प्लास्टिक झोलाको कच्चा पदार्थ आयातमा कडाइ गरिँदै

काठमाडौ : सरकारले प्लास्टिकका झोलाको कच्चा पदार्थ आयातमा कडाइ गर्ने तयारी गरेको छ । वातावरणीय प्रदूषण न्यूनीकरणका लागि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाए सँगै कच्चा पदार्थ आयातमा पनि कडाइ गरिन लागेको वातावरण विभागमा महानिर्देशक मुकुन्द निरौलाले बताउनुभयो । ‘लामो समयसम्म नसड्ने प्लास्टिकका कारण वातावरणीय प्रदूषण बढ्दो छ । प्लाष्टिकका कारण हुने वातावरणीय प्रदूषण न्यूनीकरणका लागि प्लास्टिकको झोला प्रतिबन्धका साथै कच्चा पदार्थ आयातमा पनि प्रतिबन्ध लगाउन लागिएको हो’ महानिर्देशक निरौलाले भन्नुभयो ।

देश बाहिर उत्पादन भएका ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको आयातमा सरकारले रोक लगाइसकेको छ । विभागका अनुसार विभिन्न स्थानबाट आयात हुने प्लास्टिकका झोलाहरुको कच्चा पदार्थ आयातमा पनि कडाइ गर्ने तयारी भइरहेको छ । उद्योगहरुलाई ४० माइक्रोन भन्दा बढीको प्लास्टिक झोलाको उत्पादनमा प्रोत्साहित गर्न नयाँ मेसिन खरिदमा अनुदान दिने र नयाँ प्रविधिको मेसिनको लागि प्राविधिक सहयोग उपलब्ध गराउने विभागको भनाइ छ ।

वातावरण तथा मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्नको लागि नेपाल सरकारले आ.व. २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नं. १६० मा ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्री वितरणमा साउन १ गते देखि पूर्णरुपमा प्रतिबन्ध लगाउने उल्लेख गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार