इलाम १ जेठ । पानीको भरपर्दो सुविधा नभएको इलामका गाउँबस्तीहरुमा प्लाष्टिक पोखरी अत्यन्त उपयोगी बन्न थालेको छ । एक पटकको लगानीले बर्षौसम्म सरसफाइ र सिंचाइ गर्न पाएपछि इलामको गाउँ गाउँमा प्लाष्टिक पोखरी प्रतिको आकर्षण बढेको छ । पोखरीको निर्माण भएपछि सरसफाइमा र व्यवसायिक तरकारी खेती पनि बृद्धि भएको कृषकहरु बताउँछन् ।
‘पानी विना सरसफाइ पनि अधुरो नै हुने रहेछ, झनै पानी बिना खेतीपाती फस्टाउने कुरै भएन, प्लाष्टिक पोखरी बनाएपछि हामीले शौचालय सफा गर्ने, कपडा धुने र सिंचाइ गर्ने यसैबाट पु¥याइरहेका छौं’ सूर्योदय नगरपालिकाका मदन राईले भन्नुभयो ।
उहाँको अनुभवमा गाउँमा कतै आगलागी भयो भने पनि प्लाष्टिक पोखरीको पानीले निभाउन सजिलो भएको छ । ‘यो बहुउपयोगी छ, प्लाष्टिक पोखरी बनाएपछि बेमौसमी तरकारी खेती शुरु भयो, सरसफाइ भयो’ यो भन्दा बढी फाइदा के खोज्नु ?’ उहाँले भन्नुभयो ।
प्लाष्टिक पोखरी निर्माणमा कृषि विकास कार्यालयको सहयोग
इलाममा लोकप्रिय हुदै गएको प्लाष्टिक पोखरी निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय, इलामले सहयोग गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रवि किरण अधिकारीका अनुसार कार्यालयले प्लाष्टिक खरिदमा अनुदान उपलब्ध गराउदै आएको छ ।
कार्यालयले इलाममा यस आर्थिक बर्षमा ४० वटा प्लाष्टिक पोखरी निर्माण गरिसकेको छ भने ९२ वटा निर्माण भइरहेको छ । एउटा प्लाष्टिक पोखरी निर्माण गर्न ४० देखि ५० हजार रुपैंयाँ खर्च हुने कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो ।
ती मध्ये कृषि बिकास कार्यालयले कृषक समूह तथा सहकारीलाई ३० हजार रुपैंयाँ अनुदान उपलब्ध गराउँछ भने बाँकी रकम सम्बन्धित सहकारी तथा समूहले ब्यहोर्नुपर्छ । कार्यालयमा यो बर्ष ३ सय १२ वटा कृषि समूह तथा सहकारीले प्लाष्टिक पोखरीको माग गरेका छन् ।
झण्डै ४ सय पोखरी निर्माण
प्लाष्टिक पोखरी वहुउपयोगी हुना थालेपछि इलाममा अहिलेसम्म ४ सय बढी प्लाष्टिक पोखरी निर्माण भइसकेका छन् । प्लाष्टिक पोखरीको पानी नुहाइधुवाई, शौचालय सरसफाई, कपडा धुन र सिंचाईका लागि मात्र नभई कतिले त माछा पालन पनि गर्न थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले बजेट अभावमा यसबर्ष एक सय ३२ वटा पोखरीका लागि मात्र अनुदान दिएको छ । बाँकीलाई आगामी आर्थिक बर्षको बजेटबाट दिईने अधिकृत अधिकारीकोले बताउनुभयो । माटोको पोखरीमा बाक्लो गुणस्तरीय प्लाष्टिक राखेर पानी अड्याउने प्रविधिलाई प्लाष्टिक पोखरी भनिन्छ ।