पाइन्ट फाटे कट्टु भन्थे, झोला रहेछ (फोटो फिचर)

दिक्पाल गिरी, काठमाडौ ३० जेठ । धेरै मानिसले सोचेका हुन्छन् पाइन्ट फाटेपछि बन्ने भनेको कट्टु हो । किनकि पाइन्टको तल्लो भाग च्यातेपछि काटेर टालटुल गरेर भएपनि कट्टु सम्म बनाएर लगाउन सकिन्छ । तर काठमाडौका मल तथा सपिङ कम्प्लेक्सतिर बेच्न राखिएका झोलाहरु प्रायः फाटेका जिन्स् पाइन्टका हुन्छन् । पाइन्ट फाटेपछि राम्ररी धोएर नफाटेको भागलाई सिलाएर झोला बनाइन्छ । यस्ता कपडाका झोलाहरु प्रायः हाम्री बहिनी नामक संस्थाले उत्पादन गरिएको हुन्छ । यस्ता सामानको मूल्य ३२० देखि ७०० रुपैयाँसम्म कायम गरिएको छ ।

हाम्री बहिनीले कपडाको पुनः प्रयोग गर्न यस्तो अभियान चलाएको हो । प्रयोग गरेपछि फ्याँक्ने कपडा तथा कागजबाट यस्ता झोला तथा अन्य वस्तु तयार पारिन्छ । प्लाष्टिक झोला हटाउन सघाउ पु-याउने उद्देश्यले कपडाको झोलाको प्रयोगलाई बढाउन यस्ता झोलाहरु उत्पादन गर्न थालेको हाम्री बहिनीले जनाएको छ ।

यसबाट फोहोरको मात्रा घटेर डम्पिङ साइट चाँडै भरिन पाउँदैन । फोहोरलाई पुनः प्रयोग वा प्रशोधन गरी प्रयोग गरेपछि वातावरण प्रदुषण हुन बाट पनि जोगाउँछ ।

हाम्री बहिनीले चुँडिएको पोतेबाट खेलौना, पढिसकेको पत्रिकाबाट कागजको व्याग, प्लाष्टिकबाट कलमदानी जस्ता दैनिक प्रयोगमा आइरहने सा –साना वस्तु तयार पारेको छ । हामीले उपभोग गरेर फ्याँकिने वस्तुबाटै पुनः उत्पादन गरिने हुँदा यो फोहोर तह लगाउने उपयुक्त विधिको रुपमा सावित भएको छ ।

यसले वातावरण प्रदुषण हुनबाट बचाउने र  सीमित मानिसका लागि रोजगारीको अवसर पनि सिर्जना गरेको छ । त्यसैले कपडा फाट्यो भन्दैमा फ्याँक्नु अघि यसको पुनः प्रयोग वा प्रशोधन गरी पुनः उपयोग गर्न सकिन्छ कि भन्ने विषयमा घोत्लिएर सोचौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार