काठमाडौं १५ फागुन । नेपाल खानेपानी संस्थान आजदेखि २८ औं बर्षमा प्रवेश गरेको छ । खानेपानी संस्थान, गुणस्तरयुक्त स्वच्छ खानेपानी सेवा प्रदान गर्ने र नगर तथा नगरोन्मुख क्षेत्रको ढल व्यवस्थापन गर्ने उद्देश्यले नेपाल खानेपानी संस्थान ऐन २०४६ बमोजिम स्थापना भएको हो ।
स्थापनाको २८ बर्षमा संस्थानले देशको २३ वटा शहरी क्षेत्रमा २२ शाखा कार्यालय र १ उपशाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । संस्थानले झापाको भद्रपुर, मोरङको विराटनगर, सुनसरीको धरान, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर, महोत्तरीको गौशाला तथा जलेश्वर, रौतहटको गौर तथा सर्लाहीको मंलगवामा खानेपानी सेवा प्रदान गरिरहेको छ ।
यस्तै बाराको कलैया, पर्साको बीरगन्ज, कास्कीको पोखरा तथा हेम्जा, रुपन्देहीको बुटवल तथा भैरहवा, कपिलवस्तुको तौलिहवा, कृष्णनगर र बहादुरगन्ज, बाँकेको नेपालगन्ज, कन्चनपुरको महेन्द्रनगर, धनगढीको कैलाली र काभ्रेको बनेपा तथा पनौतीमा पनि खानेपानी सेवा दिइरहेको छ ।
ऐनले नगर तथा नगर उन्मुख क्षेत्रमा खानेपानी तथा समुचित ढल व्यवस्थापन गर्ने जिम्मेवारी दिएपनि खानेपानी सेवा मात्र प्रदान गरिरहेको छ । संस्थानले अहिले काठमाडौ उपत्यका बाहिरका प्रमुख २३ शहरी क्षेत्रमा खानेपानी सेवा प्रदान गर्दै आएको र शहरी क्षेत्रमा बढ्दो जनसंख्या, अव्यवस्थित बसोबासको बाबजुद आफ्ना सीमित स्रोत र साधनबाट बढ्दो माग पूर्ति गर्दै जानुपर्दा संस्थालाई चुनौती थपिएको संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले बताउनुभयो ।
खानेपानी संस्थानका सेवा क्षेत्रहरु खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुदै गैरहेकाले संस्थानमा कार्यरत कर्मचारी निरुत्साहित भएको संस्थानका अध्यक्ष परमेश्वर पोख्रेलले बताउनुभयो । नेपाल खानेपानी संस्थानका शाखाहरुलाई बोर्डमा हस्तान्तरण गर्दै जाने सरकारको नीतिका कारणले संस्थानको कार्यक्षेत्र बढ्दै जानुको सट्टा खुम्चिदै गएको उहाँले बताउनुभयो ।
नेपाल खानेपानी संस्थानबाट सेवा प्रवाह भएका विभिन्न नगरपालिकामा बसोबास गर्ने ठूलो संख्याका उपभोक्ताहरु अझै पनि खानेपानी बाट बन्चित रहेको भन्दै उहाँले यसका लागि नगरबासीलाइ एक घर एक धारा उपलब्ध गराउने गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो ।