म्याग्दी २२ फागुन । म्याग्दीको बेनी नगरपालिकाले बेनी बजारको फोहोर संकलन गरेर कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । म्याग्दीको बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका झण्डै ८ सय घर, सडक, सार्वजनिक स्थल तथा सरकारी कार्यालयबाट संकलन गरेको फोहोर जत्ति कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ ।
फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावमा नदीमा फोहोरमैला विसर्जन गर्दै आएको नगरपालिकाको जनाएको छ । फोहोर उठाए बापत नगरपालिकाले कच्ची र पक्की घर तथा घरको तला अनुसार ५० देखि २ सय रुपैयाँसम्म महसुल संकलन गर्ने गरेको छ ।
मुस्ताङको दामोदरकुण्ड हुदै बग्ने कालीगण्डकीलाई हिन्दु धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा श्रद्धापूर्वक पूजा र स्नान गर्दछन् । कालीगण्डकीको किनारमै पर्ने मुस्ताङको जोमसोम क्षेत्रमा सामान्य फोहोर भएपनि म्याग्दीको गलेश्वरदेखि बाग्लुङ, पर्वत, तनहुँ, पाल्पा नवलपरासी र स्याङजा जिल्लाको नदी किनारमा रहेका मानव बस्तीका कारण प्रदुषण बढ्दै गएको छ ।
नगरपालिकाद्धारा नै फोहोरमैला व्यवस्थापन ऐनको उल्लंघन
ऐनको कार्यान्वयन गराउनुपर्ने निकायले नै फोहोरमैला व्यवस्थापन ऐनको उल्लंघन गरिरहेको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय निकाय, गाविस तथा नगरपालिकालाई दिएको छ ।
ऐनको दफा १२ उपदफा १ मा स्थानीय निकायले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रुपमा विसर्जन गर्नको लागि वातावरण सम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साईट ) तोक्न सक्ने उल्लेख छ ।
ऐनको दफा १२ उपदफा २ मा फोहरमैला व्यवस्थापन स्थल तोक्नको लागि स्थानीय निकायको जग्गा नभएमा वा जग्गा भए तापनि फोहोरमैला व्यवस्थापन स्थल तोक्न उपयुक्त नभएमा उपयुक्त जग्गा भाडामा लिई वा खरिद गरी व्यवस्थापन तोक्न सक्ने भनिएको छ ।
ऐनको दफा ३८ ले, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक, सार्वजनिक स्थान वा नदीनालामा फोहोर फ्याँक्नेलाई कसुर गरेको मानिने र कसुरको प्रकृति हेरी ५ देखि १५ हजार रुपैयाँसम्म जरीबाना गर्ने अधिकार पनि स्थानीय निकायलाई नै दिएको छ । तर म्याग्दीको बेनी नगरपालिकाले धार्मिक आस्था बोकेको पवित्र नदीमा फोहोर फ्याँकेर आफैं ऐनको उल्लंघन गरिरहेको छ ।
वातावरण संरक्षण ऐन २०५३ को दफा ७ ले समेत वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी वा जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले प्रदूषण गरेमा सम्बन्धित निकायले आवश्यक शर्तहरु तोक्न वा त्यस्तो कार्य गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख छ ।
ऐनको दफा ७ को उप दफा १ मा प्रदूषणको रोकथाम तथा नियन्त्रण सम्बन्धी गरेको व्यवस्थाले कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जन जीवन र जन स्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला निष्काशन गर्न, गराउन नहुने उल्लेख छ ।