यसरी मनाइयो वाग्मती सफाइ महाअभियानको २ सयौं हप्ता

काठमाडौ २८ फागुन । तुल, ब्यानर र प्लेकार्ड बोकेका व्यक्तिहरु काठमाडौको विभिन्न चोक र गल्लीबाट निस्किए । दुईबाट चार, चारबाट आठ, आठ बाट सोह्र गर्दै भेला हुदै गरेको वाग्मती किनारको मानिसको हुलमा मिसिए । शुक्रबार राती देखि नै झम्झम् परिरहेको पानी रोकिएको थिएन, तर पर्वाह थिएन कसैलाई ।

    

काठमाडौको १८ स्थानबाट निस्केको पदयात्रा अगाडि बढ्दै थियो । त्यही बीचमा कतिले वाग्मतीको फोहोर टिप्न पनि भ्याए र २०० औं हप्ताको अवसरमा आयोजित विशेष समारोहमा भेला भए ।

समारोहको आयोजना गरिएको थियो शंखमुलमा । शंखमुलमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले वाग्मती सफाइ अभियान नयाँ सांस्कृतिक अभियान, नयाँ राष्ट्रिय एकताको अभियान र नेपाली समाज र नेपाली जनताका मनमा भएका विभिन्न विसंगतिहरुको सफाइ अभियान हुन गएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वाग्मती लगायतका नदीनाला, टोल, विद्यालय सफाई अभियान जस्तै राजनीतिक माहौल सफाइ अभियान पनि शुरु भएको बताउनुभयो ।

यसले नेपालीहरु स्वयंसेवी रुपमा समर्पित भएर सभ्यताको, संस्कृतिको पहिचानको संरक्षण र संबद्र्धन गर्न तयार छन् भन्ने ठूलो सन्देश प्रवाह गरेको उहाँको भनाई थियो । बाग्मती सफाइ महाअभियानको २०० औं हप्ताको अवसरमा आयोजित मूल समारोह समितिका संयोजक एवं मुख्य सचिव डा. सोमलाल सुवेदीले १० बुँदे सरसफाइ घोषणा पत्र जारी गर्नुभयो ।

यस्तो छ, सरसफाइ घोषणापत्र

१.देशभरिका सबै कार्यालय, संघसंस्था र निकायहरुले प्रत्येक महिनाको पहिले शुक्रबार २ देखि ३ बजेसम्म आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने ।


२.देशभरिका विद्यालयले दोस्रो र चौथो शुक्रबार २ देखि ३ बजेसम्म वा विद्यलय बन्द हुनुभन्दा एक घण्टा अगाडि विद्यालय वरपर आफ्नो पायक पर्ने नदीनाला, खोला, बगैंचा, धार्मिक स्थल, सडक, पार्क खानेपाानीको मुहान, टोल वा सर्वाजनिक स्थलको सरसफाई गर्ने र यस्ता कार्यक्रमहरु सन्चालन गर्दा विभिन्न अतिरिक्त क्रियाकलापहरु चित्रकला, बत्तृmत्वकला कवि गोष्ठी, सेमिनार, छलफल, हाजिरी जवाफ, पदयात्रा, वृक्षारोपणको माध्यमबाट वातावरणीय संरक्षण तथा सरसफाइ अभियान सन्चालन गर्ने र सो को नियमित अभिलेख जिल्ला शिक्षा कार्यालय मार्फत जिल्ला मन्त्रालयले राखी उत्कृष्ट कार्य गर्ने विद्यालयलाई पुरस्कृत गर्ने ।


३. देशभरिका सबै नगरपालिका क्षेत्र भित्रका नीजि भवन तथा कार्यालय संघसंस्था र निकायले आ –आफ्नो कम्पाउण्ड परिसरमा गमला फूल बोटविरुवा सहित बगैंचा निर्माण तथा नियमित गोडमेल रेखदेख गरी हरभरा बनाई राख्ने ।

४ देशभरिका सबै कार्यालय, संघसंस्था र निकायले आ–आफ्नो कार्यालय भवन, कोठा प्यासेज, बरन्डा, छत, पर्खाल लगायत आफ्नो परिसरमा फोहोरमैला, धुलो, टुटेफुटेका विग्रेका सामान, कागजका टुक्रा, चुरोट, खैनी, जर्दा जस्ता सुर्तीजन्य पदार्थको प्रयोग र भित्तलेखन, पोष्टर पम्प्लेट टाँस्ने लगायतका कार्यलाई निषेध गरी स्वच्छ, सफा र हराभरा क्षेत्र घोषणा गरी नियमित सरसफाइ गर्ने ।

५.देशभरिका सबै कार्यालय, संघसंस्था र निकायले मापदण्ड विपरीतका प्लाष्टिक झोला वा वातावरणमा प्रतिकुल असर पर्ने सामग्रीको प्रयोगलाई नियन्त्रण गरी स्थानीय स्रोतमा आधारित जैविक तथा वातावरणमैत्री विकल्पलाई प्रबद्र्धन गर्ने गरी प्लाष्टिकजन्य पदार्थ जलाउने कार्यलाई पूर्णतः निषेध गर्ने ।

६. देशभरका सबै नगरपालिका क्षेत्रभित्रका घरपरिवार, कार्यालय, निकाय, व्यवसायिक संघसंगठन तथा सामाजिक संगठनले आ–आफ्नो घरपरिसरबाट निस्कने फोहोरलाई सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै राख्ने गरी डस्ट विनको व्यवस्था गर्ने र फोहोरमैला व्यवस्थापनको जिम्मेवारी वहन गर्ने, नगरपालिका वा सरसफाइमा संलग्न संस्थाले सड्ने र नसड्ने फोहोरको छुट्टाछुट्टै संकलन गर्ने ।

७. देशभरिका सबै कार्यालय, संघसंस्था र निकायले आ–आफ्नो कार्यालयमा हुने सेवाग्राहीको चाप वा उपस्थितिको आधारमा फ्लसिङ सहितको शौचालय र हातधुने साबुन पानीको व्यवस्था एवं शौचालयको नियमित मर्मत सम्भार गर्ने, संगठित एवं नीजि क्षेत्रले पनि यसै अनुरुप गर्न आव्हान गर्ने ।

८.सबै सरकारी निकाय तथा संगठित संघसंस्थाले आ–आफ्नो स्थापना दिवस, बार्षिकोत्सव र यस्तै प्रकृतिको कार्यक्रमहरु आयोजना गर्दा आफ्नो पायक पर्ने नदी, खोला, बगैंचा, पोखरी, पार्क, तालतलैया, धार्मिक स्थल, खानेपानीको मुहान, खुल्लाक्षेत्र, सडक टोल वा अन्य सार्वजनिक स्थलको सरसफाइ, बृक्षारोपण, हरियाली प्रबद्र्धन र सौन्दर्य अभिबृद्धि हुने कार्यक्रम राखी वातावरण संरक्षण तथा सरसफाइ अभियान सन्चालन गर्ने ।

९. सबै नगरपालिकाहरुले आ– आफ्नो क्षेत्रभित्रको सार्वजनिक जमिन र खोला क्षेत्रको संरक्षण गरी एक टोल एक उद्यानको अवधारणा अनुसार स्थानीय समुदाय, बासिन्दा, टोल विकास संस्था एवं सामुदायिक संगठन र व्यवसायिक संघसंस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तर्गतको सहभागिता, समन्वय तथा गाउँ साझेदारी र व्यवस्थापनमा पार्क उद्यान वा बगैंचा निर्माण र सञ्चालनको व्यवस्था गर्ने । यसैगरी एक गाउँ, एक पोखरी संरक्षण तथा निर्माणलाई अभियानकै रुपमा निरन्तरता दिने ।

१०. देशभरिका सबै स्थानीय तहहरु गाउँपालिका र नगरपालिकाले प्रत्येक महिनाको अन्तिम शनिबार विहान स्थानीय बासिन्दा, समुदाय, टोल विकास संस्था, समुदायिक संगठन र व्यवसायिक संघसंस्थाहरु आदिको नेतृत्वमा आ–आफ्नो क्षेत्रको पायक पर्ने खानेपानीको मुहान, सार्वजनिक कुवा वा धारा, ताल, पोखरी, नदीखोला, धार्मिक स्थल, पर्यटकीय स्थल, सम्पदा क्षेत्र, पार्क, उद्यान, खुल्ला क्षेत्र आदिको सरसफाइ गर्ने व्यवस्था मिलाउने ।

मुख्य सचिव सुवेदीले सरसफाइ घोषणा पत्र आगामी २०७४ बैशाख देखि कार्यान्वयन गरिने बताउनुभयो ।

सरसफाइ महाअभियानमा आनी छोइङ डोल्माले नदी नाला मात्रै नभई अन्य ठाउँहरु र आफ्नो मन मस्तिष्कको सफाइ गर्न ध्यान दिन सकौं भन्दै ‘जय होस् तिम्रो मंगल होस्’ भन्ने गीत प्रस्तुत गर्नुभयो ।

विशिष्ट व्यक्तिहरुको उपस्थिति

वाग्मती सफाइ महाअभियानको २०० औं हप्ताको अवसरमा वाग्मती किनारको १८ ठाउँमा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तिलगंगा क्षेत्रमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व सभामुख एवं नेकपा एमाले नेता सुवास चन्द्र नेम्बाङ सिनामंगल क्षेत्रमा हुनुहुन्थ्यो ।

डाक्टर बाबुराम भट्टराइ सहित अन्य राजनीतिकर्मीहरुले अभियानमा सहभागिता जनाएको वाग्मती सरसफाइ अभियन्ता डा. राजु अधिकारीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार