्फ संरक्षण गर्ने बानी नभएकाले पनि सधैँ अभाव भइरहेको बताउनुभयो ।
उहाँले नागरिकमा सुविधा खोज्ने तर आफ्नो संरचनाको सुरक्षामा ध्यान नदिने बानीले समस्या भएको बताउनुभयो । पलाँतावासीको पानीको समस्या समाधानका लागि पूर्वमन्त्री खड्कबहादुर विश्वकर्माले निकै प्रयास गर्नुभएको थियो तर उहाँको प्रयास पनि असफल भएको बमको भनाइ छ । केही समय पानी आए पनि लाइन भत्किने र मर्मतको व्यवस्थापन नहुँदा अभाव कायमै रहने गरेको छ ।
पलाँता–२ का गोरेबहादुर बमले राज्यले नै पलाँता सुक्खा क्षेत्र भनेर घोषणा गरेको भए पनि यहाँको विकासका लागि खासै चासो नदिएको गुनासो गर्नुभयो । “सुक्खा क्षेत्र भनिएको छ, बजेट खासै आउँदैन र मन्त्रालयले दिने योजनामा पनि पलाँता पर्दैन भने कसरी यहाँको विकास हुन्छ,” बमले भन्नुभयो ।
पछिल्लो समयमा कालीकोटमा पानीका स्रोत कम हुँदै जान थालेका छन् । गाउँमा हुने डोजरे विकासले पनि पानीका मुहान धसिन थालेपछि पलाँता मात्र होइन, राम्रो पानीको व्यवस्थापन भएका स्थानीय तहमा पनि पिउने पानीको समस्या छ । सदरमुकाम मान्ममा समेत पिउने पानीको अभाव भइरहेको स्थानीयको भनाइ छ ।
बजार क्षेत्र विस्तार हुँदै जाँदा पानीको अभाव बढ्दै गएको हो । खाँडाचक्र नगपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले पानी आपूर्तिलाई सहज बनाउन गरिएका प्रयास असफल हुँदै आएको बताउनुभयो । उहाँले जलस्रोतमा धनी भएको देशमा पनि नागरिकले पानीको अभाव खेप्नुपर्दा आफैँलाई अप्ठ्यारो लाग्ने गरेको खबर गोरखापत्रले प्रकाशन गरेको छ।
खानेपानी उपभोक्ता समितिले कर्मचारी परिचालन गर्न नसकेका कारण दिगो व्यवस्थापन हुन नसकेको स्थानीयको भनाइ छ ।