पर्वत २३ फागुन । अरु बार भुलेपनि महिनाको अन्तिम शनिबार कसैले भुल्दैनन् । हरेक महिनाको अन्तिम शनिबार खानेपानी भर्ने पालोका लागि चिट्ठा निकालिने भएकाले पर्वतको शालिग्राम ५ हनुमानडाँडाको बस्तीमा अन्तिम शनिबार विशेष महत्वको दिन हुने गर्दछ । महिनाको अन्तिम शनिबार टिप्ने चिट्ठाबाट अर्को महिनाभरिका लागि पानी भर्ने पालो तोकिने भएकाले सो दिन महिला, बूढाबूढी, केटाकेटी लगायतका घरका एक जनाका दरले उपस्थित हुन्छन् ।
गाउँकै वहाकी माविका शिक्षक अनिल भट्टराईले गाउँलेका लागि चिट्ठा टिप्ने टिपाउने व्यवस्था मिलाउनुहुन्छ । एकपटक चिट्ठा थुतेपछि १ महिनासम्म त्यही आधारमै पानी भर्न पाउँछन् ।
गाउँको बीचमा रहेको एउटा धारामा दैनिक २ घण्टा मात्र पानी आउँछ । पानी भर्ने आलापालो मिलाउन नसक्दा झैझगडा समेत भएपछि गाउँले मिलेर चिट्ठा प्रणाली राखेका हुन् । विगत ५ वर्षदेखि हनुमान डाँडामा चिट्ठा प्रणालीबाटै पानी भर्ने पालो तोक्दै आएको शिक्षक अनिल भट्टराईले बताउनुभयो ।
एक गाग्री पानीका लागि ठूलो संघर्ष गर्दै आएका हनुमानडाँडाका बासिन्दाले चिट्ठा थुत्न नगए पानी पिउन पाउदैनन् । ३३ घरको वस्ती रहेको हनुमानडाँडाबाट बलामखोला वा कालीगण्डकी पुग्न दुई घण्टा हिड्नु पर्छ । बूढाबूढी र केटाकेटी हुने परिवारका लागि खोलामा पानी लिन जानु असम्भव छ । बल हुनेले टाढै पुगेर ल्याएपनि बृद्धबृद्धा वा केटाकेटी मात्र हुने परिवारले पैंचो गरेर खानु परेको वृद्धा बुद्धिसरा भट्टराईले बताउनुभयो ।
चिट्ठा प्रणालीले यस्तो फाइदा
चिट्ठा टिपेर पालो निर्धारण नगर्दा सम्म जो बलियो छ उसले धेरै पानी लैजाने गरेको धेरैको अनुभव छ । हनुमानडाँडाकी पेमादेवी भट्टराई पहिलेको दिन सम्झिदै भन्नुहुन्छ ‘चिट्ठा थुत्न थालेपछि अलि सजिलो भएको छ, कसैसित झगडा गर्नुपरेको छैन पहिले पहिले त बल हुनेले पानी भरेर लैजान्थे, बूढाबूढी र केटाकेटीले पानी भर्नै पाउदैनथे ।’
धारादेखि दायाँ र बायाँ तर्फका घरपरिवारका लागि छुट्टाछुट्टै समय निर्धारण गर्न गाउँलेले ‘क’ र ‘ख’ उल्लेख गरी चिट्ठा बनाउँछ्न । शालिग्राम गाविसको विकट क्षेत्रमा गनिने हनुमानडाँडा सीमा जोडिएको वहाकीठाँटी गाउँको भर पर्नुको अर्को उपाय छैन ।
२०३५ सालमा खानेपानीको धारा जडान भएपछि छिमेकी गाविस वहाकीठाँटीका बासिन्दाले पाइप काटिदिएपछि पानी आउनै छाडेको गाउँलेहरु बताउँछन् । पछि दैनिक २ घण्टा पानी दिने सहमति भएपनि अहिले हनुमानडाँडाका बासिन्दाले त्यही पानीमा चिटठा लगाएर भर्दै आएका छन् ।